• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

तत्कालीन सभामुख महराले एमसिसी अनुदानको सम्झौता नगरेर गल्ती गरे: प्रधानमन्त्री ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सभामुख कृष्णबहादुर महराले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदानको सम्झौता नगरेर गल्ती गरेकाे बताएका छन् ।

कान्तिपुर दैनिकसँगकाे अन्तर्वार्ता माउनले अमेरिकाले अघि सारेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतका कार्यक्रम भने नेपालको हितमा रहेको र त्यसलाई नेपाली संसद्ले अनुमोदन हुन नसकेकाे बताएका छन् । एमसिसी अनुदानको सम्झौता नेपालको संसद्‌बाट अनुमोदन गर्नुपर्ने सर्त छ । सर्तअनुसार संसद्को बर्खे अधिवेशनबाट त्यसलाई पारित नगरिएकामा प्रधानमन्त्री ओलीले रोष प्रकट गरे । उनले यसको दोष निवर्तमान सभामुख कृष्णबहादुर महरालाई दिएका छन् ।

‘हाम्रो नसामै असंलग्नता, स्वतन्त्रता र तटस्थता छ,’ उनले भने, ‘हामी दुइटा ठूला मुलुकका नजिक छौं । त्यही कुराको लामो समय उपयुक्त प्रयोग गर्न नसक्दा वा नजान्दा हाम्रा सम्बन्धहरूमा कहिले कस्ता, कहिले कस्ता तनावयुक्त अवस्था पनि देखापरे । त्यसकारण हामीले असंलग्न र तटस्थ हुन सिकेका छौं । अरूको स्ट्राटेजी होइन, अब हाम्रो स्ट्राटेजी हुन्छ ।’ प्रधानमन्त्री ओलीले अमेरिकाको यो रणनीतिलाई विकासका हिसाबले मात्र आफूले बुझेको बताए । 

‘तत्कालीन सभामुखजीले अलिक बेठीक गर्नुभयो । सरकारले टेबुल गरिसकेपछि अन्यत्रका दृष्टिकोण र छलफलका आधारमा अनुमोदनका लागि प्रस्तुत नगर्नु कर्तव्यभन्दा परको (कुरा) भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘कसैले उहाँलाई केही भनिदियो, त्यसपछि उहाँ विभिन्न नेताका अभिव्यक्तिलाई लिएर पनि विचार गरौं भन्नेतर्फ लाग्नुभयो ।’ सभामुख महराले पदीय हैसियतअनुसार काम नगर्दा सम्झौता अनुमोदन नभए पनि अबको हिउँदे अधिवेशनले एमसीसीलाई अनुमोदन गर्ने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले एक फरक सन्दर्भमा मुलुकमा ‘चाइना कार्ड’ वा ‘इन्डिया कार्ड’ को चर्चा बेलाबखत हुने गरे तापनि नेपालले कुनै पनि राष्ट्रविरुद्ध ‘कार्ड’ नखेल्ने बताए ।

‘हामी एउटाको विरुद्ध अर्काको कार्ड खेल्दैनौं । बाहिरबाहिर एक खालको कुरा गर्ने र भित्रभित्र अर्को खालको गतिविधि गर्दै हिँड्ने, बाहिर मित्रता भन्ने, भित्र अर्को प्रकारको कैंची चलाउने काम गर्दैनौं,’ उनले भने, ‘हामी बाहिरबाट जे भन्छौं, भित्र त्यही गर्छौं । एउटाको पक्ष अर्कोको विपक्ष गर्दैनौं ।’ उनले भारत र चीनको नाम लिँदै नेपाल कसैका विरुद्ध नभई न्याय, स्वतन्त्रता र मित्रताको पक्षमा रहेको बताए । ‘हामी चिनियाँ कार्ड, भारतीय कार्ड खेल्ने कुरामा विश्वास गर्दैनौं । खेल्दैनौं र खेल्न पनि हुँदैन,’ उनले भने, ‘मित्रहरूका बीचमा कार्ड खेल्ने भनेको धोका दिने, छक्याउने कुरा हो । छक्याएर मित्रता हुँदैन । सफा र पारदर्शी, विश्वासको सम्बन्ध हुनुपर्छ ।’ आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर