• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

हिलो, काँडा र युद्ध !

मलाइ कमल मन पर्छ,
हिलो र खाडी हैन ।
मलाइ गुलाब मन पर्छ,
काँडा र माली हैन ।

रित्तिएर कुरुप बन्दै गएका,
मेरा जिजिबिषाहरुमा जब कमल रोपियो,
निस्सार मेरो सयनकक्षमा जब गुलाब छरियो,
जीवन पनि सुन्दर भो !
सपना पनि रंगिन भो !
अब तिमिनै भन ?
यो सुन्दर जिबन र रंगिन सपनामा,
हिलो र काँडा,
खाडी र माली,
कसरी अटाउन सक्छ ?
त्यो फोहरी हिलो, घोच्ने काँडा ।
त्यो बेकामे खाडी, असभ्य माली ।

मेरो समृद्धिले कमल मात्र चिन्दछ ।
मेरो भब्यताले गुलाब मात्र बुझ्दछ ।
पर.. कन्टेनरमा मिल्काउ फोहरी हिलो,
डढेलोमा सल्काउ घोच्ने काँडा,
डोजर लाएर सम्याउ बेकामे खाडी  ।
एउटा नयाँ मुद्धा लाएर,
पन्छाउ त्यो असभ्य माली ।
मलाइ सेतो कमलमात्रै मन पर्छ ।
मलाई रातो गुलाब मात्रै मन पर्छ ।

आजकल मलाइ गणतन्त्र मन पर्छ,
युद्ध र सहिद हैन ।
मलाइ झन धेर अवसर पृय लाग्छ,
बलिदान र रगत हैन ।
दरबारिया अत्याचार चिर्दै,
जब गणतन्त्र फुल्यो !
काल कोठरी फुटाल्दै,
जब अवसर चम्कियो !
तिम्रो रक्तमुच्छेल काँधमा उभ्भिएको,
मेरो १९ दिन मात्रै महान,
म बिनाको तिम्रो दसक बेकार ।
तिम्रो गौरव एउटा झूर कहानी !
मेरो बठयाई एउटा हिट कहानी !
मृत्यु र पीडा मात्रै बोकेको,
त्यो कहालीलाग्दो युद्ध ।
अनि आतंक ओकल्ने सहिदहरु !
जम्मै संगै बोकेर म कसरी हिंडू ?
मलाइ त कमल मात्रै मन पर्छ ।
हिलो र खाडी हैन ।
मलाई त गुलाब मात्रै मन पर्छ ।
काँडा र माली हैन ।
.............................
अब आउने फाल्गुन १ ले,
हिलो, काँडा, र सहिद जम्मा पारेर,
कमल , गुलाब र गणतन्त्र मात्रै रुचाउने,
बैमान महत्वाकांक्षाका बिरुद्ध,
अर्को जनयुद्धको उदघोष गर्न पर्छ ।
र तिन्को कानको जाली फुट्ने गरी सम्झाउनु पर्छ ,

मुर्ख मनुवा !
हिलो र खाडी बिना,
कमल कहा फुल्छ ? 
काँडा र माली विना,
गुलाब कहाँ खेल्छ ?
युद्ध र सहिद विना,
गणतन्त्र कहाँ खुल्छ ? 
 

(महान जनयुद्ध दिबसको स्मृतिमा)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर