बागमती प्रदेश : यस्ता छन् सामाजिक विकास मन्त्रालयका 'लोकप्रिय' कार्यक्रम
‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई सबै स्थानीय तहका थप दुई/दुई विद्यालयमा थप गरिने’
काठमाडौं । बागमती प्रदेशले कोभिड–१९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका लागि सबै जिल्लाका अस्पतालहरुको विस्तार गर्ने भएको छ । आइतबार बागमती प्रदेशसभामा प्रस्तुत भएको बजेटमा प्रदेश अस्पताल नभएका जिल्ला मध्येका ४ जिल्लाका अस्पतालालाई प्रदेश अस्पतालको रुपमा विकास गर्नेगरी बजेट प्रस्तुत गरिएको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका आगामी वर्षका कार्यक्रमहरुमा दोलखाको चरिकोट, काभ्रेको मथिनकोट, ललितपुरको बज्र बाराही र चितवनको रत्ननगर अस्पताललाई प्रदेश अस्पतालको रुपमा विकास गरिनेगरी कार्यक्रम बजेटमा समावेश भएको छ । मन्त्रालयका अनुसार क्यान्सर पीडितलाई सरकारले अहिलेसम्म दिँदै आएको १ लाख सहायतामा पनि थप गरेको छ । ‘क्यान्सर पीडितलाई सरकारले दिँदै आएको १ लाख सहायता रकममा ५० हजार थप दिइने भएको छ ।’ मन्त्रालयले भनेको छ ।
सामाजिक विकास मन्त्री युवराज दुलालको पहलमा सबै जिल्लामा डायलासिस सेवा संचालन गरिने भएको छ । प्रदेशका सबै निर्वाचन क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय तहका थप २१ वटा स्वास्थ्य संस्थाबाट अस्पताल संचालन गर्ने कार्यक्रम पनि मन्त्रालयले बजेटमा समावेश गर्न सफल भएको छ ।
विश्व नै कोभिड १९ को महामारीबाट आक्रान्त भइरहेको समयमा मन्त्रालयले त्यसको मध्यनजर गर्दै सन्तुलित बजेट प्रस्तुत गरेको छ । त्यस्तै, आमा, बुवा दुबै नभएका बालबालिकालाई मासिक २ हजार सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मन्त्रालयले बजेटमा मिलाएको छ ।
‘एक विद्यालय, एक नर्स’
बागमती प्रदेशका सामाजिक विकास मन्त्री दुलालले अघि सारेको लोकप्रिय कार्यक्रम ‘एक विद्यालय, एक नर्स’ पनि बजेटको प्राथमिकतामा परेको छ । मन्त्रालयले अघि सारेको यो कार्यक्रम अहिले प्रदेशका १ सय २१ विद्यालयहरुमा संचालनमा छ ।
अब प्रदेशका ३ सय ५९ वटा माध्यमिक विद्यालयमा नर्स सेवा संचालन गरिने भएको छ । सो कार्यक्रमलाई सबै स्थानिय तहका थप दुई/दुई विद्यालयमा थप गरिने भएको छ । सो प्रयोजनका लागि २० करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
सामुदायिक विद्यालयहरुको पूर्वाधार विकासमा ४४ करोड ८७ लाख रुपैयाँ बजेट राखिएको छ ।
याे पनि :
‘एक विद्यालय, एक नर्स’ : कार्यक्रम एक, लाभ अनेक
त्यस्तै, भरतपुर, सिन्धुली र त्रिशुली अस्पताललाई १ सय शैय्या क्षमतामा स्तरोन्नतिको कार्यक्रम समेत बजेटमा समेटिएको छ । कोभिड १९ को उपचारमा उपकरण खरीद गर्न १२ करोड बजेट राखिएको छ । त्यस्तै, सामाजिक क्षेत्रमा खोजमुलक पत्रकारिता गर्ने महिला पत्रकारको वृत्तिविकासमा समेत प्रदेशले बजेट विनियोजन गरेको छ ।
युवा वैज्ञानिक उत्पादन गर्न कोष : सरकारले नयाँ ज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र व्यवसायिक उपयोगको नीति लिइएको छ ।
हेर्नुस पूर्णपाठ:
प्रतिकृया दिनुहोस