• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

किन भएन राजनीतिक स्थिरता ?

आन्दोलन गर्ने मात्र होइन आन्दोलनलाई संस्थागत पनि गर्न सक्नुपर्दछ । क्रान्तिको मिठो र सुन्दर सपनाको रापताप सेलाउन नपाउँदै पुराना संरचनालाई तुरुन्तै बदल्न सक्नुपर्दछ । अनगिन्ती प्रतिक्रान्तिकारीले जंगी पर्खाल खडा गरी छोप्नुअघि नै उपलब्धिहरू संस्थागत गरिएन भने पुरानो संरचना एकल वा एकपटकको प्रहारबाट भत्काउन सकिँदैन । त्यसलाई भत्काउन बुलडोजरको जति बल आवश्यक पर्दछ । 

पुरानो ध्वंससँगै नयाँ निर्माण भइरहेको हुन्छ । दास युगलाई सामन्ती युगले बदलिदियो, सामन्ती युगलाई पुँजीवादले बदलिदियो । यो क्रम त समयको चक्रझैं चलिरहने प्रक्रिया हो । बूढो रूख सदियौँसम्म बाँच्ला, तर एक दिन मर्ने नै छ । तर, यो मर्याे भने त्यसमा नयाँ बिरुवा रोप्न सक्ने वा नसक्ने र कस्तो बिरुवा रोप्ने भन्ने मूल प्रश्न हो । तर, त्यसमा भएको माटोलाई बदल्न निकै समय लाग्न सक्छ, जुन हामी बूढो रूख मर्नुभन्दा अगाडि जति सजिलो सोचिरहेका हुन्छौं । 

नेपालमा २००७ सालदेखि हालसम्मका भएका हरेक आन्दोलन र क्रान्तिले ल्याएका परिवर्तन किन सधैं टिकिरहन सकेन ? २००७ सालको परिवर्तनलाई २०१७ सालको परिवर्तनले निस्तेज पार्यो । २०४७ सालको परिवर्तनमा देखा परेको असन्तुष्टि २०५२ सालमा विद्रोहमा संगठित भयो । २०६१ माघको शाही कू विरुद्ध र २०५२ पछि सुरु भएको जनताको विद्रोहको संगठित रूप २०६३ सालमा देखा पर्यो । यसतर्फ हामीले किन सोच्न सकेनौं ? 

हामीले सधैं राजनीतिक निकास र गोरेटोलाई मात्र ठूलो राजमार्ग मान्यौँ नकि त्यसलाई टिकाउने सांस्कृतिक, सामाजिक र आर्थिक विषयवस्तुलाई सधैं पिपिलिकाको बायो ठान्यौं । सांस्कृतिक, आर्थिक, सामाजिक संरचना पूरानै रहने प्रणाली फेरिने भयो भने परिवर्तन दिगो हुन सक्दैन । जसले गर्दा नयाँ परिवर्तनलाई पूराना सांस्कृतिक, सामाजिक र आर्थिक प्रणालीले नयाँ प्रणालीलाई क्रमशः मूल्यहीन र खोक्रो बनाइदिन्छ र अन्तत पतनको संघारमा पुग्छ ।

अझै पनि समयसँगै चल्न सकेनौं र सांस्कृतिक आदर्श सिर्जना गर्न सकेनौँ भने अहिलेकै अवस्था उल्ट्याउन प्रतिगामी शक्तिहरूले कुनै आइतबार पर्खिरहनु पर्दैन, जसको पछिल्लो उदाहरण विभिन्न तत्त्वहरूको सलबलावट र प्रचण्डलाई देखाइएको ‘हेगको भय’ हो । 

भारतीय दार्शनिक चिन्तन देनिप्रसाद चट्टोपाध्यायका शब्दमा जीवन्त र मरणशील केस्राहरूलाई पर्गेल्न सकियो भने मात्र नयाँ संस्कृति निर्माण र सांस्कृतिक–सामाजिक रूपान्तरणको ऐतिहासिक अभिभारा पूरा हुन्छ । कुनै पनि समाजलाई कुन दिशामा लैजाने समाजको बनोट आर्थिक सामाजिक तथा सांस्कृतिक परिवेश कुन रूपमा बढाउने भन्ने मूल अभिभारा त्यस समाजमा प्रतिनिधित्व गर्ने विचार र संस्कारमा रहेको हुन्छ । त्यसैले माओ भन्ने गर्थे, ‘विचारधारात्मक एवं राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबैथोक निर्धारण गर्दछ, तर विचार र संस्कृतिको जन्म शून्यबाट भने हुँदैन, आर्थिक, सामाजिक र सास्कृतिक परिवेशहरूमा पुरानिँदै र पहेंलिँदै गरेका पातझैं जान्छन्, सो ध्यानमा नयाँ पालुवा पलाउँदै जान्छन् ।’

हामी राणाशासन, पञ्चायती व्यवस्था र राजतन्त्र लाई मास्दै गणतान्त्रिक व्यवस्थामा धेरै अगाडी आइसक्यौँ । एकात्मक व्यवस्थालाई संघीय व्यवस्थामा रूपान्तरण गरेका छौं । प्रशासनिक रूपले मात्र संघीयता संस्थागत हुँदैन, त्यसका लागि आवश्यक ऐन–नियम तथा कार्यान्वयनको लामो प्रक्रिया छँदैछ । तर, हाम्रो आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था पुरानै छ, संघीयता सफल बनाउनका लागि यसको परिवर्तन तत्काल आवश्यक छ ।

राजा फाले पनि विभिन्न पार्टीमा राजा जन्मन थाले भनी आमनागरिकको गुनासो आउन थालेको छ । यसका लागि समयमा नै राजनीतिक पार्टीले विशेष ध्यान दिनु जरुरी छ । हामी राजनीतिक परिवर्तनलाई सर्वश्रेष्ठ मान्यौं । सामाजिक राजनीतिक पक्षहरूको सकारात्मक पाटो अँगाल्न र नकारात्मक पक्षहरूलाई विसर्जन गर्न नै सकेका छैनाैं ।

समाजमा हत्या–हिंसा डकैतीले विकराल रूप लिइसकेको छ । भ्रष्टाचारको सूचीमा नयाँ रेकर्ड बनिरहेको छ । आज पनि लाखौँ नाबालक विद्यालयभन्दा बाहिर छन् । हजारौं सुकुमबासी छन् । लाखाैं भोकै छन् । हजाराैं रोगी छन् । उपचार नपाएर मर्न बाध्य छन् । अरू पनि जातीय क्षत्रीय विभेदमा विभिन्न रूपहरूले जरा गाडिरहेको छ ।

बहुबादी संस्कृतिको नजरमा हेर्दा आजको हाम्रो समाज महिलाले हेर्दा पितृसत्तात्मक दलितले ब्राह्मणवादी कर्णालीको आँखामा काठमाडाैं केन्द्रित जनजातिको आँखामा कुलीनता नजरमा हेर्दा नेपाली भाषा देखिएको छ । जुन मूलतः ठीक पनि हो । तर, एक मानेमा यो पनि एकतर्फको समाजले मात्र उठाएको थियो । जो हिजो गोरो वर्ग, लामो नाक, कालो वर्ग, घुम्रिएको कपाल मन परेन तिनीहरूको नजरमा चेलचो कालो वर्ग, भाषाका रूपमा आइस्यो गइस्यो प्रयोग गर्दथे, त्यसैले तिनीहरूलाई अरू भाषा मन परेन । 

हिजो गणतन्त्र नआउँदासम्म ल्होसार, योमरी, इद उलको चर्चा कहीँ कतै देखिएन । हिजोको भौगोलिक जातीय, भाषिक सो अवस्थाालाई समेत उनको लागि हामीले आजसम्मै नेपाली संस्कृति निर्माण गर्नुपर्दछ जसले गर्दा एकपक्षीय सांस्कृतिक पक्षको सम्बोधन हुनसक्छ । तर, यति मात्रमा हालको अवस्थालाई दिगो बनाई अगाडि बढ्न भने यसैसँग सामाजिक तथा आर्थिक अवस्थालाई समेत नियाल्नुपर्दछ ।

नेपालमा भएका हरेक आन्दोलन राजनीतिक प्राप्तिका लागी मात्र थिएनन्, यससँग लोकतन्त्र, शान्ति सामाजिक न्याय, सामाजिक सुरक्षा समावेशिता पनि थियो । हिजो भएको आन्दोलनलाई हामीले सधैंभरि राजनीतिक कोणबाट मात्र हेरियो, जसले गर्दा ती आन्दोलनमा उपलब्धि दीर्घकालीन नभएको हिजोको तितो अनुभवले पनि देखाउँछ । राज्यको बनोटलाई राजनीतिक परिवर्तनले मात्र नभई त्यसका लागि युवालाई परिचालित गर्नेका लागि रोजगारी, स्वास्थ्य, शिक्षा, सुरक्षा, गाँस, बास, कपासको पनि व्यवस्था हुनु जरुरी छ । 

राजनीतिक परिवर्तन मात्र भयो । युवाहरू बेरोजगारीको समस्याबाट आक्रान्त छन् । पेटभरि खाने व्यवस्था छैन, बस्नका लागि बास छैन बिरामी भएका छन् । उपचारको पहुँच छैन, जातीय, क्षेत्रीय भौगोलिक विभेद र समस्याको समाधान हुँदैन जबसम्म समाज, अशान्ति, कुशासन भ्रष्टाचार, चोरी–डकैतीजस्ता समस्याको समाधान हँुदैन तबसम्म समाजमा शान्ति, स्थिरता, सुशासन सबल हुदैन । 

आजसम्मका हरेक आन्दोलनले राजनीतिक कोणले मात्र हेरे । अझै पनि कर्णाली रोइरहेको छ । मधेसको नाममा धेरैले फाइदा लिइरहेका छन् । जातीय भाषिक समस्या उस्तै छ । वर्गीय खाडल झन्झन् बढिरहेको छ । महिला हिंसाका घट्ना बढिरहेका छन् । दिनानुदिन कैयाैं निर्मलाले न्याय पाएका छैनन् । बेरोजगारीको समस्या उस्तै छ । केवल अहिलेको व्यवस्थाबाट केही सीमित वर्ग र छोटे राजाहरूले फाइदा लिइरहेका छन् । जनताले आवास गरिरहेका छन् । जबसम्म हामीले आर्थिक, सामाजिक तथा सांस्कृतिक विषयलाई सम्बोधन गर्न सक्दैनौं, तबसम्म अहिलेको अवस्थाबाट जनताले आशम गर्न सक्ने ठाउँ मरिसकेको छ । 

दुई तिहास सरकारले नेपालको आर्थिक, सामााजिक सांस्कृतिक रूपान्तरणको निम्ति समयमा नै ठोस र प्रभावकारी कदन चाल्नु जरुरी छ । सरकार सञ्चालन भएको करिब दुई वर्ष पुग्नै लाग्दा जनतालाई आवास हुने प्रभावकारी कदम देखिएका छैनन् । सरकारले आफ्नो हालसम्मको कार्यकाललाई आधार कार्यकालका रूपमा माने जनताका सम्पूर्ण पक्षलाई सम्बोधन गर्न अझ पनि ढिला भयो भने पक्कै पनि इतिहासमा दुई तिहाइको सरकार हुनेछ । यदि सरकारले समयमै यस कुराको सोचविचार गरेर अगाडि बढेको खण्डमा यो सरकारले आफ्नो नाम सुनौलो अक्षरमा लेख्न सक्ने अझै पनि समय छ, यसतर्फ गम्भीर रूपमा लागि अगाडि बढ्ने कि ?

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर