• २०८२ बैशाख २२ सोमबार
  • Monday, 5 May, 2025

जिल्ला प्रशासन कार्यालय झापामा टोकन प्रणाली सुरु

झापा । जिल्ला प्रशासन कार्यालय झापाले टोकन प्रणालीबाट सेवाग्राहीलाई आजबाट सेवा प्रदान गर्न थालेको छ । जिल्ला प्रशासनबाट नागरिकलाई दिइने सेवा प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापामा नागरिक सहायता कक्षको स्थापना गरी टोकनबाट सेवा प्रदान गर्न शुरु गरिएको हो ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले स्थानीय प्रशासन लेखिएको बटम क्लिक गरी टोकन लिएर सेवाको उद्घाटन गरेका हुन् । नगरपालिकाले तीन लाख रुपैयाँमा टोकन मेसिन खरिद गरेर जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले नागरिकले जिल्ला प्रशासनमा आएर अलमलमा पर्ने अवस्थाको अन्त्य गर्दै सरल र सहज रुपमा पालैपालो सेवाग्राहीले चाहेअनुसारको फाँटबाट सेवा प्रदान गर्न टोकल प्रणालीको सुरुवात गरेको बताए ।  

प्रजिअ रानाले नागरिकको सेवा पाउने अधिकारमा बिचौलियाको हाबी बढ्दो रहेकाले अब यस प्रणालीले त्यसको अन्त्य हुने बताउनुभयो । जिल्ला प्रशासनको ढोकामै स्थापना गरिएको नागरिक सहायता कक्षमा पिउने पानीको व्यवस्था समेत गरिएको छ ।

आज टोकन प्रणालीबाट कचनकवल गाउँपालिकाका–७ की कञ्चन सिटौलाले पहिलो सेवा लिएकी छिन् । उनी नयाँ नागरिकता बनाउन बुबा डिल्लीप्रसाद खरेलसँग त्यहाँ गएकी हुन् । उनलाई कार्यक्रमका नगरप्रमुख आचार्य, उपप्रमुख मीना उप्रेती, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले खादा र अबिरले स्वागत गरेका थिए । 

पालो पर्खंदा सेवाग्राहीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासनले टेलिभिजन र  वाइफाइकोसमेत व्यवस्था गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । उनले कार्यालयले गरेका गतिविधिलाई त्रैमासिक रूपमा इ–प्रशासन बुलेटिन निकालेर जानकारी दिन थालिएकोे कार्यक्रममा बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर