• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

फर्केर हेर्दा

सधैँभरि फर्केर हेरिँदैन । सधैँभरि त अगाडि गइन्छ, जान खोजिन्छ । ‘खोज्नु’मा गति छ, गतिमा प्रगति छ तर पुग्नु यी कुनैमा छैन, कहीँ छैन । हुँदो हो त सन्तोष हुन्थ्यो जीवनमा । सन्तोष त खोज्नु, पाउनु वा अगाडि जानुमा पनि हुन्छ नै, तर त्यो अपूर्ण हुन्छ । त्यसैले त्यहाँ लालसा बाँकी रहन्छ । तिर्खा बाँकी रहन्छ र पुनः अगाडि नै हेरिन्छ, अगाडि नै हिँडिन्छ । त्यसैले सन्तोष भए पनि त्यो पूर्ण हुँदैन, हुनु हुँदैन मान्छेसँग ।

म पूर्ण सन्तोष चाहन्नँ जीवनमा । पूर्ण सन्तोष पूर्णविराम पनि हो । पूर्ण सन्तोष एउटा अग्लो पर्खाल हो जसले त्यहाँभन्दा अगाडिको सुन्दर लालसालाई पूर्णतः छेकिदिन्छ; त्यहाँभन्दा अगाडिको हरियो रहरलाई एकै ठाउँ जमाइदिन्छ र लेउ लाग्छ, जीवन प्रवाहमयताबाट छेउ लाग्छ । त्यसैले सन्तोष चाहन्छु तर पसिना ओभाउने छहारीजस्तो मात्र, थकाइ बिसाउने चौतारोजस्तो मात्र । जहाँ बरु रात बिसाउन नसकियोस्, सपना कोरल्न नसकियोस् तर सुस्केराहरूमा दिक्दारीलाई भने मज्जाले फाल्न सकियोस् ।

तर अगाडि नै हिँडिराखे पनि कहिलेकाहीँ त पछाडि फर्केर हेर्न मन लाग्दो रहेछ, कहिलेकाहीँ हेर्नुपर्ने पनि हुँदो रहेछ । कहिलेकाहीँ पछाडि फर्केर हेर्दा पनि अगाडि गएको नै हुँदो रहेछ, गति भाँचिदैन रहेछ, तिर्खा लाग्न छाड्दैन रहेछ, लालसा जागिरहँदो रहेछ मनभित्र । खोला अथवा नदीको पानी बगिरहन्छ अगाडि । तर कहिलेकाहीँ भुमरी परिदिँदा त्यो पानी फनक्क फर्केर घुम्ने गर्छ एक फन्का । उसले घुम्दाघुम्दै फर्केर हेरिहाल्छ अघि आफैं आएको बाटो र फेरि अगाडि गइहाल्छ त्यसरी नै ।

जीवनको गति नभाँचिकनै, जीवनसङ्गीतलाई सुरहरूमा बाँधेरै अहिले एक छिन बसेको छु पसिना ओभाउन । भुमरीको नदीजस्तै एक छिन फनक्क फर्केको छु पछाडि र हिजोअस्तिका सबै सफलताहरू, असफलताहरू, प्रयत्न र कमजोरीहरू देखिरहेको छु । दुःखसँग जम्काभेट भइसकेपछि त्यहाँ दुःख बाँकी रहँदैन । डर र भयसँग जम्काभेट भइसकेपछि डर तथा भय पनि बाँकी रहँदैन । त्यहाँ त केवल अठोट हुन्छ, सामना गर्ने दृढ निश्चय मात्र हुन्छ, भोक हुन्छ जित्ने र माथि उठ्ने । त्यस क्षणबाट जीवन जब अघि बढ्छ, र केही पर पुगेपछि स्मृतिमा रहेको त्यस क्षणलाई फर्केर हेरिन्छ, तब त्यो रमाइलो, घमाइलो र न्यानो आनन्द बन्दो रहेछ । अहिले म क्षणभरको पछाडि फर्काइमा त्यही आनन्द भोगिरहेको छु ।

कृष्णचन्द्रसिंह दाइ लेख्नुहुन्छ– ‘बाँच्नु भनेको तिर्खा हो, तिर्खा ।’ तिर्खाका रूपहरू बेग्लाबेग्लै हुँदा हुन्, तिर्खाको कारण, असर र प्रभाव फरकफरक हुँदा हुन् । तर म तिर्खा लागेकै बेलामा पसेको हुँ उहाँका निबन्धहरूभित्र कृष्णचन्द्रसिँह प्रधानलाई खोज्दै । र, जब ठ्याक्कै त्यही ठाउँमा पुग्दा उहाँ भन्दै हुनुहुन्थ्यो– ‘बाँच्नु भनेको तिर्खा हो, तिर्खा’– मैले च्याप्पै समातेँ उहाँलाई । एउटा जीउँदो सिर्जनसिल लेखकलाई समातेपछि मैले अनुभव गरेँ– मभित्र तिर्खा झनै बढिरहेको छ, म झन्झन् भोकाइरहेको छु । मैले उठ्नुपर्छ र अझ अगाडि जानुपर्छ । मैले उठ्नुपर्छ र अझ उकालो चढ्नुपर्छ अथवा बग्नुपर्छ पानी भएर ओरालैओरालो र अरूको तिर्खा मेटाउनु पर्छ ।

म उठेँ र हिडेँ त्यही बेला । मेरो त्यो हिँडाइ चलिरहेकै छ, मेरो बगाइ अनवरत छ र जति हिँडे पनि, जहाँ पुगे पनि मेरो भोक बढिरहेकै छ, तिर्खा बढिरहेकै छ ।

मलाई खोला र नदीहरू असाध्यै मन पर्छन् । खोला र नदी भनेका गति हुन् मेरा लागि । ती भनेका प्रतिबद्धता र अठोट हुन् मेरा लागि । ती भनेका सङ्लो पारदर्शिता र ऐना समेत हुन् मेरा लागि । जहाँ यी विशेषताहरू हराएर जान्छन् त्यहाँ पानी बगे पनि खोला र नदीहरू हराउँछन् मेरा लागि । नदीलाई हेर्दाहेर्दै, खोलालाई हेर्दाहेर्दै तिनीहरूलाई कतिपल्ट सिङ्गै उचालेर बोकेको छु आफूभित्र । खोला र नदीलाई हेर्दाहेर्दै आफूलाई नै सिङ्गै हराएको छु तिनैभित्र कतिपल्ट । खोलाहरू र नदीहरूले जीवजन्तुका तिर्खाहरू मेटाउँदा हुन् सामान्य अर्थमा । तर तिनीहरू त अनन्त तिर्खा हुन् मेरा लागि । कति वर्ष अगाडि नदीको आकर्षणले साहै्र तानिएर एउटा कविता लेखेथेँ–

म पहाड भएँ
पहाडको अनुभूति पनि भोगेँ
म जङ्गल भएँ
जङ्गलको नियति पनि भोगेँ
अब यसपल्ट चाहिँ 
म नदी बन्छु ।

मलाई मान्छेको आस्थामा
रङहरू खुलेको मन पर्छ
मलाई मान्छेको अनुहारमा
उज्यालो पुगेको मन पर्छ
म खेतखेतमा पुग्छु
धाराधारामा पुग्छु
ऊर्जा भएर कारखानामा पुग्छु
अँध्यारा कोठाहरूमा पुग्छु ।

दुःखी मान्छेहरू
मेरो किनारमा आऊन्
सबै दुःखहरू बगाऊन् मेरो प्रवाहमा
र पानीले आफ्नो अनुहार धोऊन्
गरिब मान्छेहरू
(जसको घरमा ऐना छैन
ड्रेसिङ टेबुल छैन अथवा घर नै छैन)
मेरो नजिकै आऊन्
मेरो पानीमा हेरुन् आफ्नो अनुहार
र आफूलाई मन लागेजस्तो बनाऊन् ।

म चाहन्छु
मेरो लहरसँग खेलून् मान्छेहरू
र आफ्ना रहरहरू गोडून्
मेरो जीवनलाई भोगून् मान्छेहरू
अ आफ्ना बिहानहरू टिपून्
सबैले आआफ्नो परिचय बोकून् ।

...अब यसपल्ट चाहिँ 
म नदी बन्छु ....।

                       (आकाश खस्यो भने के हुन्छ ?, २०५३, पृष्ठ ४०–४१)

म त्यसैबेलादेखि आफूभित्र नदी बोकेर हिँडिरहेको छु । नदीले गाएको गीत, नदीले सिर्जेको सङ्गीत र नदीसँगका निरन्तरका सम्वादहरूले मभित्र जीवन भरेका छन्, मलाई चङ्गा बनाएका छन् धेरैपल्ट, मलाई उज्यालो दिएका छन् । त्यो उज्यालोभित्र भावना र अनुभूति मात्र होइन विचारको प्रवाह समेत छ । मैले यसरी त्यही उज्यालो पक्रेर बाटो भेट्टाएको छु । त्यही उज्यालोभित्रका विचारहरूसँग म बारम्बार झुत्ती खेल्छु तिर्खा मेटाउन । म यात्रामा नयाँनयाँ पक्षहरू र सन्दर्भहरूमा मिसिन्छु तिर्खा मेटाउन, म निरन्तर गइरहन मन पराउँछु तिर्खा मेटाउन । आफ्नो अनुहार हेर्न मान्छेलाई अरू कसैको सहयोग चाहिन्छ । 

मलाई मेरो आफ्नो अनुहार बेलाबेलामा देखाइदिएर मेरो वास्तविकता बोध गराइरहन्छ नदीले । म त्यहाँ हेरेर आफ्ना कमजोरीहरू सच्याउने अवसर पाउँछु । म त्यहाँ हेरेर अनुहारमा लागेको दाग पत्ता लगाउँछु र नदीकै पानीमा धोएर आफूलाई सुकिलो पार्ने गर्दछु । नदीमा आफ्नो अनुहार हेर्नु भनेको वास्तवमा फर्केर हेर्नु नै हो । नदीमा आफूलाई हेर्दा निहुरिनुपर्ने हुन्छ र तलतिर हेर्नुपर्ने हुन्छ, कतिपय अवस्थामा त फर्केर अर्कोतर्फ पनि  हेर्नुपर्दछ । त्यसैले निहुरिनु र नदीमा आफूलाई हेर्नु भनेको फर्कनु हो । आत्मसमीक्षा गर्नु भनेको फर्केर हेर्ने काम नै हो ।

संयोगले म रुखलाई, माटोलाई, हावालाई, सूर्यचन्द्रलाई, खोलालाई, नदीलाई पूजा गर्ने संस्कृतिमा जन्मेर हुर्केको छु । यो जन्मजात नदी पुज्ने संस्कारले मेरो स्वभावलाई पनि केही हदसम्म नदीजस्तो बनाएको हुनुपर्दछ । गइरहने अघिअघि निरन्तर, तिर्खा मेटाउन खोज्ने निरन्तर र जीवनको सङ्गीत रचना गरिरहने निरन्तर । मैले आफूभित्र नदी र खोलालाई बोकेर हिँड्नु म स्वयं नदीजस्तै हुनुको एउटा दसी पनि हो ।

कृष्णचन्द्र दाइ, आफूभित्र नदी बोकेकै दिनदेखि म झन् तिर्खाएको छु र जतिजति अघि गइरहेको छु उमेरका पत्रपत्र टेक्तै, झन्झन् तिर्खाइरहेको छु, झन्झन् भोकाइरहेको छु । तपाईँका निबन्धहरूले समेत मेरो तिर्खालाई साम्य पार्नुसट्टा झन्झन् बढाइदिएका छन् । यो भोक सभ्यताको स्थापनार्थ जागेको भोक पनि हो, यो तिर्खा जीवनप्रति हुरुक्क भएर बाँच्न गरिएको प्रयत्न पनि हो । यो ज्ञानको अथाह खोजको एउटा सानो अन्वेषण पनि हो । यो यात्राको निरन्तर अघि बढाइको बीचमा क्षणभरलाई पछाडि फर्केर हेरेको पनि हो ।

किताबहरूले, प्रकृतिले, नदीको बहाव र अनौठो सुमधुर सङ्गीतले, परम्पराले र यी सबैले आफूभित्र जगाइरहने भोक र तिर्खाले मभित्र विचारहरूको जन्म गराउँछन् । विचार ऊर्जा हो, गति हो र शक्ति पनि हो मेरो यात्राको, मेरो बाँच्नुको । विचारले नै विचारलाई जन्माउँछ भन्ने कुरालाई म मान्दछु । हरेक नयाँ विचार पुरानो विचारको गर्भबाटै जन्मने गर्छ । हरेक नयाँ मान्यता पुरानो मान्यताको गर्भमा अङ्कुराएरै हुर्कन्छ । त्यसैले विचारहरूको जन्म खोला अथवा नदीको बग्नुजस्तै हो अर्थात् गति हो र त्यसैले ‘बाँच्नु’ पनि हो । र बाँच्नु भनेको फेरि उही भोक र तिर्खा हो । खाली ठाउँमा लथालिङ्ग आफूलाई वेपर्वाह छोडेको बेलामा पनि हामी गतिवान् हुन सक्तारहेछौँ । हामी त्यसबेला पनि बगिरहेका र हिँडिरहेका नै हुँदा रहेछौँ । त्यति मात्र कहाँ र ! हामी कहिलेकाहीँ त पुगिरहेका पनि हुँदा रहेछौँ । तर जति पुगिरहेको भन्दा रहेछौँ त्यति नै सत्यको उज्यालो त झनझनै परपर सर्दोरहेछ र तिर्खालाई बढाउँदो रहेछ । त्यसो हुनाले मभित्रको नदी सुकेको दिन मेरो विचारको मुहान पनि सुक्नेछ र विचार मर्नेछ । 

म बाँचेको समयको मेरो ओरिपरिको परिवेश अहिले भुमरीमा परेको बेला छ । यस्तो बेलामा पनि भनेँनि, गति त रोकिँदैन तर विचारहरू भने अल्मलिँदा पनि रहेछन् । यो अलमल तन्केर गयो भने जानुपर्ने दिशाका बाटाहरू हराउन सक्तारहेछन् । यस्तोमा त विचार झन् तेजिलो हुनुपर्ने रहेछ, विचार झन् प्रस्ट र उज्यालो हुनुपर्दो रहेछ । त्यसो भएन र निरन्तर भुमरीको नियतिमै अलमल भइरह्यो भने सुकेर, ओइलाएर र निस्सासिएर विचार मर्दो रहेछ । जहाँ विचारको मृत्यु हुन्छ त्यहीँबाटै उज्यालो पनि समाप्त हुन्छ । जहाँबाट उज्यालो समाप्त हुन्छ, त्यहीँबाट अन्धकारको उदय हुन्छ र जहाँ अन्धकार छाउँछ त्यहाँ अराजकता मात्र हुन्छ । अराजकतामा गति हुँदैन, लय हुँदैन र अगाडिको बाटो पनि हुँदैन । यस्तो अराजकताबाट बच्नलाई निरन्तर अगाडिको गति लिँदालिँदै पनि, जाँदाजाँदै पनि कहिलेकाहीँ फर्केर हेर्नुपर्दो रहेछ हिजो, अस्ति र झन् अस्ति बाँचेको समय र क्षणलाई । थकाइजस्ता अहम्हरू, ईर्ष्या र उत्ताउला लबस्तरा मोहहरूलाई कतै बिसाएर, फ्याँकेर ताजा र फूलको थुँगोजस्तो हलुका भएर आमन्त्रण गर्नुपर्ने रहेछ अनुभूति र भावनाहरूलाई । 

बिस्तारैबिस्तारै विचारका ढोकाहरू खोलेर त्यहाँबाट आफूभित्रको नदीलाई बग्न दिनुपर्दो रहेछ र त्यसको सङ्गीत र आवाजमा डुबुल्की मार्दै आत्मसमीक्षा गर्नुपर्दो रहेछ । म मेरो ओरिपरि जरा गाडेर बसेको राजनीतिमा यही सत्यको सर्वथा अभाव अनुभव गर्न अभिशप्त छु यसबेला । होइन भने हामी नेपालीले यतिका वर्षसम्म कत्रो विश्वासले आफैंमाथि समेत शासन गर्ने सिंगै राजनीतिको जिम्मा लगाएका मान्छेहरूले नै कहिल्यै पछाडि फर्केर नहेर्ने भद्दा अहम् पाल्ने थिएनन् र अहिले हामी नेपालीले आफ्ना सुन्दर सपनाहरूलाई थिल्थिलो पारेर, घाइते बनाएर यो कष्टसाध्य जीवन बाँच्नुपरेको यो स्थिति पनि आउने थिएन भन्न कुनै हिच्किचाहट पाल्नुपर्ने देख्तिनँ म ।

अहिले मैले गर्ने कामना त के हो भने यस्तो नहोस् र जीवनलाई अघि बढाइरहन तिर्खा बढिरहोस् मान्छेभित्र । मान्छेभित्रको नदी धमिलो नहोस् । त्यसले मान्छेलाई उनीहरूको अनुहार पटकपटक देखाइरहोस् । विचारहरू जन्मिरहून् र तिनले मान्छेको हिँड्ने, कहीँ पुग्ने र यसरी बाँच्ने तिर्खा र लालसालाई बढाइरहून् । प्राप्त भएको सन्तोष पनि होस् जीवनमा तर त्यो सधैँ अपूर्ण होस्, पर्खाल भएर बाटो छेक्तै कहिल्यै नउठोस् ।

र, खोला–नदी एकनास बगिरहोस् । 

र, नदीले गीत गाइरहोस्, संवाद बोलिरहोस् र सङ्गीत रचिरहोस् ।

र, म आफूभित्र बढिरहेको तिर्खाले छटपटाइरहूँ र कृष्णचन्द्रसिँह दाइहरूलाई बाटोमा भेटिरहूँ पटकपटक । कृष्णचन्द्रसिँह दाइ, बाँच्नु भनेको तिर्खा नै हो र त्यसलाई मेटाउन कहिलेकाहीँ एकछिनलाई फर्केर हेरे पनि हामीले जाने त अगाडि नै हो । 

यो एक छिनको पछाडि फर्काइलाई यहीँ बिसाएर म पनि उठेँ र हिडेँ अगाडि नै ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर