• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

धानको उत्पत्ति इतिहास र पौष्टिक गुणहरु

धानका प्रमुख दुई वंशजमध्ये आरिजा सेटिभा जातको उत्पत्ति नेपाल, भारत, भुटान, बर्मा, लाओस, भियतनाम, फिलिपिन्स र चीनमा भएको पाइन्छ । अफ्रिकी धान ओराइजा ग्लोबोरिमा पश्चिमी अफ्रिकामा ४ हजार वर्ष पहिले उत्पत्ति भएको थियो । हाल संसारमा ४० हजारभन्दा बढी प्रजातिका धानहरु पाइन्छन् । अमेरिकामा सन् १९८५ पछि मात्र धानखेती शुरु गरिएको हो ।

काठमाडौं । आज १६औं धान दिवस, नेपाल सरकारले ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनिकरण’ नाराका साथ बर्दियामा मनाउने घोषणा गरेको छ । नेपालमा असार पन्ध्रको दिनलाई धान दिवसको रुपमा मनाइन्छ । आजको दिनलाई मुठी खाएर मानो फलाउने दिन, दही चिउरा खाने दिन, हिलो खेल्ने दिन । विषेशगरी नेपाली कृषकका लागि यस दिनले विशेष सांस्कृतिक र आर्थिक महत्व राख्छ । यस दिन दही चिउरा खाएर मौलिक बाजा–गाजाका साथ असारे भाका गाउँदै रोपाईं गरिन्छ । 

पछिल्ला केही वर्षयता यस दिनको महत्व अझ व्यापक बनेको छ । तर, आधुनिकतामा ज्यादा । कृषक मात्रै नभएर अन्य पेशा तथा व्यवसायमा लागेका मानिसहरु पनि यस दिन हिलोमा पसेर धानको बिउ रोप्ने र हिलो खेल्ने संसार बढ्दै गएको छ । यस दिन विदेशी पर्यटकहरु पनि हिलो खेल्न रुचाउँछन् र पर्यटन व्यवसायीहरु उनीहरुका लागि रचनात्मक प्रयास गर्छन् । यसरी रोपाईंले पर्यटन व्यवसायमा पनि योगदान पुर्याएको छ । 

वि.सं. २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । जसमा एउटा देश नेपाल पनि थियो । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो । २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।

........
धानको उत्पत्तिः

धानको वैज्ञानिक नाम ‘ओरिजा सेटिभा’ हो । धान विश्वको एक प्रमुख बाली र सबैभन्दा पुरानो बालीमध्ये एक हो । हजारौं वर्ष पहिलेदेखि नै भारत र चीनमा यसको खेती गरिन्थ्यो भनिन्छ । धानको पहिलो बिउ कहाँ उत्पत्ति भयो भन्ने ठ्याक्कै जानकारी नभएपनि सम्भवतः १० हजार वर्षअघि एशियाको गर्मी क्षेत्रमा खेती सुरु भएको मानिन्छ । 

खोज अध्ययन अनुसार भारतको हस्तिनापुर (उत्तर–प्रदेश)मा उत्खनन् (६५० ई.पू)को समयमा धानको सबैभन्दा पुरानो नमूना डढेको अर्थात् अंगारको रुपमा पाइएको थियो । त्यस्तै, चीन, जापान, कोरिया र थाइल्याण्ड आदि देशमा गरिएको उत्खननमा पनि धान भेटिएको थियो ।

जंगली धान प्रचुर मात्रामा पाइएकाले भारतमा धेरै वर्षअघि नै यसको उत्पादन भएको हुनसक्ने दाबी गरिएको छ । यसलाई घरेलुकरण गर्ने प्रक्रिया पहिला चीनमा भयो र त्यसपछि दक्षिण–पूर्वी एशियामा पुग्यो । जंगली धान पहिला बंगलादेश, आसाम, उडिसा र यसका छेउँछाउका क्षेत्रमा उत्पादन गरिएको विश्वास गरिन्छ । 

यस्तै, पश्चिमी र उत्तर अफ्रिकामा, पूर्व र मध्य अफ्रिकाका अधिकांश देशहरुमा पनि धान उब्जनी गरिन्थ्यो । धान खेती दक्षिण र मध्य अमेरिकी देशहरु(ल्याटिन अमेरिकी), अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका र स्पेन, इटाली र फ्रान्स जस्ता दक्षिण युरोपेली देशहरुमा पनि विस्तार भयो । 

बौद्ध सस्कृतिमा धानले विशेष महत्वपूर्ण भूमिका निभायो । गौतम बुद्धका पिताको नाम शुद्धोदन थियो अर्थात् शुद्ध चामल । तपमा लीन गौतम बुद्धले एक वन–कन्या सुजताको हातबाट खीर खाएपछि बोध प्राप्त गरेको र बुद्ध कहलिएको बताइन्छ । बौद्ध धर्मका साथै धान खेती र यसको संस्कृति म्यानमार, इन्डोनेशिया, थाइल्याण्ड, चीन, नेपाल, जापान र कोरियासम्म फैलियो । 
एक अर्को किंवदन्ती अनुसार, आजभन्दा करिब १५, १६ हजार वर्षअघि हिमालयको उत्तर तथा दक्षिणी क्षेत्रमा जंगली धान लहराउँथ्यो । यो धान तापमान हेरफेर र सुख्खा ठाउँमा पनि फल्ने गर्दथ्यो । हिमालयबाट यो धान उत्तरी र पूर्वी भारत, दक्षिण–पूर्वी एशियाको उत्तरी भाग र फेरि दक्षिणी चीनमा फैलियो । ७ हजार वर्ष पहिले चीनको झेजिङ प्रान्तमा व्यावसायिक रुपले धान खेती गरिएको पनि बताइन्छ । 

.....
फरक–फरक देशमा फरक नाम

फरक–फरक देशमा विभिन्न नामले चिनिने भएकाले पनि कुन बाली कहाँबाट कहाँ पुग्यो भन्ने बुझ्न सकिन्छ । धानका लागि ल्याटिन भाषामा ‘ओराइजा’ र अंग्रेजीको ‘राइस’ यी दुबै नाम तमिल भाषाको ‘अरिसि’ शब्दको उपज हो । अरबका व्यापारीले आफूसँग ‘अरिसी’ लगेका थिए र त्यसलाई अरबी भाषमा ‘अल–रुज’ अथवा ‘अरुज’ बन्यो । पछि गएर स्पेनिश भाषामा ‘अरोज’ बन्यो, त्यस्तै ग्रीकमा ‘औरिजा’ र ल्याटिन भाषामा ‘ओराइजा’ बन्यो । 

इटाली भाषामा ‘राइसो’, फ्रेन्चमा ‘रिज’, जर्मनीमा ‘रिइस’, रुसमा ‘रीस’ र फेरि अंग्रेजी भाषमा ‘राइस’ बन्यो । अफ्रिकाको पूर्वी तट देश मेडागास्करको मलागासी भाषामा ‘वारी’, इरानको फारसी भाषामा ‘व्रिही’ र कौटिल्य र चाणक्यले आफ्नो संस्कृत ग्रन्थ अर्थशास्त्रमा ६० दिनमा पाक्ने धानको वर्णन गरेका छन् । धानको नामको यस विस्तारलाई हेर्दा पनि धानको उत्पत्ति एशियामै भएको अनुमान लगाउन सकिन्छ । एशियामा खेती प्रणालीसँगै धान खेती भित्रिएकाले एशियाली सभ्यता धान खेतीको सभ्यता पनि भनिन्छ । 

ओरिजाका २० परिचित प्रजाति छन्, तर ओरिजा सेटिभा र ओरिजा ग्लाबेरिमा मात्र उब्जाउ गरिन्छ । ओरिजा सेटिभा एशियामा उत्पादन गरिन्छ भने ओरिजा ग्लाबेरिमा अफ्रिकामा उब्जाउ गरिन्छ । ओरिजा पेरिनिस नामक एक जंगली धानबाट ओरिजा सेटिभा विकास भएको हुनसक्छ । ओरिजा रूफिपोगोन नामक प्रजाति एशियाली बाह्रमासे प्रकारको हो भने ओरिजा निभारा एकवर्षे बाली हो । ओरिजा ग्लाबेरिमा सुडान वा पश्चिम अफ्रिकाको कुनै ठाउँमा ओरिजा ब्रेभिलीगुलाटा वा ओरिजा ब्राथी नामक प्रजातिबाट विकास भएको हुनसक्छ ।
 
धानका प्रमुख दुई वंशजमध्ये आरिजा सेटिभा जातको उत्पत्ति नेपाल, भारत, भुटान, बर्मा, लाओस, भियतनाम, फिलिपिन्स र चीनमा भएको पाइन्छ । अफ्रिकी धान ओराइजा ग्लोबोरिमा पश्चिमी अफ्रिकामा ४ हजार वर्ष पहिले उत्पत्ति भएको थियो । हाल संसारमा ४० हजारभन्दा बढी प्रजातिका धानहरु पाइन्छन् । अमेरिकामा सन् १९८५ पछि मात्र धानखेती शुरु गरिएको हो ।

........
नेपालमा धानको इतिहासः 

संसारमा रहेका २० वंशजका जङ्गली धानहरुमध्ये चार वंशजका जङ्गली धानहरु नेपालमा पाइन्छन् । नेपालको कपिलवस्तु जिल्लाको अजिगरा तालमा जङ्गली धानको उत्पत्ति र सुर्खेतको बुलबुले तालमा सदाबहार धानको उत्पत्ति भएको बताइन्छ । चितवनको लोथरखोला, जुम्लाको सुन्दरपुर जङ्गली धान पाइने प्रमुख स्थानहरु हुन् । नेपाल र एशियाकै प्रमुख खाद्यान्न बालीको रुपमा रहेको धान विश्वमा दोस्रो बालीको रुपमा चिनिन्छ ।

यदि नेपालको धानसँगको सम्बन्धका बारेमा भन्ने हो भने यो अभिन्न नै सही आएको छ । यहाँ धानको चामलको खाना खाइन्छ भने विभिन्न धर्मावलम्बीले धार्मिक अनुष्ठानमा चामलको प्रयोग गर्छन् । हिन्दु धर्मको विकासक्रमका साथै नेपालको संस्कृति र सभ्यतामा धानको अत्यन्त महत्व छ । वेद लेखिनुपूर्व धान खेति गरिएको वेदमा उल्लेख छ । साली, ब्रिहि, सुका, सिमी र चुद्रा धान्य गरी पाँच जातका धानबारे ऋगवेदमा उल्लेख छ ।

यस्तै पूजा गर्दा धान र चामललाई घ्यूसँग मिसाएर होम गर्ने चलन परम्परादेखि नै चलि आएको छ । घर–घरमा आफ्ना मान्यजनबाट चामलको अक्षता लगाई दशैँ व्यापक रुपमा मनाउने प्रचलन छ । दशैं बाहेक अन्य चाडपर्वमा पनि चामलका विभिन्न परिकारहरु बनाएर खाने गरिन्छ । घरबाट बाहिर जाने क्रममा शुभ साइतमा चामलको अक्षताको रातो टीका लगाई बिदा गरिने चलन पहिलादेखि नै चलिरहेकै छ । 

विवाह, व्रतबन्ध, पास्नी आदि कार्यक्रमहरुमा चामलको टीका लगाई कार्यको शुभारम्भ र समापन गरिन्छ । मृत्युपश्चात् पनि लाशलाई घाटमा लैजाँदा चामलको बुकी छर्ने धानको चामल मात्र होइन, परालबाट विभिन्न प्रकारका घरायसी सामग्रीहरु गुन्द्री, चकटी, भकारी, छानो आदि प्रयोग गर्ने चलन छ । यसरी धान केवल खाना र उपभोग्य बस्तु मात्रै नभएर संस्कृति, पहिचान र इतिहाससँग गाँसिएको छ । 

नेपाल संसारकै सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश हो । समुद्री सतहदेखि ७० मिटर उचाईमा अवस्थित झापाको केचनादेखि २ हजार ७ सय ८० मिटर उचाइको जुम्लाको छुमचौरमा पनि धान खेती गरिन्छ । यसरी जुम्लाको धान खेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा गरिने धानखेती भनिन्छ । 

नेपाल संसारकै सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश हो । समुद्री सतहदेखि ७० मिटर उचाईमा अवस्थित झापाको केचनादेखि २ हजार ७ सय ८० मिटर उचाइको जुम्लाको छुमचौरमा पनि धान खेती गरिन्छ । यसरी जुम्लाको धान खेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा गरिने धानखेती भनिन्छ । 

विश्वको जनसंख्याको आधा अर्थात् साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो । ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ र उत्पादनको आधा एसियामै खपत हुने गरेको छ । धान अर्थात् चामलले कृषकको जीवन मात्रै नभएर पुरै देशको जीवनमा पनि प्रभाव पार्छ । नेपालका ६०.४ प्रतिशत जनसंख्या कृषिमा नै आश्रित छन्, जसको नेपालको कुल ग्रार्हस्थ उत्पादनमा करिब ३० प्रतिशत योगदान छ ।

नेपालमा धान खेती कति पुरानो हो ? भन्ने एउटा तथ्य ‘त्यस बखतको नेपाल– राणाकालीन आखिरी तीन दशक’ एतिहासिक पुस्तकको पहिलो भागमा लेखक सरदार भीमबहादुर पाँडेले रोचक ढंगले प्रस्तुत गरेका छन् । मानिसले ८ हजार वर्षअघि खेती किसान गरेको र यो प्राचिन पेशा नेपालमा अझै पुरानै चालले चल्दै गरेको उल्लेख गरेका छन् ।

‘बेंसीमा खेत हुने लेकालीहरु बेला रोज पाँच–छ माइल उकालो ओरालो गर्दथे । खेत जोत्न, आलीकान्ली लगाउन, खन्न, हिलाउन, धान रोप्न, काट्न र दाई गर्न’, सरदार पाण्डेले चामलको महिमा उल्लेख गर्दै अर्को सन्दर्भमा भनेका छन्– ‘त्यस बखत, गाउँघरमा बाहुन, गाई र धानको विशेष महत्व थियो । तीनै चीज चोखा र पूजा–आजामा चल्ने हुँदा ।’ यी तथ्यहरु हेर्दा नेपालमा धानको साइनो लामै देखिन्छ । 

.......
धान र मानिसको स्वास्थ्य

नेपाल जस्तो कृषि प्रधान मुलुकमा धान संस्कृति, पहिचान, इतिहास र अर्थतन्त्रका साथसाथै स्वास्थ्यसँग मुख्य रुपमा जोडिएको छ । नेपालमा धेरैजसो परिवारमा विशेषगरी पहाडी तथा भित्री मधेस क्षेत्रमा बिहान–बेलुकाको खानामा धानको चामल नै पाक्छ । त्यसैले पनि धानको चामललाई नेपालीको मुख्य खाद्यान्न बालीको रुपमा लिइन्छ । 

नेपाली खाना भात(चामल), दाल र तरकारी स्वास्थ्यको हिसाबले उत्कृष्ट भोजन भएको पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन् । डा. उप्रेतिका अनुसार चामलमा पाइने कार्बोहाइड्रेट दाल, तरकारीमा नपाइने र दालमा पाइने प्रोटिन चामलमा नपाइने भएकाले यी तीन चीजको संयुक्त भोजन स्वास्थ्यका लागि सर्वाधिक लाभदायी हुन्छ । 

डा. उप्रेतिका अनुसार चामलमा पाइने कार्बोहाइड्रेट दाल, तरकारीमा नपाइने र दालमा पाइने प्रोटिन चामलमा नपाइने भएकाले यी तीन चीजको संयुक्त भोजन स्वास्थ्यका लागि सर्वाधिक लाभदायी हुन्छ । 

‘चामल पचाउन निक्कै सजिलो पौष्टिक तत्व भएकाले बालबालिका बिरामी हुँदा यसको जाउलो बनाएर खुवाउन सकिन्छ । विभिन्न सभा, समारोह तथा उत्सवका अवसरमा पुलाउ, बिर्यानी, रोटी आदि जस्ता विभन्न परिकार बनाउँन चामलको प्रयोग गरिने भएकोले चामल खाने हाम्रो संस्कृति मात्रै नभएर स्वास्थ्यका हिसाबले पनि राम्रो हो,’ उनले भनिन् । यद्यपि, भोजनमा चामलसँगै अन्य अन्न तथा तरकारीको सन्तुलित उपभोग स्वास्थ्यका लागि निकै फलदायी हुने डा. उप्रेतीको भनाई छ ।

धानमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्सहरु पाइन्छन । यसमा शरीरलाई चाहिने आठ प्रकारका एमाइनो एसिडहरु पाइन्छन् । 

आधा कप भातमा ८२ क्यालोरी शक्ति, ४५ ग्राम कार्बोहाड्रेड र ३ ग्राम प्रोटिन पाइने विज्ञहरु बताउँछन् । आजकाल बजारमा ब्राउन राइस (खैरो चामल)को प्रचलन बढ्दो छ । स्वास्थ्यका हिसाबले सेतो चामलभन्दा खैरो चामल बढि स्वास्थ्यवद्र्धक हुने स्वास्थ्यसम्बन्धि समूहहरुको भनाई छ ।

......
धानको पौष्टिक मूल्यलाई असर पार्ने केही तत्वहरु

मिलमा कुटिने धानेः मिलमा धान कुट्दा त्यसबाट भुस र अन्नको कोसा छुट्टिन्छ । मिलमा कुट्ने प्रक्रियामा सोंझै घर्षणबाट पौष्टिक तत्वको क्षति हुने हुन्छ । हातले वा ढिकीमा कुट्दा भिटामिन बी–१को कम मात्रामा क्षति हुन्छ भने चामलको मोठ भिटामिन बी–१ मध्ये मेसिनमा कुट्दा दुई तिहाई र उसिन्दा एक तिहाइ भिटामिनको क्षति हुन्छ ।

मिलमा कुटेको चामलभन्दा उसिनेको चामल धेरै पौष्टिक हुन्छ, किनभने उसिनेको चामललाई धुँदा त्यसबाट पौष्टिक तत्वको क्षति कम हुन्छ । भातको गुणस्तर चामल कति पुरानो हो, उसिनेको चामल, पकाउँदा पानी कति हालिन्छ, पकाउने विधि आदिमाथि भर पर्दछ ।

भण्डारणको अवस्थाः गर्मी, ओस, कीट र काई वा ढुसीले चर्बीको पानी र हावा घटाउँछ अनि थायमिनको मात्रामा कमी ल्याउँछ । अन्नमा ९ प्रतिशत वा त्यसभन्दा कम ओस भयो भने चर्बीको गन्ध आउँदैन । तर १५ प्रतिशतभन्दा माथि ओस भयो भने अन्नमा किरा र ढुसी लाग्नसक्छ । जसले यसको गुणस्तरलाई असर गर्छ । धानको उचित भण्डारणका लागि ओसको मात्रा १२ प्रतिशत वा त्यसभन्दा कम हुनुपर्छ ।

प्रशोधन तथा भुस निकाल्नेः गाउँमा अझै पनि हातले ढिकीमा कुट्ने प्रचलन कायमै छ । मिलमा कुटेको धानको तुलनामा ढिकीमा कुटेको चामलमा धेरै पौष्टिक तत्व रहने र स्वादिलो पनि हुन्छ । पौष्टिक तत्वको दृष्टिकोणले ‘हुलर टाइप’(भुस निकाल्ने) भन्दा ‘सेलर कम पोलिसर टाइप’ (भुस निकाल्ने र पोलिस गर्ने) विधिबाट निकालिएको चामल निकै हानिकारक छ । किनभने यसप्रकारको मेसिनबाट धान कुट्दा त्यसमा पौष्टिक तत्वको ठूलो मात्रामा क्षति हुन्छ ।

आनुवंशिक कारणः धानको प्रजातिअनुसार पोषणको स्थितिमा धेरै फरक पर्दैन, तर विभिन्न नश्ल र सन्तानका धानको जातअनुसार त्यसको पोषण अवस्थामा फरक पर्दछ । यसैगरी, गोडमेलको कारण, खासगरी मल र पानीको व्यवस्था ठीकसँग भएन भने कोसा लाग्ने वा दुध पस्ने र त्यसको स्तर छुट्याउने प्रक्रियामा असर पर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर