प्रदेश २ : १५ प्रतिशत धान रोपाईं सम्पन्न, बजारमा मल अभाव, किसान चिन्तित [फोटोफिचर]

जनकपुरधाम । धान नेपालको अर्थतन्त्रको मुख्य आधार रहेको छ । कोरोना संक्रमणका कारण अर्थतन्त्र थला परेको समयमा धान उत्पादनले सहारा प्रदान गर्ला अपेक्षा गरिएको छ ।

यसवर्ष समयमै पानी परेकोले धान उत्पादन पनि राम्रो हुने अनुमान गरिएको छ । नेपालमा प्रत्येक वर्ष असार १५ गते धानलाई केन्द्र बनाएर राष्ट्रिय धान दिवस मनाइदै आएको छ । यस वर्ष पनि देशैभरी ‘धान उत्पादनमा वृद्धि, आत्म निर्भरता र समृद्धि’ मूल नाराका साथ १७औँ धान दिवस मनाइदै छ । 

१७औँ धान दिवसको अवसरमा प्रदेश दुईका मन्त्रीहरुदेखि विभिन्न पालिकाका प्रमुखहरु खेत खेतमै पुगेर धान रोपेर धान रोपाईको शुभारम्भ गरे । 

देशको कुल ग्राहस्थ्य उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको छ । देशै भरी धान उत्पादन भएपनि सबैभन्दा बढी धान उत्पादन प्रदेश २मा हुुँदै आएको छ । नेपालमा हुुने कुल धान उत्पादनको ४० प्रतिशत उत्पादन मात्रै प्रदेश दुुईमा हुँदै आएको कृषि मन्त्रालयको तथ्यांक रहेको छ । पछिल्लो वर्ष प्रदेश दुुईमा १४ लाख २० हजार ४ सय ३६ टन धान उत्पान भएको थियो ।  

देशभरी राष्ट्रिय धान दिवस मनाई रहँदा प्रदेश दुईमा अहिलेसम्म १५।४ प्रतिशत धान रोपाई भएको प्रदेश दुुईको भूमि व्यवस्था कृषि तथा ससहकारी मन्त्रालयले जनाएको छ । प्रदेश दुईमा ४ लाख १ हजार ९ सय ६ हेक्टर खेती योग्य जग्गा रहेकोमध्ये अहिलेसम्म प्रदेश दुईमा ६१ हजार ९ सय २० हेक्टर जग्गामा धान रोपाई भएको प्रदेश दुुईको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकार अविनाश झालले जानकारी दिए ।

मन्त्रालयका अनुसार प्रदेश दुईमा अहिलेसम्म पर्सा जिल्लामा धान रोपाईं भएको छ । कुल ४६ हजार ६ सय ९७ हेक्टर जग्गामध्ये पर्सा जिल्लामा १३ हजार ८ सय हेक्टर जग्गामा धान रोपाई भएको छ । यो कुल खेती योग्य जग्गाको २९।६ प्रतिशत रहेको छ । 

त्यस्तै सप्तरी जिल्लामा १३.४ प्रतिशत धान रोपाई भएको छ । सप्तरीमा कुल ५२ हजार २ सय ४१ हेक्टर जग्गा मध्ये ७ हजार हेक्टरमा धान रोपाई भएको सूचना अधिकारी झाले बताए । 

सिरहामा कुल ५० हजार १ सय ९७ हेक्टर खेती योग्य जग्गामा मध्ये ५ हजार अर्थात ८.५ प्रतिशत, धनुषामा कुुल ६३ हजार १ सय १२ हेक्टर जग्गामध्ये ५ हजार ४सय हेक्टर अर्थात ८.५ प्रतिशत, महोत्तरीमा कुुल ४० हजार १ सय २४ हेक्टर जग्गा मध्ये ५ हजार ६ सय २० हेक्टर अर्थात१४ प्रतिशत धान रोपाई रहेको मन्त्रालयले जनाएको छ । 

सर्लाही जिल्लामा कुल ४८ हजार ७ सय ६९ हेक्टर जग्गामध्ये ७ हजार २ सय अर्थात १४.७ प्रतिशत, रौतहटमा कुल ३९ हजार ५ सय १९ हेक्टर जग्गा मध्ये ७ हजार ७ सय अर्थात १९.५ प्रतिशत र बारा जिल्लामा कुुल ६१ हजार २ सय ४७ हेक्टर जग्गा मध्ये ११ हजार २ सय अर्थात १८.३ प्रतिशत धान रोपाई भएको मन्त्रालयले जनाएको छ । 

.............
किसानलाई मलको चिन्ता

यस वर्ष समयमै पानी परेकोले किसानहरु हर्षित छन् । धान उत्पादन राम्रो हुनेमा आशावादी समेत छन् । मौसमले यस वर्ष साथ दिएपनि किसानहरु मलको अभावमा  मर्कामा परेका छन् । प्रदेश दुईमा सिंचाईको अभाव रहेको समयमा जसो तसो धान रोपाई गर्दै आएका किसानहरुलाई खेतीपातीका लागि आवश्यक मलको अभावले पनि चिन्तित बनाएको छ । 

नगराईन नगरपालिका वडा नम्बर ५ गंगुलीका चन्दर महराले जसोतसो धान रोपे तर खेतीका लागि आवश्यक मलको चिन्ताले समेत पिरोलि रहेको छ । मलका लागि बारम्बार कृषि सामग्री कम्पनी लिमिटेड धनुषामा प्रत्ये वर्ष धाउँने गरेका छौँ महराले भने,  ‘मल नपाएर प्रत्येक वर्ष रित्तै हात फर्किन्छौँ, यस पटक पनि त्यसो नहोला भन्न सकिन्न ।’

खेतमा धान रोपेलगत्तै डीएपी मल आवश्यक पर्छ तर प्रत्येक वर्ष ‘डीएपी पाउने आशामा साल्ट्र ट्रेडिङ र कृषि सामग्रीमा धाउने गरेका छौँ तर प्रत्येक वर्ष रित्तै हात फर्किनु परेको’ किसान उपेन्द्र साहले भने ।, अहिले बजारमा पनि मल नरहेको उनको गुनासो छ । मौसमले साथ दिएपनि समयमा मल हाल्न नपाए यस वर्ष पनि उत्पादन घट्न सक्ने चिन्ता उनको छ । 

गत वर्ष पनि धानको सिजनमा डीएपी नपाएका किसानहरूले यस वर्ष पनि आवश्यक परेको बेला जिल्लामा मल पाउने वा भारतीय बजारबाटै ल्याउनु पर्ने दोधारमा छन् । यस वर्ष कोरोना संक्रमणको कारण नाकामा पनि कडाई छ । 

यहाँ मल नपाएमा कहाँबाट मल ल्याउने किसान चन्दर महराको प्रश्न छ । उनी भन्छन,  ‘प्रत्येक वर्ष ४ विघा धान उत्पादन गर्दै आएको छु, तर मलको लागि प्रत्येक वर्ष परेशान हुुनु पर्छ, यस वर्ष पनि भारतीय बजारको भर पर्नु पर्ने समस्या देखिएको छ ।’

मल खाद्यको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गर्दै आएको छ । आपूर्तीको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङ्गको रहेपनि किसानहरु सहज रुपमा कुनै वर्ष मल नपाउने गरेको किसानहरुको गुनासो छ ।

 

सबै तस्बिरहरू : जयन्त ठाकुर, जनकपुरधाम

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर