• २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024

कोरोनाको मानवशास्त्र : 'सामाजिक दुरी कायम नगरौं'

सामाजिक दुरी कायम राख्नु पर्ने ! नोबेल कोरोना भाइरस (कोभिड–१९)सँगै व्यापकता पाएको शब्द । यसको अर्थले समाजको दुरी बढाउने कामले झन् नकारात्मक सन्देश दिन्छ । यस्ता महामारीमा सामाजिक नभई शारिरिक दुरी कायम राख्नु पर्ने देखिन्छ । जब, सामाजिक दुरी कायम राखेपछि हामी सामाजिक प्राणीबीच एक एर्कामा हेर्ने दृष्टिकोण, भावना, आत्मियतामा टाढिदैं जान्छ ।

दुरी कायम राख्नुपर्ने शारिरिक हो । सामाजिक दुरी कायम राख्ने भनेको अर्थ हुलमुल, भिडभाड, पाटी, भोज जस्तालाई व्यख्या गर्न खोजेको देखिन्छ । हामीले हेर्दा त्यो मात्रै सामाजिक संरचना होइन् । आ–आफ्नो घरभित्र बसेर, लामो समयदेखि समय दिन नसकिएकाहरुले घरमा बसेर आफन्त, बालबच्चासँग झन् घुलमिल भएर सामाजिक सम्बन्धलाई बलिायो बनाउने काम गर्नुपर्छ ।

सामान्य मान्यतामा ‘मर्दापर्दा’ भन्ने चलनलाई सामाजिक दुरीसँग जोड्नु पर्छ भन्ने एउटा पाटो होला । तर, अहिले यो भूमण्डलीकरणको अवस्थामा विश्वलाई एउटा ईन्टरनेटले जोडिदिएको छ । अहिले हामी जहाँ, जस्तो अवस्थामा भए पनि आ–आफ्ना दुःख, सुख ईन्टरनेट, टेलिफोनको माध्यमबाट व्यक्त गर्न सकिरहेका छौं । लकडाउनका बेला हामी सबै घरभित्र छौं । यहीबेला आफ्नो छरछिमेक, ईष्टमित्रसँग मोबाईल सामाजिक सञ्जालबाट झन् सामाजिक सम्बन्धलाई गहिरोसँग गाँस्नुपर्छ । अहिले भनिएको सामाजिक दुरी कायम राखौं भन्दा त छरछिमेकको हालखबर समेत थाहा नपाउने स्थिति आउन सक्छ ।

शारिरिक दुरी कायम गर्नुपर्छ किन भनिएको हो भने, मानौं एउटा छिमेकमा कसैलाई ज्वरो आयो । त्यो ज्वरो आएको मान्छेलाई कोरोना भाइरस संक्रमणको आशंका गरियो । उसको स्वाबको रिपोर्ट गराउने पहिलो काम हो । जसलाई ज्वरो आएको छ, उसले मलाई ज्वारो आएको छ, मेरो छेउमा नआउनुस् भन्ने र हामी उसको छेउमा नजाने हो । यो सकारात्मक भावनाले शारिरिक दुरी कायम राख्ने हो । यदि संक्रमित छ भने उसलाई समाजबाट झन् टाढा राख्ने होइन । यसो गर्दा दुबै सुरक्षित हुने अवस्था आउँछ । अहिले गर्नुपर्ने यही हो ।

तर, यहाँ सामाजिक दुरी कायमको नाममा विदेशबाट आएकाहरु १४ दिन क्वारेन्टाइनमा बस्दा समेत असामाजिक जस्तो व्यवहार गरियो । उनीहरुसँग शारिरिक दुरी कायम राखे पुग्ने ठाउँमा सामाजिक दुरी कायम राख्ने भनेर छिछि र दुरदुरको वातावरण बनाईयो । यो किन भएको हो भने हामीले सामाजिक दुरी कायम राख्नेको प्रचार गर्यौं । शारिरिक दुरी कायम राखे पुग्छ भन्ने ज्ञान बारे भनिएन । सामाजिक दुरी कायम राख्ने नाममा अहिले संक्रमित व्यक्तिको परिवारले पींडा भोगिरहनु परेको छ । 

– सामाजिक दुरीले समाजबीच खाड्ल बढाउँछ, सामाजिक दुरी बढाउने होईन ।
–  विदेशबाट आएकाहरु १४ दिन क्वारेन्टाइनमा बस्दा समेत छिछि र दुरदुर गरेर असामाजिक जस्तो व्यवहार गरियो ।
– नेपाल आफैं ‘आइसोलेशन’मा छ ।
– बढि स्वतन्त्रतामा रमाउने अमेरिका जस्ता देशले चाहेर पनि हाम्रो जस्तो लकडाउन गर्न सक्दैन । 
– नेपालमा अन्तर्राष्ट्रिय उडान र सीमा नियन्त्रण बेलैमा गरेको भए जिरोमा राख्न सकिने रहेछ ।


जति अहिले संक्रमित छन् उनीहरुको मानोबल उच्च राख्न सामाजिक दुरी होइन सम्बन्ध कायम गर्ने अवस्था हो । उसका साथी–भाइ, छरछिमेक आफन्त सबैले संक्रमितलाई छिट्टै सन्चो हुँदै छौं भनेर ढुक्क बनाउनुपर्छ । यो सामाजिक संस्कार पनि हो । संक्रमणले झन् दुखी छ, त्यसैमाथि सामाजिक दुरी कायम राख्दा उसको मनबोल घट्छ । मात्र संक्रमितसँग शारिरिक दुरी भने कायम राख्नुपर्छ । उसलाई मनबोल दिन फोन, सामाजिक सञ्जालबाट प्रत्यक्ष कुराकानी गरेर झन् मनोबल उच्च गराई राख्नुपर्छ ।

भिड्भाडमा नजाने, नगर्ने, भोज पाटी, आमसभा, फिल्म हल, क्लबहरुमा जान हुँदैन भनिएको । भिड्भाड कम गराउनुपर्ने राज्यको उर्दी ठीक हो । भोज, पाटी, क्लब, फिल्म हल जस्ता सामाजका अतिरिक्त क्रियाकलाप हुन । त्यसैले यीसँगै जोडेर सामाजिक दुरी कायम गरौं भन्ने अर्थले समाजमा झन् खाडल बढ्न सक्छ । 
.......
नेपाल आइसोलेशन जोन

अहिलेसम्म नेपालमा संक्रमित किन कम ? भनेर कतिपयले प्रश्न गरेको पाइन्छ । जहाँ जनघन्त्व अत्याधिक छ, जहाँ विश्वभरका मान्छेहरुको ओहोरदोहोर बढि छ त्यहीँ कोभिड–१९ महामारीको संक्रमण फैलिएको छ । विकसित देशको तुलनामा हामी एकदमै कम ओहोरदोहोर हुने मुलुकमै पर्छौं । अर्थात् हामी यसै ‘आइसोलेशन’मा छौं । यसको प्रत्यक्ष परिणामा नेपालमा कोभिड–१९ को संक्रमित कम देखिनु हो । 

यो महामारीको भाइरस नेपालमा उत्पत्ति भएको भए हामी बाँकी रहने थिएनौं । यो भाइरस आयतित् हो । अहिलेसम्म एक जना बाहेक सबै विदेशबाट आएकाहरुलाई मात्र संक्रमण देखिएको छ । स्थानीयमा देखिएपछि यसलाई दोस्रो चरण भनिएको छ । हामीले अन्तर्राष्ट्रिय उडानहरु र सीमा क्षेत्र बेलैमा रोक्न सकेको भए जिरोमा राख्न सकिने रहेछ भन्ने आजसम्मको तथ्यले देखाउँछ ।

जस्तो इटली, स्पेन हुँदै अहिले अमेरिका कोभिड–१९ संक्रमितको केन्द्र बनेको छ । यी मुलुकहरु सबै भन्दा बढि विश्वभरका मान्छेहरु आवतजावत गर्ने थलो हुन । त्यसमाथि उनीहरु बढि स्वतन्त्रता चाहन्छन् । रोक्छु भनेर पनि उनीहरु चीन, भारत, नेपाललगायत देशमा जस्तो सक्दैनन् । बुझेर या नबुझेर नेपाल, भारत लागयत देशमा लकडाउनमा मान्छे बाहिर निस्केका छैनन् । अमेरिकाले लकडाउन गरे पनि धेरै राज्यहरुमा रोक्न सक्दैन । उनीहरु बढि स्वतन्त्रता चाहाने भएकाले । केही समय घरभित्रै बसेपछि संक्रमण कम हुन्छ र कोरोनालाई जित्छौं भन्ने मनोविज्ञानले हामीलाई काम गरेको छ । 

बढि रोजगारमा जाने जनशक्ति बाहेक नेपालमा विश्वभरका मान्छे आउजाउ एकदम कम हो । यो महामारीको भाइरस नेपालमा उत्पत्ति भएको भए हामी बाँकी रहने थिएनौं । यो भाइरस आयतित् हो । अहिलेसम्म एक जना बाहेक सबै विदेशबाट आएकाहरुलाई मात्र संक्रमण देखिएको छ । स्थानीयमा देखिएपछि यसलाई दोस्रो चरण भनिएको छ । हामीले अन्तर्राष्ट्रिय उडानहरु र सीमा क्षेत्र बेलैमा रोक्न सकेको भए जिरोमा राख्न सकिने रहेछ भन्ने आजसम्मको तथ्यले देखाउँछ ।

त्योसँगै हामी आ–आफ्ना टोल छिमेकमा स–साना घेरामै बसोबास गरिरहेका छौं । नुन बाहेक अन्य खाद्यन्य, तरकारी स्थानीय तहमा उत्पादनमा बढि जोड दिन्छौं । यसले पनि हामीलाई काम गरेको छ । मान्छेलाई के परेको छ भने शहर बजारमा जति जनघन्त्व छ, यहाँ पाइने खाद्यन्न, तरकारी, फलफूलमा विषादी छ भन्ने परेको छ । अहिले गाउँमा मान्छेहरु किन गए ? कम्तिमा हामीले गाउँमा खाने फलफूल खाद्यन्न अग्र्यानिक छ भन्ने बुझाई छ । जसको प्रयोगले रोगसँग लड्ने क्षमता (इम्युनिटी पावर) बलियो हुन्छ भन्ने हो । 

जे जति भनिए पनि गाउँमा अझै ६०/७० प्रतिशत अग्र्यानिक तरीकारी, खाद्यन्नले जिविकोपार्जन चलाएका छन् । यसैका कारण हामीमा रोगसँग लड्ने क्षमता बढि हुन सक्छ भन्ने हो । यो वैज्ञानिक आधारमा विस्तृत अध्ययनबाट निस्केका तथ्य त होईन । तर, यसमा केही न केही सत्यता छ । केही विज्ञहरुले यसको तर्क समेत गरिरहेका छन् । 

हाम्रो मुख्य स्रोत बन जंगल नै हो । जुन ठाउँमा पुर्खाहरुले जसरी आफ्नो जीवनशैली चलाए त्यसैलाई हामीले पछ्याउदै आएका छौं । यो जीवनशैलीमा रहेका हामी कोभिड–१९को भाइरस जस्तो यहाँका आदिवासीबाट शुरु भएको भए एउटा पुस्ता पुरै सखाप पर्ने अवस्था आउँथ्यो । हाम्रो जस्तो साधन स्रोत कम भएको मुलुकमा । माथि भनिए झैं, नेपाल एक आफैंमा आइसोलेशनमा छ । त्योसँगै हाम्रो भौगोलिक अबस्था र त्यहाँको जीवनशैलीले गर्दा संक्रमण कम देखिएको छ । 

जस्तो हुम्ला, जुम्ला सधैं आइसोलेशनमै छ । काठमाडौंदेखि नजिकै मानिने रोसबाङ, ओरबाङका चेपाङ बस्ति आफैंमा आइसोलेशनमा छन् । त्यहाँ बाहिरका मान्छेको कमै ध्यान जान्छ । उनीहरु आफ्नो जीवनशैलीमा काम गरिरहेका छन् । बाहिरी समाजमा पनि त्यति घुलमिल गर्न आउँदैनन् । यी समग्र विषय औंल्याउँदा हामीले हात धुने, सरसफाई बस्ने कुराहरु त भए । त्यससँगै शारिरिक दुरी कायम राखेर सामाजिक दुरीको संरचना बलियो बनाउने दिशातिर अघि बढ्नुपर्छ ।

(मानवशास्त्री डा. राईसँग उजिर मगरले कुराकानीको आधारमा तयार पारेको लेख ।)

याे पनि :

कोरोनाको समाजशास्त्रः मानव जगतका लागि 'अनुशासित दण्ड' !

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर