• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

भावना  र भक्ति 

हिँड्दा हिँड्दै एक दिन अनायास ऊ कुनै वस्तुमा ठोक्कियो । यात्रामा लड्नु, पछारिनु, ठोकिनु त स्वाभाविक नै हो । 

ऊ टक्क अडियो । केमा खुट्टा ठोकिएको हो  हेर्यो । एउटा ढुंगा रहेछ चुनौती दिने । उसले फेरि खुट्टाले पल्टार्इपल्टार्इ हेर्यो त्यो ढुंगा नै भएको प्रमाणित भयो । 
ऊ अगाडि बढ्न नै सकेन । ढुंगामै आँखा र मन केन्द्रित भयो । एक प्रकारको सम्मोहन बढ्यो । 

उसले फ्याँकेको ढुंगा टिप्यो, आकारमा त्यति राम्रो नभए पनि हातले सुम्सुम्यायो । आश्चर्य ! ढुङ्गामा पनि जीवन र भावना भएजस्तै अनुभूत गर्यो । उसले ढुंगो गोजीमा राख्यो । तुन्द्रुङ्ग झुन्डियो कमेजको गोजी । 

किनकिन उसले आफ्नो पनि कोही भएको महसुस गर्यो ।

ढुंगो घर लगेर सिरानीमाथिको खोपामा राख्यो । आफ्नो दुस्खसुखको साथी सम्झ्यो । ढुंगासामु आफूलाई परेको गाह्रो, अप्ठ्यारो, पीर व्यथा निर्धक्क ओकल्थ्यो र हलुका हुन्थ्यो  । समस्याबाट मुक्ति मिलेको लाग्थ्यो । उसलाई सान्त्वना र सहानुभूति दिने त्यही ढुंगो मात्र लाग्थ्यो ।

हुँदाहुँदै विश्वास जाग्यो । आस्था लगायो । भगवान् ठान्यो । अनन्य  भक्ति लगाएर आराधना गर्‍यो । 

बेलाबेला हातमा राखेर पनि सुम्सुम्याउँथ्यो र अलौकिक सन्तुष्टि लिन्थ्यो ।

एक दिन ऊ निन्द्रा मै चलमलायो । हातखुट्टा फ्याँकेर सुताइको आनन्द लिन खोज्दा अनायास उसले त्यही ढुंगामा छुन पुग्यो ।

ड्याम्म ! उसको टाउकोमा बजारिँदा आनन्द भताभुंग भो ।

ऊ भुतुक्क भयो । मर्नेगरी दुखेको ठाउँमा छाम्यो । झन्डै त्यही ढुंगाजत्रै टुटुल्को लाग्यो । नजिकै ढुंगो लडिरहेको देख्यो । उसको दुखाइमा  संवेदनशील देखिएन ढुंगा । 

एक्कासि उसको ढुंगाप्रतिको आस्था, श्रद्धा र भक्ति हरायो । भावविहीन देख्यो ढुंगालाई । अनि टपक्क टिपेर बाहिर घुयँत्रो हान्यो र रुँदै सुत्यो ।

बिहान उठेर बाहिर निस्कँदा आँगनमा हिजो बेलुकी फ्याँकेको त्यही ढुंगामा उसको खुट्टा ठोक्कियो ।

ऊ अडियो र एकपटक हेर्यो । ढुंगो ढुंगोजस्तो नै लाग्यो उसलाई । त्यसैले पुनः खुट्टाले जानीजानी हान्यो र भित्र पस्यो ।

लडिरहेको ढुंगोमा हिजो चढाएको अबिर रातै थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर