• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

माछापुच्छ्रेको काखमा बाँचिरहेको जेठोबुढो धान

पोखरा र आसपासका किसानहरुले परापूर्वकालदेखि लगाउँदै आएको जेठोबुढोे बढ्दो शहरीकरणको कारण संकटमा पर्दै गए पनि यसप्रतिको आकर्षण भने घटेको छैन । काठमाडौं वा अन्यत्र बसे पनि पोखराबाटै जेठोबुढोे चामल मगाएर खानेहरुको संख्या पनि कमी छैन । 

पोखरा । एक रोपनी क्षेत्रफलमा २ क्विन्टलसम्म उत्पादन हुने जेठोबुढोेको भात मसिनो र मीठो मात्र हुँदैन पराल पनि राम्रो हुन्छ । धानको बजार मूल्य उच्च रहेकाले जेठोबुढोे धानप्रति किसानहरुको आकर्षण कायमै छ । अहिले पोखराको बजारमा एक किलोग्राम जेठोबुढोेको मूल्य १ सय ६५ रुपैयाँको हाराहारीमा रहेको छ । यो भारतबाट आउने अन्य बास्नादार चामलको भन्दा बढी हो । 

कर्णालीबासीलाई मार्सीको र पोखरेलीलाई जेठोबुढोेको महत्व थाहा छ । मगमग बास्ना आउने, लामो सिता भएको र खाँदा नरम हुने जेठोबुढोे पोखरेलीको पहिलो रोजाईको चामल हो । ६ सयदेखि ९ सय मिटरसम्मको उचाईमा खेती हुने यो धान चिसो पानीमा राम्रो हुन्छ ।

पोखरा र आसपासका किसानहरुले परापूर्वकालदेखि लगाउँदै आएको जेठोबुढोे बढ्दो शहरीकरणको कारण संकटमा पर्दै गए पनि यसप्रतिको आकर्षण भने घटेको छैन । काठमाडौं वा अन्यत्र बसे पनि पोखराबाटै जेठोबुढोे चामल मगाएर खानेहरुको संख्या पनि कमी छैन । 

जेठोबुढोेप्रतिको यही आकर्षणलाई ध्यानमा राखेर स्थानीय धानका जात संरक्षणमा जुटेको जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) नामक संस्थाले यो धान संरक्षण अभियान नै चलायो । लि–बर्डकै पहलमा पोखरेली जेठोबुढोे बाली विज्ञान प्रयोगशालामा दर्ता पनि गरियो । लि–बर्डका कार्यक्रम अधिकृत राजिव ढकालको प्रतिवेदन अनुसार सन् २००४ मा बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रमा दर्ता भएको हो । पोखरेली जेठोबुढोेको बीउको सुधार पनि लि–बर्डले नै गरेको हो । 

‘उत्पादन बढी हुने र खाद्यान्नमा आत्मनिर्भरका लागि नयाँ बीउ लगाउनैपर्छ’, लि–बर्डका काईक्रम अधिकृत राजिव ढकालले भने– ‘हाइब्रिड बीउको प्रयोगले स्थानीय जातहरु हराउनु स्वभाविक हो, तर जेठोबुढोेको आकर्षण भने उस्तै छ ।’ अहिले यताका किसानहरुले सुधारिएको पोखरेली जेठोबुढोे लगाउने गरेको उनको भनाई रहेको छ । अरु धानको भन्दा बढी मूल्य पाउने भएकाले पनि जेठोबुढोे नमासिएको उनले तर्क गरे । 

लि–बर्डले पोखरेली जेठोबुढोेजस्तै अरु धानहरु पनि दर्ता गरेर बीउ उत्पादनमा काम गरिरहेको छ । लि–बर्डकै अगुवाईमा गठित किसान समूहहरुले ६२ खाद्य बालीका एकहजार १७ स्थानीय जातको संरक्षण गरेका छन् । सहभागितामूलक बाली प्रजनन समूहका अध्यक्ष सूर्यप्रसाद अधिकारीका अनुसार विभिन्न क्षेत्रका सातहजार ५२ घरधुरीलाई उन्नत तथा स्थानीय जातको बीउ उपलब्ध गराइँदै आएकोे छ ।

गत वर्ष बीउ बैंकमार्फत किसानले १८७ टन बीउ उत्पादन गरेर बिक्री गरेका थिए । उनका अनुसार अरु धानका बीउहरु संरक्षणकै लागि उत्पादन गरिए पनि यताका फाँटहरुमा जेठोबुढोे रोप्नेहरुको भने कमी छैन । 

‘हामी बेच्नेभन्दा पनि आफैंले खानको लागि मात्र भए पनि जेठोबुढोे लगाउँछौं’, उनले एक कार्यक्रममा भनेका थिए– ‘गुन्द्री बुन्ने पराल पनि जेठोबुढोेकै राम्रो हुन्छ ।’ किसानहरुले जेठोबुढोे रोप्न नछाडे पनि कति उत्पादन हुन्छ भन्ने लेखाजोखा भने नगरिएको उनले बताए ।

पोखरा महानगरपाकिाले पनि जेठोबुढोे धान संरक्षणको लागि कार्यक्रम नै बनाएको छ । महानगरले जेठोबुढोे रोप्ने किसानलाई अनुदान दिंदै आएको महानगरका कृषि शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।  

लि–बर्डको लागि २०७३ सालमा ईन्द्र पौडेल, दीपक उपाध्याय, लाक्पा शेर्पा, राजिव ढकाल र अरुणा पराजुलीले गरेको एक अध्ययन अनुसार ‘भ्यालु चेन’मा जोडिने जातहरुप्रति किसानहरुको आकर्षण कायमै रहे पनि बढी उत्पादन खोज्दा रैथाने जातहरु हराउन थालेको औंल्याएको थियो । हराउन थालेका जातहरुको बीउमात्र भए पनि संरक्षण गर्नको लागि लि–बर्डले स्थानीयको सहयोगमा केही धानको बीउ उत्पादन र संरक्षण कार्यक्रम अगाडि सारेको हो । 

संरक्षणको पहल हुँदै गर्दा पनि यो क्षेत्रमा करिब डेढ दशक अघिसम्म प्रचलनमा आएका समुद्र फिङ्जा, नाभो, आँगा, बले, कृष्णभोग, जिरासरी र फल्याङकोटे धानका जात हराएका छन् । नयाँ जातका धानको आगमनसँगै परम्परागत रुपमा रोपिने पोखरेली मसिनो (पहेँले), मनसरा, ठिमाहा, ताकमारे, खोलेमार्सी, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्लेजस्ता धान विस्थापित हुने अवस्थामा पुगेको लि–बर्डले जनाएको छ । 

कम उचाईमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेँले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, विमरफुल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदीलगायतका धान पनि पछिल्लो समय विस्थापित भइसकेका छन् । पछिल्ला समयमा कास्कीमा सुधारिएको जेठोबुढोे, खुमल, राधा सात, राधा नौ, सावित्री, मनसुली, पहेँले जस्ता धान धेरै मात्रामा रोप्ने गरिएको छ ।

बाली विकास निर्देशनालयले २०२४ सालमा नेपालमै पहिलो पटक हाइब्रिड जातको धान लगाउन किसानहरुलाई सिफारिस गरेको थियो । त्यो बेला ताइचुङ–१७६ मध्य पहाड र चाइचुङ २४२ जातको धान पहाडी क्षेत्रको लागि सिफारिस गरिएको थियो । दुबै जातहरु विदेशी धानसँग हाइब्रिड गरिएका थिए । नेपाली रैथाने उत्पादनसँग हाइब्रिड गरिएका जातहरु भने हालसम्म खासै प्रयोगमा आउन सकेका छैनन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार कास्की वर्षेनी करिब २६ हजार मेट्रिक टन खाद्यान्न बाहिरबाट आयात गर्छ । कास्की उब्जाउमा अब्बल नै भए पनि पछिल्लो समयमा खेतियोग्य  जग्गामा हुँदै आएको प्लटिङ र जग्गा बाँझो राख्ने प्रवृत्तिका कारण समस्या झन जटिल बन्दै गएको छ ।

उनका अनुसार कास्कीमा २६ हजार ५ सय हेक्टर जमिनमा मात्र खेती गरिएको तथ्याङ्क रहेको छ । कास्कीमा ४८ हजार ६ सय ३३  हेक्टर जमिन खेतपातिको लागि उपर्युक्त रहे पनि गाउँहरु खाली हुँदै गर्दा बाँझो राख्ने प्रक्रिया बढ्दै गएको छ । नेपालमा धान खेतीले कृषिको कुल ग्राहस्थ्य उत्पादनमा २१ प्रतिशत योगदान दिंदै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर