• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मन्त्रिपरिषद् पुनर्गठन : प्रभु साहको आक्रोश, विष्णु रिजालको जवाफ !

साहको कटाक्ष : ‘योग्यलाई हटाउने र अयोग्लाई मन्त्री बनाउने नेतृत्वको महान् कार्य’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिपरिषद् पुनर्गठनको विषयमा विभिन्न प्रतिक्रिया आउने क्रम जारी छ । केही चर्चामा भएका नाम प्रधानमन्त्रीको लिस्टमा अटाएनन भने केही शंकै नगरेका नामहरु मार्फत प्रधानमन्त्रीले ‘सरप्राइज’ दिए । 

प्रधानमन्त्री ओलीले पुनर्गठन गरेको मन्त्रिमण्डलमा चित्त दुखाउँदै नेकपाका नेताहरूले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्न थालिसकेका छन् । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका प्रभु साहले मन्त्रिपरिषद् पुनर्गठनप्रति असन्तुष्टि सामाजिक सञ्जालमार्फत नै व्यक्त गरेका छन् । उनले कार्यसम्पादनका आधारमा गर्ने भनिए पनि गुट, लेनदेन र पूर्वाग्रहका आधारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका छन् ।

उनले लेखेका छन्– ‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठज गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो । मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन । योग्यहरूलाई हटाउने र अयोग्लाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरि एकपटक लज्जित भएका छौं ।’

उनले पार्टी नेतृत्वप्रति गरेको आलोचनात्मक टिप्पणीको नेकपा विदेश विभागका उपप्रमुख समेत रहेका नेता विष्णु रिजालले समाजिक सञ्जालबाटै जवाफ फर्काएका छन् । उनले काशी तिवारी हत्याकाण्डको फाइल पनि खुल्न लागेको हो र ? भन्दै प्रश्न गरेका छन् ।

‘पार्टीका केन्द्रीय सदस्य तथा २ नम्बर प्रदेशका अध्यक्ष प्रभु साहको यो स्टाटस देख्दा लाज लागेको छ, मन्त्रीका लागि अपेक्षा गर्नु वा दौडधुप गर्नु एउटा कुरा हो,’ उनले लेखेका छन्,  ‘तर, निर्णय भइसकेपछि ‘लेनदेनकै आधारमा’ गरेको भन्नु आपत्तिजनक छ । कसैले उहाँसँग यति ‘लेनदेन’ गरेपछि मन्त्री बनाइदिन्छु भनेको थियो भने बेग्लै कुरा, नत्र यति हावादारी कुरा कसरी गर्न मिल्छ ? ’

मन्त्रिपरिषद पुनर्गठनको विषय उठेसंगै नेता साहको पनि चर्चा चलेको थियो । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठनको विषय उठानपछि मन्त्रीका लागि साहले पनि केही लबिङ गरेको स्रोतको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर