• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

ज्योति बसु : भारतीय कम्युनिष्ट आन्दोलनको ‘ज्योति’

काठमाडौं । नेपालको कम्युनिष्ट पार्टी भित्र बिग्रह चलिरहेका बेला कतिपय नेताहरुले भारतीय कम्युनिष्ट पार्टीको उदाहरण दिने गरेका छन् । त्यसमा पनि भारतीय कम्युनिष्ट मात्र होईन भारतीय राजनीतिज्ञहरुकै एक आदर्श पात्र भाकपाका नेता ज्योति बसुको चर्चा बेलाबेला भईरहन्छ ।

नेपालका कम्युनिष्टहरुले पनि सही समयमा सही निर्णय लिएर देश र जनताको सेवा गर्न सकेनन् भने भाकपा र ज्योति बसुको हालत हुने कतिपयको टिप्पणी हुने गर्दछ । वास्तवमा को थिए ज्योति बसु । बसुको जन्मोत्सवको सन्दर्भ पारेर हामीले यो सामाग्री पस्किएका छौं ।

.............
ज्योति बसुः 

भारतीय कम्युनिष्ट पार्टीका ‘ज्योति’ ज्योति बसु एक राम्रो वक्ता थिएनन् र बिना मुस्कुराहट अधुरा वाक्य बोल्ने शैलीका बाबजुद पनि उनीमा लाखौँ मानिसको भीड जम्मा पार्न सक्ने खुबी थियो । उक्त भीडलाई विश्वास थियो कि ज्योति बसु उनीहरुका लागि लड्न कहिल्यै छोड्ने छैनन् । ज्योति बसुले पश्चिम बंगालको राजनीतिमा अमिट छाप छोडेका छन् ।

सन् १९१४ जुलाई ८ मा भारतको कोलकत्तामा जन्मिएका ज्योति बसु भारतको कम्युनिष्ट पार्टी(माक्सवादी)को सह–संस्थापक हुन् । सन् १९६४ देखि २००८ सम्म पोलिटब्युरोको एक सदस्य पनि थिए उनि । ज्योति बसुलाई भारतको सबैभन्दा लामो समयसम्म मुख्यमन्त्रीको रुपमा शासन गर्ने दोश्रो व्यक्ति (पहिलो पवन कुमार चाम्लिङ) र भारतीय कम्युनिष्ट पार्टीका ‘ज्योति’का रुपमा लिइन्छ । 

सन् १९७७ देखि २००० सम्म, २३ वर्षसम्म बंगालको मुख्यमन्त्रीको रुपमा शासन गरेका ज्योति बसुलाई विशेषगरी एक व्यवहारिक राजनीतिक सिद्धान्तकारीको रुपमा लिइन्छ । सात दशकसम्म चलेको उनको राजनीतिक जीवनलाई भारतमा थुप्रै सफलतासँगै सम्झिइने गरिन्छ । यसमा सबैभन्दा महत्वपूर्ण उनको योगदान थियो भारतको कम्युनिष्ट आन्दोलनलाई सानो दायराबाट निकालेर संसदीय व्यवस्थामा महत्वपूर्ण भूमिका प्राप्त गराउन सफल पार्नु थियो ।

ज्योति बसुलाई सन् १९९६ मा भारतको प्रधानमन्त्री बन्ने प्रस्ताव गरिएको थियो, तर उनकै पार्टीले उनलाई यो पद ग्रहण गर्ने अनुमति दिएन । आज ८ जुलाई, ज्योति बसुको १०६औँ जन्मजयन्ती हो । यस अवसरमा उनका जीवनका केही महत्वपूर्ण प्रसंगहरुबारे थाहा पाउनुहोस्ः

.............
कम्युनिष्ट बन्नुः

ज्योति बसु उच्च–मध्यम परिवारमा जन्मिएका थिए, उनका बुबा एक डाक्टर थिए । उनको बच्चाको नाम ‘ज्योतिरिन्द्र’ थियो, तर सन् १९२० मा स्कूलमा भर्ना भएपछि उनका बुबाले नाम छोट्याएर ज्योति बनाए । त्यसको तीन वर्षपछि उनलाई कोलकत्ताको सेन्ट जेभियर्स स्कूलमा पठाइयो । उनले यही स्कूलबाट सन् १९३२ मा माध्यमिक शिक्षा हासिल गरे । 

त्यसपछि उनी अंग्रेजी विषय लिएर कोलकत्ताकै हिन्दू कलेज गए । त्यसपछि उनी कानुन विषयमा स्नातक शिक्षाका लागि लण्डनको युनिभर्सिटी कजेल गए र सन् १९४० मा मिडल टेम्पलमा वकिल बने । यस समय इन्दिरा गान्धी र फिरोज गान्धी पनि आफ्नो पढाईको सिलसिलामा उतै थिए । उनीहरु एउटै पानी जहाजमा भारत फर्किएका थिए । 

लण्डनमा रहँदा बसुले ग्रेट ब्रिटेनको कम्युनिष्ट पार्टीको विभिन्न कार्यक्रममा सहभागी भए र राजनीतिक भाषण तथा अभियानहरुमा सहभागी भए । उनले लण्डन स्कूल अफ इकोनोमिक्समा राजनीतिक पार्टी, संवैधानिक कानुन, अन्तराष्ट्रिय कानुन तथा मानवशास्त्रका कक्षाहरु सहभागी भए । यसै दौरान उनी राजनीतिक सिद्धान्तवादी र अर्थशास्त्री हरोल्ड लास्कीको ‘फाँसीवाद–विरोधी’ भनाईबाट प्रभावित भएका थिए । लास्की एक मार्स्कवादी कवि थिए, जो बेलायतमा भारतीय विद्यार्थीको विभिन्न अभियानको आयोजना गर्थे र पछि गएर उनी ब्रिटिश लेबर पार्टीको अध्यक्ष बने ।

सन् १९३७ तिर बेलायतमै ज्योति बसु इन्डिया लिग र फेडेरेशन अफ इन्डियन स्टुडेन्टजस्ता विभिन्न साम्राज्यवादी विरोधी भारतीय विद्यार्थी युनियनमा संलग्न भए र यसै दौरान उनको भूपेश गुप्ता र स्नेहांगशु आचार्य जस्ता युवा भारतीय कम्युनिष्टसँग परिचय भयो । सन् १९३८ मा उनको राजनीतिक जीवनमा परिवर्तन आयो, जतिबेला उनले लण्डन मज्लिसमा सहभागी भए र यसको पहिलो सचिव बने । मजलिसको मुख्य कार्य भनेको लेबर पार्टी र अन्य सामाजवादीहरुसँग बेलायत पुगेका भारतीय नेताहरुको बैठकको आयोजना गर्नु थियो र यसले बसुलाई जवाहरलाल नेहरु, सुभाष चन्द्र बोस र विजया लक्ष्मी पण्डितजस्ता वरिष्ठ नेताहरुसँग सम्पर्कमा ल्यायो । 

यस दौरान बसुले लण्डनको सुकुम्बासी वस्तीमा बस्ने अनपढ भारतीय नाविकहरुलाई अंग्रेजी पढाउनका लागि एक समूह बनाएका थिए, यो उनको गरिब र अनपढसँग काम गरेको पहिलो अनुभव थियो । 

.............
भारतीय वामपन्थ प्रकाशको नेतृत्व:

कम्युनिष्ट आदर्शमा दृढ विश्वास विकसित गरेपछि सन् १९४० मा बसु भारत फर्किए र भारतीय कम्युनिष्ट पार्टी(सिपिआई)मा जोडिए । यसका साथै कोलकत्तामा फ्रेन्ड्स अफ द सोभियत युनियन र एन्टि–फासिस्ट राइटर्स एण्ड आर्टिस्टि एशोसिएसनको सचिव बने । 

तर, सन् १९२९ मा मेरठ षड्यन्त्र मामिलापछि सिपिआईलाई ‘अवैध’ घोषणा गरियो, जसपछि बसुको मुख्य कार्य ती नेताहरुसँग सम्बन्ध बनाइराख्नु थियो जो भूमिगत भएका थिए र उनीहरु गोप्य बैठकमा आश्रय र सदस्यता प्रदान गर्नु थियो । सन् १९४४ मा बसुले बंगालको व्यापार तथा रेलवे संघहरुसँग काम गर्न थाले । उनले त्यही वर्ष बंगालको नागपुर रेलवे वर्कर्स युनियनको स्थापनामा महत्वपूर्ण भूमिका निभाए र यसको महासचिव बने । सन् १९५१ मा बसु सिपिआईको केद्रिय समितिका लागि चुनिए । 

सन् १९५२ को पश्चिम बंगाल चुनावमा सिपिआई, फर्वार्ड ब्लक, सोशलिस्ट रिपब्लिकन पार्टी र बोल्सेभिक पार्टी अफ इन्डिया पार्टी मिलेर युनाइटेड सोसियलिस्ट अर्गानाइजेशनको रुपमा एकजुट भएर कांग्रेस–विरोधी मोर्चा बनाए । बसु पनि यस मोर्चाको हिस्सा थिए, सिपिआईको प्रतिनिधित्व गर्दै बारानगर विधानसभामा कांग्रेसका हरेन्द्रनाथ रोय चौधरीलाई हराए । 

२३८–सदस्यीय विधानसभामा ७१ सिटमध्ये २८ वटा सिट सिपिआईले जित्यो र बसुलाई सर्वसम्मतिमा विधानसभामा यसको नेता चुनिए । उनले सन् १९५७ मा सिटहरुलाई यथावत राखे र सिपिआईको संख्याका साथसाथै पार्टीद्धारा समर्थित स्वतन्त्र अन्य पाँच गरी उम्मेदवारको संख्या ४६ पुगेसँगै बसु विपक्षी नेता बने । 

सन् १९६२ को भारत–चीन युद्धपछि सिपिआईमा मतभेद उत्पन्न भयो । दुई वर्षपछि पार्टी विभाजन भयो, जसबाट भारतीय कम्युनिष्ट पार्टी(मार्क्सवादी)को गठन भयो र बसु यसको पोलिट ब्युरोका संस्थापक सदस्यमध्ये एक बने । 

सन् १९६७ मा दुई कांग्रेस–विरोधी समूह, मार्क्सवादी सिपिआई र बंगला कांग्रेस–सिपिआईको नेतृत्वमा सरकार बन्यो, जसमा अजोय मुखर्जी मुख्यमन्त्री र बसु उप तथा अर्थमन्त्री बने । तर, चार वर्षपछि बसु र मुखर्जी बारानगरमा एक–अर्काप्रति एक अनौठो प्रतिस्पर्धामा उत्रिए । त्यसको एक वर्षपछि पुनः विधानसभा चुनाव भयो, जसमा धाँधली भएको आरोपकाबीच कांग्रेसले जीत हात पार्यो । यस चुनावमा बासुले आफ्नो एक मात्र चुनावी हारको सामना गर्नुपर्यो, किनकि उनको पार्टीले विधानसभालाई बहिष्कार गर्यो । 

.............
मुख्यमन्त्रीको रुपमा बसुः

आपतकालपछि सन् १९७७ मा पश्चिम बंगालमा बसुका साथ वाम मोर्चा शक्तिमा आए, जो सतगछिया निर्वाचन क्षेत्रबाट आएर मुख्यमन्त्री बने । उनको समयमा भूमि सुधार, कृषि मजदुरका लागि न्यूनतम पारिश्रमिक, एक त्रि–स्तरीय पञ्चायत प्रणाली, बेरोजगार तथा विधुवाका लागि भत्ता र युवा सेवाहरुका लागि एक फरक विभागको स्थापना लगायत थुप्रै ठूला पहलहरु भएको फ्रन्टाइन पत्रिकामा उनको मृत्यु लेखमा बताइएको छ । 

सन् २००२ मा बुद्धदेव भट्टाचार्यको हातमा वाम मोर्चा सरकारलाई छोड्दै उनी सक्रिय राजनीतिक जीवनबाट सेवानिवृत्त भए । भट्टाचार्यले अगाडी ११ वर्षसम्म शासन चलाए । बसु सन् २००८ सम्म सिपिआई(मार्क्सवाद) पोलिट ब्युरोको सदस्य रहे र उनको निधनसम्म पार्टीको केन्द्रिय समितिको विशेष आमन्त्रित सदस्य रहे । 

.............
जतिबेला प्रधानमन्त्री पदको नजिक पुगेः

सन् १९९६ मा अटल बिहारी वाजपेयीको अल्पकालीन १३–दिवसीय सरकारपछि बसु संयुक्त मोर्चाको सर्वसम्मति नेता थिए, तर भारतीय कम्युनिष्ट पार्टी(मार्क्सवाद)ले सरकारमा भाग नलिने फैसला गर्यो – पछि गएर बासुले यसलाई एक ‘ऐतिहासिक भूल’ बताएका थिए । 

महासचिव हरकिशन सिंह सुरजीत लगायत पार्टीका वरिष्ठ नेताहरु भने बसुलाई प्रधानमन्त्री बनाउने पक्षमा थिए, तर भि.एस. अचुथानन्दन, प्रकाश करत, सिताराम येचुरी र इ.के नयनार यसको विपक्षमा थिए । सिपिआईसँग जम्मा ३२ संसद रहेको र यो एक पर्याप्त बलियो शक्ति नहुने तर्क उनीहरुको थिए । 

.............
फिडेल कास्त्रोको भेट्ने सन्देशः

भारतीय कम्युनिष्ट नेता सीताराम येचुरीका अनुसार सन् १९९३ मा ज्योति बसुलाई क्युबा भ्रमणका क्रममा त्यहाँका नेता फिडेल कास्त्रोले भेट्न चाहेको सन्देश प्राप्त गरे । येचुरीको साथमा आधारातमा ज्योति कास्त्रोलाई भेट्न गए र करिब बैठक डेढ घण्टा चलेको थियो । 

‘कास्त्रोले बसुतर्फ प्रश्नमाथि प्रश्न गरिरहेका थिएः भारतले कोइला कति उत्पादन गर्छ, स्टिलको उत्पादन कति हुन्छ ? आदि इत्यादि । एक पटक ज्योतिले मलाई बंगालीमा यिनले मेरो अन्तरवार्ता लिइरहेका छन् ? भनी सोधे । यसबारे बसुसँग अचानक सोधिएकाले उत्तरमा अनुमानित तथ्यांक पनि तयार थिएन । त्यसपछि फिडेल कास्त्रो मतर्फ फर्किएर भने – उहाँ त वृद्ध भइसक्नुभयो र वरिष्ठ नेता हुनुहुन्छ, तपाई जस्तो युवाले यसबारे सबै जानकारी हुनुपर्छ,’ येचुरीले एक पटक बिबीसीसँग भनेका छन् । 

भोलिपल्ट भारत फर्कने क्रममा हवाना विमानस्थल पुग्दा त्यहाँ फिडेल कास्त्रो उनीहरु विदाई गर्न पुगेका थिए । 

.....................
नास्तिक हुँदाहुँदै पनि पशुपतिको दर्शनः

सन् १९८९ मा ज्योति बसुका साथ सीताराम येचुरी पहिलो पटक विदेशयात्राका क्रममा नेपाल आएका थिए । उनीहरु त्यस समय नेपाल सरकारको राजकीय अतिथि थिए । त्यसैले उनले ज्योति बसुका लागि पशुपति मन्दिर जाने कार्यक्रम राखे । 

येचुरीले बसुसँग मन्दिर जानबाट किन अस्विकार गर्नुभएन भनेर सोधे, जसमा उनको जवाफ यस्तो थियो – जसरी भारत हरेक विदेशी पाहुनालाई राज घाट लैजान्छ, चाहे ऊ गान्धीवादमा विश्वास राखोस् वा नराखोस्, त्यसरी नै नास्तिक हुँदाहुँदै पनि हामी पशुपति मन्दिर जानुपर्छ ।

.............
प्रतिद्धन्द्धीप्रति ज्योति बसुको प्रेमः

ज्योति बसु र त्यसअघि पश्चिम बंगालका मुख्यमन्त्री तथा कांग्रेस नेता सिद्धार्थ शंकर रायबीच करिव उस्तै राजनीततिक प्रतिद्धन्द्धता थियो जस्तो कि आज नरेन्द्र मोदी र राहुल गान्थीका बीच छ । तर उनीहरुबीच व्यक्तिगत रुपले गहिरो निकटता रहेको बताइन्छ । त्यस समय ज्योति बसुले एक विधायकको रुपमा २५० रुपैयाँ तलवको रुपमा पाउथे जसको अधिकांश हिस्सा उनी पार्टीलाई दिने गर्थे । 

ज्योतिलाई भेट्न उनको घर पुग्दा सिद्धार्थले कहिलेकाही भान्सामा नियाल्थे । उनको भन्सामा निक्कै साधारण खाना पाक्ने गर्दथ्योः  दाल, भात र तारिएको बैगुनको तरकारी । सिद्धार्थका अनुसार, उनकी पत्नी कमलाले ज्योतिले आफ्नो सबै तलव पार्टीलाई दिने भएकाले आफूलाई दुई छाक जुटाउन गाह्रो परेको बताउने गर्थिइन् । पछि गएर जब उनी विपक्षी नेता बने तब अवस्थामा केही सुधार आएको थियो, जतिबेला उनको तलव ७५० रुपैयाँ पुगेको थियो । 

यसैगरी, राजनीतिक विरोधका बाबजुद उनी कांग्रेका अर्का नेता अबु बर्कत अताउर घानी खान चौधरी उर्र्फ बरकतदालाई परिवारकै सदस्य मान्थे । बसुले बरकतदालाई शाहेब भनेर बोलाउथे । बंगाली पत्रकार तरुण गांगुलीका अनुसार, एक पटक ज्योति बसुले बरकतदाका भाई र पश्चिम बंगाल विधानसभामा विपक्षी नेताहरुलाई सदनमा गहन मुद्दामा सरकारप्रति किन आपत्ति जनाउनुहुन्न भनेर सोधेका थिए । सदनमा कडा शब्दको प्रयोग गरेर सरकारको आलोचना गर्नुपर्छ भनेका थिए । 

.............
ज्योति बसुको मानवीय पक्षः

ज्योति बसुको मानवीय पक्षको सबैभन्दा मार्मिक चित्रण मुधर पाथ्रेयाको किताब ‘आवर ज्योति बाबु’मा उनकी बुहारी डली बसुले भनेकी छिन्,‘मेरो विवाहको भोलिपल्ट नै मलाई ज्वरो आयो । म ओछ्यानमै थिए, भान्साबाट भाडाकुडा बजेको आवाज आयो ।’

‘मेरा ससुरा एउटा भाडामा पानी तताइरहनु भएको थियो । उहाँले मलाई भन्नुभयो – तिमीले तातो पानी प्रयोग गर्नुपर्छ नभए चिसो लाग्नसक्छ ।’ उनले बिरामी बुहारीलाई आँफैले चिया बनाएर खुवाए । डलीले अगाडी भनेकी छिन्, ‘यहाँको यही व्यवहारले हामीबीच यस्तो सम्बन्ध कायम रह्यो जो जीवनभर रह्यो ।’

ज्योति बसुले दुई पटक विवाह गरे । पहिलो विवाह सन् १९४० मा बसन्तीसँग गरेको थिए, त्यसको दुई वर्षमै उनको मत्यु भयो । त्यसपछि सन् १९४८ मा कमलासँग विवाह गरे । कमलबाट एउटा छोरी भइन् जसको जन्मिएको केही समयमै मृत्यु भयो र त्यसपछि एक छोरा, शुभब्रत जन्मिए जसलाई चन्दन भनेर पनि चिनिन्छ । 

सन् २०१०, १ जनवरीमा शरीरका विभिन्न अंग नचलेपछि साल्ट लेकको एएमआरआई अस्पतालमा भर्ना गरियो । उनको १७ जनवरी सन् २०१० मा निधन भयो ।

-विभिन्न एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर