जनकपुरमा विवाहपञ्चमीको भव्य तयारी, भारतका गृहमन्त्री र मुख्यमन्त्रीलाई आमन्त्रण

जनकपुरधाम । मिथिलाञ्चलको सबैभन्दा ठूलो उत्सवहरु मध्येको एक विवाहपञ्चमी नजिकिदै गर्दा तयारी तीव्र रुपमा अगाडी बढाइएको छ । 

मंसिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवको आयोजना गरिदै आएको छ । जनकपुरधाममा हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवका लागि जानकी मन्दिर तयारीलाई तीव्रता दिएको हो । विवाहपञ्चमी महोत्सवका लागि जानकी मन्दिरलाई सजाउने देखि लिएर विभिन्न कार्यक्रमको तयारी गर्नमा जानकी मन्दिर प्रशासन लागेको छ ।  मंसिर १० गते देखि सुरु हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तयारीका लागि जानकी मन्दिरले १ सय ५१ सदस्यीय मूल समहारोह समिति समेत गठन गरेको छ । विभिन्न उपसमिति बनाएर मन्दिर प्रशासनले महोत्सवलाई भव्यता प्रदान गर्ने तयारीमा लागेको छ ।

एक साता सम्म मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत मंसिर १० गते मंगलवार नगर दर्शनबाट सुरु हुनेछ । दोस्रो दिन फूलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठो दिन स्वयम्बर एवं विवाह र सातौँ दिन राम कलेवा विधिसंगै महोत्सव सम्पन्न हुनेछ । 

जन्तीलाई स्वागत गर्न जानकी मन्दिर तयार
विवाहपञ्चमी महोत्सवको सबैभन्दा ठूलो आकर्षण भारतको अयोध्याबाट आउने जन्ती हो । हुनत प्रत्येक वर्ष अयोध्याबाट विवाहपञ्चमी महोत्सवमा जन्तीहरु सहभागी हुने गर्छन् तर प्रत्येक ५ वर्षमा अत्याधिक संख्यामा त्यहाँबाट जन्ती आउने गर्छन् । 

त्यसैले यस पटक विवाहपञ्चमी महोत्सवका लागि भव्य तयारी गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । 

भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर निर्माणको पक्षमा फैसला सुनाएपछि श्रद्धालु भक्तजनहरु भारी संख्यामा सहभागी हुने उनको भनाई छ । 

उनका अनुसार यसपटक अयोध्याबाट ५ सयको संख्यामा जन्ती आउने छ । बिहिबारबाट नै अयोध्याबाट प्रस्थान गरेको जन्ती मंसिर १२ गते साँझ सम्म जनकपुरधाम आइपुग्ने छ । 

जन्तीमा सहभागीहरुलाई जानकी मन्दिरले मंसिर १३ गते औपचारिक कार्यक्रम गरेर तिलकोत्सव महोत्सवमा स्वागत गर्ने उत्तराधिकारी महन्थ वैष्णवले बताए ।  

विवाहपञ्चमीमा अमित शाह र योगी आदित्यनाथलाई आमन्त्रण
नेपाल भारतका लाखौ श्रद्धालु भक्तजन सहभागी हुने विवाहपञ्चमी महोत्सवमा सहभागी हुनका लागि नेपाल भारतका विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिएको उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए । 

उनले विवाहपञ्चमीमा सहभागी हुनका लागि भारतका गृहमन्त्री अमित शाह, भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई आमन्त्रण गरिएको बताए । उनीहरुलाई आमन्त्रण गरिएपनि सहभागी हुन् नहुने विषयमा औपचारिक जानकारी नआएको उनले बताए । विवाहपञ्चमी महोत्सवको प्रमुख अतिथिको रुपमा सहभागी हुन राष्टपति विद्या देवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली मध्ये एक जनालाई सहभागी गराइने बताए ।

त्यस्तै यहाँका प्रत्येक राजनीतिक दलका प्रमुख अतिथिहरुलाई समेत आमन्त्रण गरिएको छ । 

विवाहपञ्चमीका लागि सुरक्षा व्यवस्थामा कडाई 
विवाहपञ्चमीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । यस महोत्सवमा नेपालसहित भारतका श्रद्धालु भक्तजनहरु आउने गरेकाले सुरक्षामा करिब ३२ सय प्रहरी परिचालन गरिने धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

उनका अनुसार श्रद्धालुहरुको सुरक्षाको लागि जनपद प्रहरी २३ सय ३०, ट्राफिक प्रहरी ११६ त्यस्तै सशस्त्र प्रहरी ७०८ जना परिचालन गरिने प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।

सुरक्षामा खटाईने प्रहरीहरु गाडी मोवाईल, पैदल गस्ती, चेक प्वाईन्ट, चेकजाँच लगातयका काम गर्ने जनाइएको छ । सुरक्षालाई मध्यनजर गर्दै कुकुर टोलीलाई समेत खटाईने जनाइएको छ । 

यस्तै संवेदनशिल स्थान पहिचान गरी १ सय भन्दा बढि स्थानमा सिसि क्यामरा जडान गरी जानकी मन्दिरमा सुरक्षा पोस्ट कमाण्ड स्थापना गरी २४ औँ घण्टा सिसिक्यामरा मार्फत निगरानी गरीनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर