• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:15 am

उपलब्धि

सुशील र सङ्ग्राम दुई छिमेकी । दुवै डेरामा बस्ने, नयाँ ठिमी, भक्तपुको नयाँ बस्तीमा । भित्री एक बाटोको वल्लोपल्लोपट्टि अवस्थित दुई घरमा । उनीहरूका फ्ल्याटका ढोकाहरू आमने–सामने थिए । वल्लो फ्ल्याटबाट पल्लो फ्ल्याटको गतिविधि बुझ्न खासै गाह्रो पर्दैनथ्यो । 

सुशील सपरिवार थियो— बूढी आमा, श्रीमती र एक छोरोसित । च्यामासिंस्थित बागेश्वरी उच्च माविमा गणित पढाउँथ्यो । एउटा पुरानो स्कुटी पनि थियो । त्यही लिएर जान्थ्यो, आउँथ्यो । छोरालाई आफूसितै लान्थ्यो, र सँगै लिएर आउँथ्यो । श्रीमती, आफू डेरा बसेकै घरको माथिल्लो तल्लामा अवस्थित अशोक बाटिका सहकारी संस्थामा काम गर्थी । 

बूढी आमालाई मधुमेह थियो । घरै बस्थिन्, आराम गर्थिन् । घरभाडा, मासिक घर खर्च, छोराको पढाइ, आमाको औषधि–उपचार सबै सबै कटाएर मुस्किलले जोगाएको पैसाले उसले नजिकै चार आना जग्गा पनि किनेको थियो । यसरी नयाँ बस्तीमा, त्यहाँको स्थानीयले भन्ने गरेको ‘चाराने’ को जमातको ऊ पनि एक सदस्य बनेको थियो । उसको निचोड थियो, अन्यत्रबाट झोला मात्रै बोकेर सहर पसेको मान्छेलाई भीडमा देखिने हुन एक दशक लाग्छ, घडेरी जोड्न डेढ दशक । 

डेरामा बस्नेहरू समाजिक जीवनमा सरिक भएको खासै देखिँदैनथ्यो । उनीहरूसँग अस्थायी र पलायनवादी सोच हावी रहन्छ भन्ने गर्थे समाजशास्त्रीहरू । तर सुशील अलि फरक स्वभावको थियो । ऊ आफ्नो टोलमा सबै छिमेकीसँग बोलचाल गथ्र्यो, सुखदुःखमा साथै उभिन्थ्यो । टोलमा हुने गरेका सरसफाइ, खोप, जागरणका अन्य कार्यक्रमहरू, सामूहिक भोजन, वृक्षरोपण आदिजस्ता कार्यक्रममा ऊ सहभागी रहन्थ्यो । ऊ गणितको शिक्षक हो भन्ने कुरा टोलछिमेकमा सबैलाई थाहा थियो । त्यसैले बिहान–साँझ, अथवा छुट्टीका दिन टोलछिमेकका बच्चा उनीसँग गणित सिक्न आउँथे । ऊ प्रेमपूर्वक सिकाउँथ्यो । 

आम्दानीका पाटा सीमित थिए । तर खर्चको कुनै निश्चितता थिएन । कहिले छोरो बिरामी पथ्र्यो । कहिले आमालाई अस्पताल भर्ना गर्नुपर्ने हुन्थ्यो । पुरानो स्कुटी बिग्रिरहन्थ्यो । मर्मत गरिरहनुपथ्र्याे । फेरि शिक्षकको डेरा– बौद्धिक मान्छे आइरहन्थे । हँसमुख र सहयोगी स्वभावको भएका कारणले होला, पाहुना पनि निकै आउँथे । 

उसको गृहजिल्ला मोरङबाट काठमाडौँतिर काम विशेषले आउने–जानेहरू पनि आइरहन्थे । त्यसैले, उसलाई अर्थको जोहो गर्न सधैँ धौधौ नै परिरहन्थ्यो । कहिलेकाहीँ त आमा बिरामी भएर सिकिस्त हुने, तर एटीएम मसिनबाट पाँच सय पनि ननिस्कने अवस्थाबाट पनि गुज्रियो सुशील । तर धैर्य कहिल्यै गुमाएन । ओठहरूलाई सुक्न कहिल्यै दिएन । 

हनुमन्ते नदी किनारमा एउटा ठूलो किराना पसल थियोः शुभतारा स्टोर । सुशीलले पसल मालिक जगदीशसँग राम्रो मित्रता गाँसेको थियो । अप्ठेरो परेको बेला, भाका राखेर उधारो सामान ल्याउँथ्यो । भाकामा पैसा बुझाउँथ्यो । पैसा जुटेन भने इमानदारीपूर्वक गएर भन्थ्यो, र म्याद थपेर फर्कन्थ्यो । ठिमी चोकमा आरोग्य औषधि पसल थियो, टीकाराम श्रेष्ठको । त्यहाँबाट नियतिम औषधि ल्याउँथ्यो । त्यहाँ पनि त्यसै गथ्र्योे । इमानदारीकै जगमा उसको घर–व्यवहार चल्थ्यो । 

तर, उसको मस्तिष्कमा एउटा बलियो दबाब सधै“ थियो । उसका दाजुभाइ व्यापारमा थिए । पूर्वतिरै जमेर बसेका थिए । एउटाले बिराटनगरमा, र अर्कोले दुलारीमा बढेमानका घर बनाएका थिए । माइलो सेमेन्ट–कंक्रिटको व्यापार गथ्र्याे । पूर्वको बजारमा लगभर उसको एकछत्र राज थियो । कान्छो पुस्तक व्यवसायमा संलग्न थियो । ऊसँग सयौँ स्कुलमा पुस्तक र कापीहरूको आपूर्तिको ठेक्का थियो । 

दुवैसँग एकएक थान गाडी पनि थिए । सुशीललाई ती परिवारबाट अप्रत्यक्ष दबाब थियो, काठमाडौ“मा घर बनाउन । सबैले पूर्वमै रहेर व्यापार गरौँ भन्दा पनि नमानेर सुशील आफ्नै स्वाभाविक हठका कारण शिक्षण पेसामा लागेको थियो । कसैलाई केही भन्ने ठाउँ थिएन । ससुरालीले मुख खोल्न त सकेका थिएनन्, तर फोन गरेपिच्छे ससुराबाले खै कसले हो कहाँ ठूलो घर बनायो रे भन्ने समाचार सुनाउन बिर्संदैनथे । 

उमेरले पनि चालीस काटेको सुशीललाई भित्रभित्रै यस समस्याले गाँज्न थालिसकेको थियो । तर पनि उसले आफ्नो अनुहारको स्थायी र दिव्य आभालाई कहिल्यै धमिलिन दिएको थिएन । आफ्नो विम्रतालाई उसले कहिल्यै आक्रोशमा विसर्जन हुन दिएन । 

जब सुशीललाई लाग्यो उसको दिनको जागिरकै भरमा घर बनाउन सकिँदैन, उसले बिहान–साँझ नजिकका इन्स्च्यिुटहरूमा गणित पढाउन थाल्यो । यो काम केही महिना चलेपछि उसले पुरानो स्कुटी बेच्यो र नयाँ किन्यो । अब ऊ त्यस स्कुटीमा चढेर बिहानै भक्तपुर दरबार स्क्वायतिर पुग्न थाल्यो र स्कुलको समयभन्दा अघिको समयमा गणितको स्टुसन पढाउन थाल्यो । साँझ पनि यही क्रम चल्यो । साँझ करिब ८ बजे घर फर्कन्थ्यो । 

करिब दस वर्षजति यो क्रम चल्यो । जब सुशीलले पचास टेक्यो उसले घर बनाउने काम सुरु ग¥यो । 

०००

सङ्ग्रामको कथा भने अलि भिन्न थियो । ऊ एक्लो मानिस । न घर, न परिवार । काठमाडौँमा डेरामा बसेको पनि बीस वर्षजति भयो भन्थे उसलाई चिन्नेहरू । अहिलेकै घरमा, सुशीलले देखेको पनि करिब दस वर्षजति त भइसकेको थियो । अन्तरमुखी, अरूसँग नखुल्ने र वास्ता पनि नगर्ने स्वभावको भएकाले उसका बारेमा टोलछिमेकमा मान्छेहरूलाई थाहा थिएन । गाइँगुइँ चलेअनुसार ऊ विद्यार्थी राजनीति गथ्र्यो रे, र एउटा, अनि अर्को, अनि अर्को, अनि अर्को विषयमा भर्ना हुँदै राजनीति गरिरहन्थ्यो रे ! कुन क्याम्पसमा हो भन्नेचाहिँ गाउँलेले थाहा पाएनन् । 

ऊ तीन–चार महिनामा एकपल्ट भाडा दिन्छ भन्ने उनका घरबेटी सञ्जय श्रेष्ठको भनाइ थियो । भाडा माग्न निकै झगडा गर्नुपर्ने बानी नै रहेको उनी टोलछिमेकमा बताउँथे । सङ्ग्रामको स्वभाव झगडालु थियो । सधैँ आक्रोशित, सधैँ चिटचिट । समान्य कुरामा पनि ठूलो झर्कोफर्को गथ्र्यो । उसको घरको झ्याल खुलेको देखे भने योगी, भिक्षु, सन्न्यासी, भिखारी— कोही पनि त्यस घरको आँगनसम्म टेक्दैनथे । छरछिमेकमा हुने सुखद वा दुःखद घटना वा भेलाहरूमा सङ्ग्रामको उपस्थिति न कसैले देख्थ्यो, न आसै ग¥थ्यो । 

सङ्ग्रामका केही बानीव्योहोराको बारेमा भने टोलछिमेक जानकार थियो । आफ्नो मिटरमा उठेको बिजुलीलाई लिएर ऊ सधैँ घरबेटीसँग झगडा गथ्र्याे । पसलहरूमा सामान किन्न जाँदा एक–दुई रूपैयाँको विषयलाई दिएर लड्थ्यो, भिड्थ्यो । केही दिनअघि बिहान उनको डेरमा आधा लिटर दूध छोड्न आउने ग्वालालाई दूध किन फाट्यो भनेर पिटेको घटना ताजै थियो । 

सधैँ हतारोमा, सधैँ चिटचिट, सधैँ आक्रोशित, सधैँ चिन्तित सधैँ झगडा गर्न उद्यत, सधैँ एक्लो । कसैले, कहिल्यै पनि सङ्ग्रामको अनुहारमा मुस्कान देखेन । कहिल्यै प्रसन्नता देखेन । कुनै विनम्रता पनि देखेन । केही छिमेकीलाई थाह भयो— उसले सधैँ उच्च रक्तचाप, कोलेस्ट्रोल र मधुमेहको औषधि खान पनि थालिसकेको थियो । 

सङ्ग्रामभित्रको नकारात्मकता सधै“ अक्षुण्ण रह्यो, तर त्यसको अभिव्यक्ति भने सेयरबजारको सूचकाङ्कजस्तो बढ्ने–घट्ने हुन्थ्यो । पार्टी राजनीति जसरी परिवर्तन हुन्थ्यो, उसको स्वभाव पनि त्यसैगरी तात्ने–सेलाउने गथ्र्यो । 

यसैबीच, उसले पनि पैँतालीस टेक्यो । र सुरु ग¥यो घर बनाउने उपक्रम । घरबेटीले सोध्दा भन्यो रे, “बिहे गरौँ भनेर एउटी केटी हेरेको । घर नभई मान्दिनँ भन्छे ।” 

०००

निर्माण कार्य सुरु भयो । ठेकेदार एउटै । उसका सहयोगी फरक–फरक । एउटै टोलमा, एक–दुई मिनेटको दूरीमा दुई घर उभिन थाले । 

साँझ–बिहान सुशीलले पढाउने काम स्थगित ग¥यो र निर्माण कार्यको निगरानी गर्न थाल्यो । सङ्ग्राम त दिनैभरि जसो निर्माणस्थलकै वरिपरि हुन्थ्यो । 

सुशीलको घर सामान्य गतिमा उभिँदै गयो । सङ्ग्रामको ठेकेदारले भने मालिकले धेरै किचकिच गरेको भन्दै कामबाट हात झिक्यो । सुशीलको काम भने त्यसैले जारी राख्यो । 

‘तँजस्ता ठेकेदार चुट्कीमा ल्याउँछु’ भनेर सङ्ग्रामले भनेको टोलिछिमेकमा धेरैले सुने । तर ठेकेदार चुट्कीमा भेटिएन । उनीहरूको पनि क्षेत्र–क्षेत्र हुँदो रहेछ, र एउटाको क्षेत्रमा अर्कोले हस्तक्षेप नगर्ने भन्ने भद्र सहमति हुँदो रहेछ । अन्त्यमा, लत्रक्क परेर सङ्ग्राम पुरानै ठेकेदारकहाँ पुग्यो । 

तर ऊ पनि टेरेन । अन्त्यमा सुशीलले भन्नुप¥यो, “भाइ, टोलछिमेकको मान्छे हो, हेर्दिनू ।”

निर्माण कार्यले पुनः गति लियो । 

रड सिमेन्ट किन्ने पसल एउटै । इँटा–ढुङ्गा ल्याउने गाडीवाला एउटै । काठवाला एउटै । फलामवाला एउटै । सुशील हाँसीहँसी जान्थ्यो । स्फूर्तिका साथ उनको सामान खस्थ्यो । सङ्ग्रामले भने झगड नगरेको कुनै पसलै भएन । मूल विषयः दुई–चार रूपैयाँको घटबढ । आजिद भएका थिए सबै बिक्रेता । सबै टोलवासी ।

सुशीलको घर सजिलैसँग ठडियो । ऊ शान्त थियो । प्रसन्न थियो । उसको सामान्य स्वभावमा कुनै परिवर्तन आएन । 

बल्लतल्ल सङ्ग्रामको घर ठडियो । ऊ गजक्क थियो । रक्तचाप निकै बढिसकेको भान हुन्थ्यो । अभिमान उसको निधारमै टल्किरहेको देखिन्थ्यो । 

०००

उही टोल, उही टोलवासी । सघाउपघाउ गर्ने छिमेकी पनि उही । त्यसैले सुशीलले र सङ्ग्रामले दुई दिन अघिपछि गरेर घरपैँचो गर्ने निधो गरे । सँगै गए पुरेतबालाई भेट्न र औपचारिक निम्तो दिन । 

बिहानको समय थियो । पुरेतबा भर्खरै प्रभातकालीन पूजा सकेर सिकुवामा बसेर अखबार हेरिरहेका थिए । बिरलै सँगै हिँडेको देखिने दुई छिमेकीलाई देख्दा उनी अलिकति आश्यर्चमा परेजस्ता पनि देखिए । अभिवादनको औपचारिकता सकेपछि सुशील र सङ्ग्राम मूढामा बसे । सुशीलले बढो विनम्रताका साथ विषय उप्कायो । 

“सानासाना कुटी बनाएका छौँ, बा । घरपैंचो गरौँ भनेको ।”

पुरेतबाले आँखाको चस्मा टाउकोतिर सिउरेर एकपल्ट नियालेर हेरे दुवैलाई । उनलाई अतीतलको केके कुराको सम्झना भएको हुनुपर्छ, केही अल्मलिए । 

“सकियो ?”

“हजुर सकियो,” सुशीलले नम्र भावले भन्यो । 

“कत्रो बनायौ ?”

“तीन तला ।” सङ्ग्रामको उत्तर । ठूलो रवाफ महसुस हुन्थ्यो आवाजमा । 

“अनि तिम्रो ?”

“उही हो हजुर । बल्लतल्ला तीन तला ।” सुशीलले फेरि नम्रताका साथ भन्यो । 

“एउटा ठूलै उपलब्धि गरियो, जीवनमा,” सङ्ग्रामले आत्मप्रशंसा ग¥यो । 

“उपलब्धि पनि के भन्नु ! एउटा आवश्यकता पूरा गरियो,” सुशीलले भन्यो । 

पुरेतबाले निकै बेर हेरे दुवैलाई र भने, “उपलब्धि त उपलब्धि हो । तर...” उनी रेक्किए । उनकी छोरीले चिया ल्याई, र तीनै जनालाई दिई । 

“...तर, बाटो हेर्नुस् ।”

दुवै अलमल्ल परे । पुरेतबाको अनुहार निकै गम्भीर देखियो । उनले भने, “सुशीलले हाँसी–हाँसी, विनम्र भएरै एउटा उपलब्धि ग¥यो । त्यो के ? एउटा घर बनायो । र घरपैंचोमा बोलाउन आयो । होइन ?”

उनको कुराको गाम्भीर्यबोध गर्ने प्रयासमा दुई नवघरधनीहरू विचारमग्न देखिए ।

उनले अगाडि भने, “र यो सङ्ग्रमा भाइले ? यसले, सबैसँग झगडा गरेर, चिटचिट पसिना काडेर, ऐ“ए“े गरेर, रक्तचाप र मधुमेह बढाएर, अहंकार पालेर पनि त्यही उपलब्धि ग¥योः एउटा घर बनायो । र घरपैंचोमा बोलाउन आयो । त्यत्ति होइन ?”

सुशील आफ्नै प्राकृतिक स्वभावमा हाँसिरह्यो । उसको अनुहारमा लज्जाबोध पनि किञ्चित मात्रामा देखिन्थ्यो । सङ्ग्राम भावशून्य थियो, जडवत । 

“घर पैँचोका लागि सोमबार र बुधबारको साइत राम्रो छ । सुशील भाइकोमा सोमबार म पढूँला । अलि धेरै प्रसादको जोहो गर्नू । मान्छे धेरै आउँछन् तिम्रोमा । त्यो कुरा मलाई थाहा छ । सङ्ग्राम भाइले बुधबार अर्को पुरोहित खोज्नू । म भ्याउँदिनँ ।” बाजेले निचोड सुनाए । 

धेरैबेरसम्म बोलीहरू फुटेनन् । लामो मूर्दाशान्तिपछि सङ्ग्राम उठ्यो र आफ्नो बाटो लाग्यो । पुरेतबा र सुशीलले उसलाई पर नदी किनारको झाडीपछाडि नछेलिउन्जेल हेरिरहे । 

सुशीलको अनुहारमा विष्मयको भाव देखिन्थ्यो । बाजेले लामो सुस्केरासँगै भने, “उपलब्धि !” र आफ्नो ठाउँबाट उठे । (‘शामी’ बाट साभार)
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गणेश रसिककाे ‘पेरुङ्गो’ संस्करण सार्वजनिक

  • २८ भदौ, २०७६

काठमाडौं । साहित्यकार गणेश रसिक आफ्ना पाँच पुस्तकको ‘पेरुङ्गो’ लिएर आएका छन् । शुक्रबार प्रज्ञा प्रतिष्ठानमा भैरव थापा, उर्मिला श्रेष्ठ,

गीतः ऊ आकाशको जून म धर्तीको धुलो 

  • २८ भदौ, २०७६

मन्दिरा मधुश्री ऊ आकाशको जून म धर्तीको धुलो  उसको र मेरो छ संगम अधुरो ।  सपना हो मीठो ऊ बिउँझदा मर्ने  सुगन्ध फूलको हो ओइलिँदा झर्ने  ऊ भ्रम हो

कविता : उपाध्याय बाजेको म:म पसल

  • २८ भदौ, २०७६

यतिबेला सहरमा लोकप्रिय छ उपाध्याय बाजेको मम पसल । शहरभरि हल्लैहल्ला छ त्यहाँ सफा मासुको मम पाइन्छ उपाध्याय बाजे, आफू स्वयम्पाक्य छन् धोतिपाटा