विराटनगरमा नयाँ डेरी उद्योग स्थापना 

विराटनगर । विराटनगरको जतुवामा बुधबारबाट नयाँ डेरी उद्योग सञ्चालनमा आएको छ । करिव ६ करोड रुपैयाँको लगानीमा निर्माण भएको आधुनिक प्रविधियुक्त डेरी उद्योग सञ्चालनमा आएको हो । मुख्यमन्त्री शेरधन राईले एक समारोहकाबीच सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज प्रा. लि. को उद्घाटन गरे । 

विराटनगर महानगरापालिका १४ मा अवस्थित जतुवा किसान बाहुल्य क्षेत्र हो । अधिकांश घरमा गाईभैंसी पाल्ने गरिएको छ । त्यहीँका दक्ष युवाहरुको पहल र लगानीमा उद्योग स्थापना गरिएको हो । 

सञ्चालनमा आएको नयाँ डेरी उद्योग दैनिक २० हजार लिटर दूध प्रशोधन क्षमताको छ । शहर वरिपरीका बस्तीहरुमा उत्पादन हुने दूध संकलन गरेर उद्योगसम्म ल्याउने र प्रशोधन पछि स्वच्छ दूध बजारमा पु¥याउने उद्देश्यले डेरी सञ्चालनमा ल्याएको सञ्चालक मनोज यादवले जानकारी दिए । 

उद्योगले बुधबार स्थानीय किसानहरुबाट ३ हजार लिटर दूध संकलन गरेर प्रशोधन गरि बजारमा लगेको छ । बिहीबार करिव ५ हजार लिटर संकलन हुने यादवले जानकारी दिए । उद्योगले अहिले दूध, दही, घ्यू, बटर र पनिर उत्पादन गरिरहेको र उत्पादन विस्तार गर्ने योजनासहित उद्योगको नाममा बेभरेज समावेश गरेको यादवले जानकारी दिए ।

सहर वरिपरीका गाँउ र बस्तीमा प्रसस्त दूध उत्पादन हुने गरेको छ । किसानले उत्पादन गरेको दूध प्रशोधन नगरी बजारमा लैजाने र खुलारुपमा बिक्री गर्ने गरेका कारण उपभोक्ताले स्वच्छ दूध उपभोग गर्न पाएका छैनन् । सरकारले अप्रशोधित दूध बिक्री गर्न निरुत्साहित गर्ने नीति लिनुपर्ने यादवले बताए ।

मुख्यमन्त्री शेरधन राईले समृद्ध नेपाल सुखि नेपालीको अभियान विराटनगरको जतुवाबाट सुरु भएको बताए । उनले राष्ट्रिय आवश्यकता र उद्देश्य अनुसार दक्ष युवाहरुले उत्पादन र प्रशोधनमा आधारित उद्योग स्थापना गरेको भन्दै सरकारले सहयोग गर्ने बताए । ‘यो उद्योग तपाईँहरुले स्थापना गर्नुभयो,’ मुख्यमन्त्री राईले भने, ‘अब यो तपाईँहरुको मात्र रहेन यो सञ्चालन गर्ने दायित्व सबैको र सरकारको पनि हो ।’ उनले हरेक व्यक्ति उत्पादनमा जोडिएर मात्र समृद्धि प्राप्त हुने बताए । नयाँ उद्योगले रोजगारीको सिर्जना गरेको र धेरै अवसरहरुका लागि ढोका खोलेको भन्दै उद्योग सहज सञ्चालनका लागि सरकारले आवश्यक वातवरण तयार पार्न प्रतिवद्धता व्यक्त गरे । उनले उद्योग उद्घाटनमा आउँदो कल्पना गरेको भन्दा धेरै आधुनिक र व्यवस्थित उद्योग स्थापना भएको पाएपछि आफु उत्साहित बनेको पनि बताए । उनले प्रदेश १ दूध उत्पादनमा आत्मनिर्भर रहेको र अब मासु र अन्नमा आत्मनिर्भर बन्ने गरी काम गर्ने बताए । 

यस्तै सरकारले अनुदान सम्वन्धी कानून ड्राफ्ट गरिरहेको पनि जानकारी दिए । मुख्यमन्त्री राईले सरकारले पशु स्वास्थ्यलाई ध्यानमा राखेर साइलेज उत्पादन गर्न ८ करोड बजेट विनियोजन गरेको र लगानीका सम्वन्धमा छलफल जारी राखेको बताए । उनले डेरी उद्योगहरुलाई उत्पादन विविधिकरण गर्न र उच्च गुणस्तरको चकलेट उत्पादन गरेर विदेश निर्यात गर्ने तर्फ बढ्न आग्रह गरे ।  

भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले कृषिको व्यवसायिकता अभिवृद्धि गर्न ध्यान दिनुपर्ने बताए ‘हाम्रो कृषि जीविका चलाउने भन्दा माथी उठ्न सकेको छैन’, उनले भने, ‘कृषि सम्वन्धित उद्योग स्थापना गरी व्यवसायिक अभिवृद्धि तर्फ जानुपर्छ जसको सुरुवात भएको छ ।’

उद्योग उद्घाटनका क्रममा नेकपाका केन्द्रीय सदस्य गुरुप्रसाद बरालले जतुवाले ग्वाला बाहुल्य क्षेत्र भएको र उसले पहिना स्थापित गर्न डेरी उद्योग सुरु गरेको भन्दै प्रशंशा गरे । उनले उद्योग स्थापनासँगै प्रत्येक घरले ४० लिटर दूध कसरी उत्पादन गर्ने भन्ने योजना बनाएर अघि बढ्नु पर्ने बताए । उनले पशुपालनलाई सफल बनाउन पशुदाना उत्पादन र प्रवद्र्धन गर्नुपर्ने बताए ।

भूमिव्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयका सचिव डा. विमलकुमार निर्मलले प्रदेश १ मा धानपछि दूधकै उत्पादन राम्रो रहेको बताए । उनले उत्पादनले बजार खोज्ने नभई बजारले उत्पादन खोज्ने अवस्था बनाउनु पर्नेमा जोड दिए । उनले दूधमा एन्टिबायोटिक समस्याको रुपमा रहेको भन्दै त्यसलाई निराकरण गर्न किसानहरुले नै घोषणा गर्नुपर्ने बताए । एन्टिबायोटिकले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेकोले सरकारले त्यसलाई रोक्ने तर्फ काम गर्ने बताए ।

कार्यक्रममा शुभारम्भ डेरीका सञ्चालक तथा नेपाल डेरी संघका उपाध्यक्ष राजन दाहालले नेपालमा दूध उत्पादन र बजारको सम्भावना राम्रो रहेको बताए । उनले अनुदान कार्यक्रममा उत्पादक र प्रशोधनकर्ताहरुलाई छुट्टाछुट्टै रुपमा राख्नुपर्ने सुझाव दिएका छन् । उनले दूध उत्पादक किसानहरुलाई नै प्रशोधन उद्योग सञ्चालन गर्न दिँदा दुवै तर्फ असफल व्यहोर्नु पर्ने जोखिम रहने भन्दै ध्यान दिन आग्रह गरे । 

कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजालले उद्योगका सञ्चालक मनोज यादव डेरी क्षेत्रमा लामो अनुभव भएका, दक्ष प्राविधिक समेत भएको र उद्योगले सबै मापदण्ड पुरा गरेकोले स्वच्छ दूध उत्पादन हुने विश्वास व्यक्त गरे । त्यस्तै समाजसेवी तथा उद्योगी दिनवन्धु गोयलले सरकारले कृषिमा आधारित उद्योगहरुलाई प्रवद्र्धन गर्न अनुदान कार्यक्रममा सहभागी गराउन आग्रह गरे । कार्यक्रममा प्रदेशसभा सदस्य तथा समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवले जतुवाले आफ्नो परिचय बदलेको बताए । उद्योगमा मनोज यादव, अनुज यादव र प्रेम राठीको मुख्य लगानी रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर