• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

देवघाट क्षेत्र विकास समितिको जग्गा कसले गर्यो बिक्रि ? कसरी बने पूर्वप्रधानन्यायाधिश र पूर्वमन्त्रीका महल ?

चितवन । देवघाट क्षेत्रमा संरक्षण गरेर राखिएका सरकारी जग्गा किनबेच हुन थालेको छ । सरकारी जग्गा अनाधिकृत रुपमा किनबेच हुन थालेपछि देवघाट क्षेत्र विकास समितिले चिन्ता व्यक्त गर्दै छानविन थालेको छ । 

तत्कालिन राजा महेन्द्रले २०१८ सालमा मौखिक रुपमा भोगचलन गर्न दिएको पाँच बिगाह जग्गा संरक्षण गर्दै आएको विश्व शान्ति महायज्ञ नामको संस्थाले नै जग्गा किनबेच गर्दै आएको प्रमाण समाचार दैनिकले फेला पारेको छ । धार्मिक उद्देश्यले संरक्षण गरेर राखिएको सरकारी जग्गा संरक्षक संस्थाहरुबाटै किनबेच हुन थालेको खुलासा भएपछि क्षेत्र विकास कोषले आपत्ति जनाएको छ । 

यसरी अनाधिकृत रुपमा किनबेच भएका सरकारी जग्गामा पूर्वप्रधानन्यायाधिश देखि पूर्वमन्त्री तथा पूर्वसचिवहरुले अवैध पक्की महल बनाएका छन् ।

यस्तो छ किनबेचको श्रृङ्खला 
विगत ३० वर्षदेखि क्षेत्र विकास समितिको जग्गामा बसोबास गर्दै आएका थिए सन्तबहादुर गुरुङ । समितिको चितवनतर्फको एन आर एन वृद्धाश्रमको छेउमा रहेको जग्गामा उनी बसोबास गर्थे । सुकुम्बासीका रुपमा सो क्षेत्रमा बास खोज्दै आएका उनलाई सुरुमा समितिले सानो टहरो बनाएर बसोबास गर्ने व्यवस्था मिलाईदियो । 

तर, गत वैशाखदेखि भने उनले बसोबास गरेको वरपरको जग्गामा थप टहराहरु बन्न थाले । टहरा बन्न थालेपछि समितिले उनलाई पत्र काटेर नै टहरा नबनाउनका लागि अनुरोध गरेको थियो । 

त्यतिबेला सम्म सरकारी जग्गामा सुकुम्बासीको रुपमा प्रवेश गरेका सन्तबहादुरको संरक्षणमा पाँचवटा टहरा बनिसकेका थिए । सन्तबहादुरले समितिको निर्देशनलाई वेवास्ता गर्न थालेपछि उनीमाथि नै छानविन थाल्यो । उनले आफ्ना छोरी र भतिजहरुका लागि टहरा बनाउँदै गरेको प्रारम्भिक अनुसन्धानमा देखिएपछि समितिले ‘एक्सन’ लियो । क्षेत्र विकास समितिका सरोकारवालाहरुको भेला नै राखेर निर्माण कार्य रोक्न उनलाई पुनःनिर्देशन गरियो । 
............................

लहरो तान्दा पहरो आयो
सन्तबहादुरको अटेरिपछि समितिको छानविनका क्रममा उनी सुकुम्बासी नै नभएको खुलासा भयो । समितिका अनुसार उनले यसअघि नै सुटुक्क एक कठ्ठा जग्गा समेत बेचिसकेको पाईएको छ । विश्व शान्ति महायज्ञको रेखदेख गर्दै आएका गुरुङले कश्यप गोत्रीय अधिकारी समाजलाई १३ लाख ७५ हजारमा एक कठ्ठा जग्गा विक्री गरेको पाईएको हो । 

पूर्व प्रधानन्यायाधीशदेखि पूर्वमन्त्रीका महल 
चितवन तर्फको भू–भागमा  पूर्वप्रधानन्यायाधी दामोदर शर्मासहित पूर्वमन्त्री र सचिवहरुको कुटी र आश्रमका नाममा महलहरु बनेका छन् । क्षेत्र विकास समितिका अनुसार २० वटाभन्दा बढी मठमन्दिर र ३ सय भन्दा बढी भवनहरु निर्माण भएका छन् । 

जसको कारण अहिले देवघाट क्षेत्र कंक्रिट शहरको रुपमा विकसित हुन थालेको छ । पहुँचका आधारमा क्षेत्र विकास समितिको जग्गा किनबेचको  श्रङ्खला सुरु भएसँगै यहाँ महलहरु बन्न थालेको समितिले जनाएको छ । 

सरकारले यो क्षेत्रको संरक्षणका लागि अतिक्रमण रोक्न नीतिगत रुपमा अघि बढ्नपर्ने समितिको भनाई छ ।  

यस्तो छ जग्गाको इतिहास
राजा महेन्द्र विस। २०१८ सालमा बागेश्वरी दरबार आउँदा रुद्री, पुजा, होम आदी गर्नका लागि विश्व शान्ति महायज्ञलाई केही सरकारी जग्गा मौखिक रुपमा भोगचलन गर्न हस्तान्तरण गरेका थिए । सो जग्गा प्रवचनले नै संरक्षण गर्दै आइरहेको थियो । विश्व शान्ति महायज्ञको संरक्षणमा रहेको पाँच बिगाहमध्ये २ बिगाह क्षेत्र विकास समितिले ०५७ सालमा आफ्नो अधिनमा लियो । 

बाँकी रहेको तीन बिगाह जग्गामा त्यहीँ सुकुम्बासी भनेर बसेकाहरुले अनाधिकृत रुपमा विक्रि वितरण गर्दै आएका हुन् । विश्व शान्ति महायज्ञले होम होमाधि र मन्दिर संचालनका लागि समस्या भएको बताउँदै जग्गाहरु विक्रि वितरण गर्न थालेपछि क्षेत्र विकास समितिले गम्भिर आपत्ति जनाएको छ ।

प्रवचनले विभिन्न संघ संस्थालाई उक्त जग्गा विक्रि वितरण गरेको पाइएको हो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल मठ मन्दिर र आश्रमलाई दस्तुर बुझाएरै सामाजिक वैधानिकता दिएपपछि किनबेचको कार्य गलत भएको बताउँछन् । 

समाचार दैनिकसँग पौडेलले भने,‘जुन संघ–संस्थालाई जुन उद्देश्यले जग्गा दिइएको हो, सोही प्रयोजनका लागि मात्र जग्गा प्रयोग हुनुपर्ने थियो । तर, यहाँ अघोषित रुपमा नै जग्गा किनबेच हुन थालेपछि यसले देवघाट क्षेत्रलाई ठूलो हानी पुर्याएको छ ।’

देवघाट क्षेत्रमा भएको अतिक्रमण रोक्नका लागि सरकारले नीतिगत रुपमा निर्णय गर्नपर्ने उनको भनाई छ ।

विश्व शान्ति महायज्ञको नाममा रहेको तीन बिगाह जग्गामा अहिले कश्यप गाेत्रीय अधिकारी समाज, रामजानकी बालिका आश्रम, कोइराला समाज, दवाडी समाज र पोख्रेल समाजले भोगचलन गर्दै आएका छन् ।

जग्गा किनबेच भएकै होइन ?
विश्व शान्ति महायज्ञsf अध्यक्ष लक्ष्मण सुवेदी जग्गा किनबेच नभएको दावी गर्छन् । उता, क्षेत्र विकास समितिका सदस्यहरु समाचार दैनिकसँगको कुराकानीमा धार्मिक उद्देश्यको साथ जग्गा अतिक्रमण गर्दै महलहरु नै बन्न थालेको प्रमाण पेश गर्छन् । 

विश्व शान्ति महायज्ञका अध्यक्ष सुवेदीका अनुसार कुनैपनि संघ संस्थालाई नदिई आपसी समझदारीमा नै भोगचलन गरिइरहेको हो ।

यता, सोही जग्गा भोगचलन गर्दै आएका अधिकारी समाजका महासचिव युवराज अधिकारी भने आफूहरुले पैसा हालेरै जग्गा किनेको बताए । 

समाचार दैनिकसँगको कुराकानीमा अधिकारीले विश्व शान्ति माहायज्ञसँग दोहोरो सम्झौता गरेर पन्ध्र लाखमा पाँच कठ्ठा जग्गा लिएको बतााए ।

क्षेत्र विकास समितिको जग्गा पहुँचका आधारमा दिनानुदिन अतिक्रमण बढेको भन्दै समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले मठमन्दिर, आश्रम, कुटी र कल्पवासका नाममा जग्गा अतिक्रमण हुन नुहने बताए । क्षेत्र विकास समितिको स्वामित्वमा रहेको ५४ सय ३४ हेक्टर भाैगाैलीक क्षेत्रमध्ये चितवनतर्फ करिब २७ बिगाह जमिन रहेको जानकारहरु बताउँछन् । 

विश्व शान्ति महायज्ञले यस भन्दा अघि पनि थुप्रै जग्गाहरु विभिन्न संघ संस्थालाई बिक्री गरेको भन्दै क्षेत्र बिकास समितिले आपति जनाएको छ । सरकारी जग्गा क–कसले किनेका हुन् ? कसरी भयो बिक्रि ? थप सामाग्री अर्को समाचारमा.....

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर