• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

शशीकिरणको ‘बधाई छ !’ विमोचित 

विराटनगर । प्रगतिवादी कवि शशिकिरणको ‘बधाई छ !’ कविता सङ्ग्रह शनिवार विराटनगरमा विमोचन भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर स्थित गुरुकुलमा आयोजित विशेष समारोहमा शशिकिरणद्वारा लिखित सङ्ग्रहको विमोचन गरे ।

प्रगतिवादी दर्शनमा आधारित बिचार र त्यसकालागि भएका विभिन्न संघर्षको परिणामस्वरुप प्राप्त परिवर्तनपछि भुँईमान्छेहरुले गर्ने अनुभूतिलाई कविता सङ्ग्रहमा स्पष्ट पर्ने प्रयत्न गरिएको छ । विशेष गरेर नेपालमा सञ्चालन भएको १० वर्षको जनयुद्धकाज समयमा जनताले गरेको आशा र अपेक्षाहरु पुरा नभएको र क्रान्ति कता कता बरालिएको विषयमा कविताहरुमार्फत तिखो प्रहार गरिएको छ । कविता मार्फत जनताका बीचमा गरेका बाचाहरु, सिकाएका आदर्शहरु र आस्थाको रक्षाका खातिर गरेका बलिदानीहरुको मूल्य के थिए भन्ने यक्ष प्रश्न नेतृत्वसामु तेस्र्याइएको पाइन्छ । 

कविता सङ्ग्रह बिमोचन गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले अघिल्लो पुस्ताले अधिकारका निम्ति बलिदानी गर्नसमेत तयार भएर आन्दोलन र संघर्ष गरेकै कारण अब कहिल्यै पनि अधिकारकालागि लड्न नपर्ने अवस्था ल्याएको बताएका हुन् । उनले कठोर राजनीतिक संघर्ष मार्फत जनताको अधिकार संविधानमै स्थापित भएको र त्यसकालागि कवि स्वयं पनि समयको माग अनुसार युद्धमा सहभागी भएकोले कविता मार्फत अनुभूतिहरु पोखिएको बताए । उनले बदलिएको सन्दर्भमा राजनीति गर्नुपर्ने भएकोले अबको सन्दर्भमा जनताको मनजित्दै सामाजिक अन्तरघुलनको माध्यमबाट अघि बढ्नु पर्नेमा जोड दिए ।

साहित्य सृजना गर्ने क्षमता जोकोहीसँग नहुने र त्यो सजिलो पनि नभएको भन्दै उहाँले साहित्यकर्मीहरुले निस्वार्थ  समाजलाई सेवा गर्ने गरेको बताए । उनले साहित्यकर्मीहरुले कुने लाभको अपेक्षा नगरेको अनुभूति सुनाउनुहुँदै मन्त्री घिमिरेले भने–‘साहित्य सृजना गर्नेहरुले स्रोता र पाठक बाहेक अरु केही आशा नगर्ने हुँदो रहेछ त्यहि बुझेर प्रदेश सरकारले श्रष्ठाहरुलाई सम्मान गर्ने परिपाटीलाई संस्थागत गर्ने जमर्को गरेको छ ।’ उनले राजनीतिमा सक्रिय रहेका गणेश उप्रेती सुशिलको साहित्यिक परिचयलाई पनि स्थापित गर्न शुभकामना गरे । उप्रेती नेकपा मोरङका सचिव पनि हुन् ।

कविता संग्रहमाथि कवि तथा साहित्यकार बलराम पोखरेल र सीमा आभाषले टिप्पणी गरेका थिए । टिप्पणी गर्दै कवि तथा साहित्यकार बलराम पोखरेलले प्रगतिशील र प्रगतिवादको फरकपनालाई बुझ्नु पर्ने तथा राजनीति र साहित्यबीचको सम्वन्धलाई पनि हेर्नुपर्नेमा जोड दिए । उनले कविता सङ्ग्रहमा पीरका कविताहरु रहेको, भावनाहरुमा असन्तोष देखिएका पनि मन्द मुस्कान अभिव्यक्त भएको देखिएको बताए । पोखरेलले आन्दोलनमार्फत राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा सुधार आउन नसकेको बताए । आन्दोलनको मर्म र भावनाविपरीत नेतृत्व अगाडि बढिरहेको विषयलाई संग्रहका अधिकांश कविताले उठान गरेको पोखरेलको भनाइ थियो । उनले भविष्यको पुस्ताले अध्ययन गर्ने र मूल्यांकन गर्ने सामग्री प्रस्तुत गरेको टिप्पणी गरे ।

अर्का टिप्पणिकार सीमा आभाषले कवितासंग्रहमा २०५० सालयताका राजनीतिक क्रान्ति र जनयुद्ध सकिएपछिको धङधङतीका विषयवस्तुहरू कविताको माध्यमबाट समेटिएको बताइन् । उनले जनताले चाहेको शासन व्यवस्था अझै स्थापित नभएको भन्दै सङ्ग्रहका कवितामा विद्रोहसहित असन्तुष्टि अभिव्यक्त भएको उल्लेख गरिन् । उनले बिचार र राजनीतिक आस्था भन्दा पर रहेर कविले सत्य अभिव्यक्त गरेको भन्दै प्रशंशा पनि गरिन् । कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदितले विमोचित कवितासंग्रहभित्र शीर्ष कविता ‘बधाई छ’ वाचन गरे ।

कोशी सांस्कृतिक प्रतिष्ठान नेपालले प्रकाशनमा ल्याएको १०६ पृष्ठको कविता संग्रहमा विभिन्न ५२ वटा कविताहरू समेटिएका छन् । कार्यक्रममा राष्ट्रियसभाका सांसद एवं प्राज्ञ खेम नेपाली, प्राज्ञ विवश पोखरेल, कवि भरत गुरागाईं, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति एवं प्रदेश सांसद शिवनारायण सिंहलगायतले शशिकिरणको कवितासंग्रह जनयुद्धको दस्तावेजका रूपमा आएको बताउनुभयो । संग्रहका अधिकांश कविताले १० वर्षे जनयुद्ध, जनआन्दोलन पछि भएको राजनीतिक परिवर्तन अनि नेताहरूमा देखिएको विचलनलगायत विषयलाई सशक्त रूपमा उठाएको छ । सङ्ग्रहमा ‘घाम त फेरि एक्लै आएछ, बधाइ छ, साइँली हामी छुटौं अब, नियति, मै मूर्ख, मन्द मनुवा, यक्ष प्रश्न, कलान्तर, नयाँ मतियार, अवकाश रोजेको जनसेना आदि शिर्षकका कविताहरू समावेश छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर