• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नेपाल वायुसेवा निगमको बोर्डमा यती समूहका सञ्चालक नियुक्त 

काठमाडौं । अव्यवस्था र ऋणले थला परेको नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा सरकारले यती समूहका व्यक्तिलाई नियुक्त गरेको छ । आन्तरिक रूपमा यती एयर र अन्तर्राष्ट्रिय उडानमा हिमालय एयरको रूपमा प्रतिस्पर्धा गरिरहेको कम्पनीकै प्रतिनिधिलाई नै निगमको बोर्डमा नियुक्त गरेको छ । 

नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा नियुक्त फुर्वाग्याल्जेन शेर्पा यती समूहबाट सञ्चालित हेलिकोप्टर कम्पनी अल्टिच्युड एयरका अध्यक्ष हुन । शेर्पासँगै सरकारले अर्का व्यवसायी डिमप्रकाश पौडेललाई पनि बोर्डमा लगेको छ । 

ऋणमा डुब्दै आएको संस्थालाई उद्धार गर्नेभन्दा पनि निगमलाई कसरी कमजोर बनाउने भन्ने षड्यन्त्र हुँदै आएकोमा निगमकै कर्मचारी चिन्तित छन् । ‘एउटै क्षेत्रको प्रतिस्पर्धी कम्पनीको सञ्चालकलाई सार्वजनिक संस्थानको सञ्चालक समितिमा राख्नु ठूलो भ्रष्टाचार हो, सरकारको लगानीमा चलेको निगम डुबाउने खेल हो,’ निगमका एक अधिकारीले भने, ‘निगमको साख दाउमा राखेर यतीका प्रतिनिधिलाई बोर्डमा राख्ने खेल हुँदै आएको छ, यसअघि पनि यही सरकारले अल्टिच्युट एयरकै प्रबन्ध–निर्देशक निमानुरु शेर्पालाई बोर्डमा नियुक्त गरेको थियो ।’ यती समूहको आन्तरिकतर्फ यती एयरलाइन्स, तारा एयर र अन्तर्राष्ट्रियतर्फ हिमालय एयरलाइन्स सञ्चालनमा रहेको छ । 

तर, पर्यटनमन्त्री योगेश भट्टराईले भने नियमसम्मत निर्णय भएको भन्दै निगममा भएकाभन्दा योग्य मान्छे नियुक्त गरिएको दाबी गरेका छन् । उनले भने, ‘हामीले नियमसम्मत नियुक्ति गरेका हौँ । जसले चासो दिएर आए, उनीहरूलाई नियुक्त गरियो । तर, अहिले निगममा भएकाभन्दा पनि योग्य मानिस ल्याएका छौँ । हामी बिस्तारै सुधारको पक्षमा जाँदै छौँ । निगमका पनि निजी क्षेत्रको प्रतिनिधि हटाउने पक्षमा नै छौँ ।’ 

मन्त्री भट्टराईले निगममा नियुक्तिको व्यवस्था पनि सुधार गर्ने पक्षमा सरकार रहेको पनि बताए । ‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनमा संशोधन गरेर निजी क्षेत्रका प्रतिनिधि राख्ने व्यवस्था हटायौँ । तर, निगम ऐनमा एयरलाइन्स सञ्चालकको तर्फबाट सञ्चालक समितिमा राख्नुपर्ने व्यवस्था रहेको छ, त्यसैले सोहीअनुसार उहाँलाई नियुक्त गरेका हौँ,’ मन्त्री भट्टराईले भने । 

निगमको ऐनमा निजी क्षेत्रको व्यक्ति भनिए पनि मन्त्री भट्टराईले भनेजस्तै एयरलाइन्स सञ्चालकहरूका तर्फबाट प्रतिनिधि राख्ने व्यवस्था छैन । नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ मा निगम सञ्चालक समिति गठनसम्बन्धी व्यवस्था छ ।

‘नेपाल सरकारले आवश्यक देखेमा सञ्चालकमा वाणिज्य, अर्थ तथा लेखाशास्त्रमा ख्यातिप्राप्त वा उड्डयन तथा पर्यटन प्रवद्र्धनसम्बन्धी क्षेत्रमा अनुभव प्राप्त गैरसरकारी व्यक्तिलाई पनि नियुक्त गर्न सक्नेछ,’ ऐनमा भनिएको छ । तर, अनुभवी व्यक्ति भनिएकोमा सरकारले प्रतिस्पर्धी कम्पनीका सञ्चालकलाई नै सीधै ल्याएको छ । ‘त्यो त कुनै निजी दैनिक पत्रिकाको सञ्चालकलाई गोरखापत्रको बोर्डमा नियुक्त गरेजस्तै हो,’ निगमका अधिकारीले नयाँ पत्रिकासँग भने ।

तत्कालीन पर्यटनमन्त्री कृपाशुर शेर्पाले निगम सञ्चालक समितिमा रहेका अशोक पोखरेल, अमर माली र टंकनाथ आचार्यलाई हटाएर यती समूहकै लगानीमा सञ्चालनमा रहेको अल्टिच्युड एयरका प्रबन्ध–निर्देशक निमानुरु शेर्पालाई नियुक्त गरेका थिए । तर, पोखरेल, माली र आचार्य सर्वोच्च अदालत गएपछि निर्णय कार्यान्वयन हुन सकेको थिएन । पछि तीनैजनाको समय सकिएपछि यती समूहकै लबिङमा निमानुरु शेर्पाले सञ्चालक समितिमा नियुक्ति पाएका थिए । 

अन्तर्राष्ट्रिय उडान गर्न निगमसँग चार र हिमालयसँग तीन जहाज छन् । हिमालयले निगमसँग प्रतिस्पर्धा गर्दै १० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ । यता अन्तरिक उडानमा निगमका आठवटा जहाज भए पनि कुनै पनि जहाज ठीक हालतमा छैनन । नयाँ पत्रिका दैनिकबाट साभार 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर