• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

माघे सङ्क्रान्तिको महिमा 

काठमाडौं । आज माघ महिनाको पहिलो दिन, यस दिनलाई माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति, तरुल खाने दिन वा माघीको नामले सम्बोधन गरिन्छ । नेपाली समुदायबीच प्रमुख चाडपर्वका रुपमा माघे सङ्क्रान्तिलाई मनाइने चलन छ ।  पुस मसान्त रातीमा तरुल पकाउने र माघे सङ्क्रान्तिका दिन खाइने भएकोले यस पर्वलाई ‘पुसमा पाक्ने, माघमा खाने’ पनि भनिन्छ । यो पर्व विशेषगरी मगर, थारु, मैथिली तथा किराँती समुदायमा उत्सवका रुपमा मनाइने गरिन्छ । 

ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । सामान्यतः सूर्यले सबै राशिलाई प्रभावित पार्छ । यद्यपि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । माघ १ देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्व छ । यद्यपि, आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन सुरु हुने मानिन्छ । 

भविष्य पुराण, विष्णुवाचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने उल्लेख गरिएको पाइन्छ ।
महाभारत उल्लेख गरिएअनुसार, भीष्मले यही दिन मृत्यु रोजेका थिए भने भगीरथले माघे सङ्क्रान्तिका दिन गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । त्यसैले माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ । 

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई विभिन्न ठाउँ र समुदाय अनुसार  छुट्टा–छुट्टै तरिकाले मनाउने चलन छ । मकर सङ्क्रान्तिलाई माघे सङ्क्रान्ति पनि भनिन्छ ।
यही पर्वलाई थारु समुदायले माघीपर्व र नयाँ वर्षको रुपमा मनाउँछन् भने मगर समुदायले मुख्य रूपले धुमधामका साथ मनाउने यो पर्वलाई ‘माघ्यारसेल्र्हेस्’ पनि भनिन्छ । त्यस्तै, नेपालका लिम्बू समुदायमा यस पर्वलाई ‘कक्फेक्वा तङ्नाम’ भनिन्छ । नेपालको समस्त भू–भाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई ,मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै आदिवासी÷जनजातिले माघे सङ्क्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

माघे सङ्क्रान्तिका दिन वन तरुलको विशेष महत्व रहेको पाइन्छ भने यस दिन सखरखन्ड(सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ । माघे सङ्क्रान्ति आउनुभन्दा एक÷दुई दिन अगाडि सङ्क्रान्तिलाई भनेर गाउँघरतिर गल, बाँउसो, खन्ती आदि खन्ने सामग्री बोकेर नजिकको वनमा वन–तरुल खोजेर ल्याउने प्रचलन छ ।
यस दिन तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्दा त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध बनेर सिधा दान गर्दा पुण्य प्राप्त भई रोगव्याँधीबाट मुक्त भइने जनविश्वास छ । 

धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक हिसाबले पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिन्छ । यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाई हुने, मौसमअनुरूपका पोषक खानेकुरा खाइने तथा निरोगी भइने हुनाले यो सकारात्मक देखिन्छ ।
.......
काठमाडौं उपत्यकामा माघे संक्रान्तिः
काठमाडौं उपत्याकाका रैथाने नेवार समुदायले आफ्नो विशेष किसिमको एउटा खाद्यवस्तुको नामबाट यस पर्वको नामकरण गरेको पाइन्छ । नेवारहरू यस पर्वलाई ‘घ्यूचाकु सँल्हु’ भन्दछन् । यस दिन उनीहरू चाकुमा तिल मिसाएर लड्डु बनाई खाने र दान दिने गर्दछन् । बिहानै उठेर स्नान गरी घरको सम्पूर्ण भाग सरसफाई गर्ने, देवी देवताको पूजा गर्ने, चोखोनिस्तो गरी विभिन्न परिकारहरू तयार पार्दछन् । घरपरिवारका सम्पूर्ण सदस्य जम्मा भएर मिठा–मिठा परिकारको स्वादमा रमाउँदै, एक–आपसमा दुःख, सुखका गफमा रमाउँदै, भजनकिर्तन गर्दै यस पर्वलाई मनाउने गर्दछन् । 

यसै दिन भक्तपुर जिल्लाको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा हुने गर्दछ । तिलमाधव नारायणको मन्दिरमा चढाइएको घिउ सन्तान नभएका महिलाले नुहाइधुवाई गरी शुद्ध भई खाएमा सन्तान प्राप्ति हुने विश्वास गरिन्छ । माघे सङ्क्रान्तिका दिन नारायणको मूर्तिभरि घिउ दलेर तिल चढाउने र उक्त घिउ–तिल चार दिनपछि झिकेर मन्दिरमा आउने भक्तजनलाई प्रसादका रूपमा वितरण गर्ने परम्परा छ ।
त्यस्तै उपत्यका नजिकैको पनौतीमा मकर मेला लाग्छ । लिच्छविकालीन राजा मानदेवको पालादेखि नै सुरू भएको अनुमान रहेको यो मेलामा असंख्य भक्तजनको जमघट हुने गर्दछ । यद्यपि, काठमाडौं उपत्यका देशभरका करिब सबै जाति, जातिको बसोबास छ, उनीहरु पनि चलनमा आएका परम्परा अुनसार यस पर्वलाई आ–आफ्नो शैलीमा मनाउँछन् । 
........

नेपालका पूर्वी जिल्ला इलाम, झापा र सुनसरीमा माघे मेलाः
माघे सङ्क्रान्तिका दिन इलाम जिल्लाको माइबेनीमा ठूलो मेला लाग्ने गर्छ । सदरमुकामबाट तीन किलोमिटर पूर्वमा रहेको माईखोला र जोगमाई खोलाको दोभानमा लाग्ने उक्त मेलामा हजारौं भक्तजनको घुँइचो लाग्नुका साथै छिमेकी देश भारतका व्यापारीहरूले समेत मेलामा सामान बेच्न आइपुग्छन् । उक्त मेलामा धाननाच, चण्डीनाच, बालन, संगिनी, मारूनी नाच जस्ता परम्परागत नृत्य हेर्न पाइन्छ । 

किरात समुदायको बाहुल्य रहेको पूर्वी नेपालमा यस पर्वलाई ‘कक्फेक्वा तङनाम’ भनिन्छ । किरात लिम्बु भाषामा चाँपलाई ‘कक्फुङ’ भनिने भएकोले यो चाँप फुल्ने माघ महिनालाई ‘कक्फेक्वा’ भनिन्छ । यही आधारमा माघ १ गते माघे सक्रान्तिको चाडलाई कक्फेक्वा तङनाम भनिन्छ । तङनामको अर्थ चाड हो ।
आफूहरुलाई प्रकृतिपुजक मान्ने किरात समुदायले कृषि युग सुरु हुनअघि आदिमकालदेखि नै यो तङनाम मनाउँदै आएको बताइन्छ । इलाम जिल्लाकै माई, देउमाई र मेवा (कन्काई नदीका शाखा मुहानहरु) खोलाका संगम स्थल खत्रक्पा–फुलुङ्गीमा वर्षेनी माघे सङ्क्रान्ति मेला लाग्ने गर्छ । खत्रक्पाफुलुङ्गी क्षेत्रलाई किँरात धर्मालम्बी लिम्बू जातिको धार्मिक स्थलको रुपमा पनि लिइन्छ । उक्त क्षेत्रमा रहेको एक गुफालाई नेपालका राष्ट्रिय विभूत महागुरु फाल्गुनन्द लिङ्देन र धर्मगुरु आत्मनन्द लिङ्देनको तपोभूमिको रुपमा चिनिन्छ । माघे सङ्क्रान्तिका दिन बिहानै तीन नदीको संगम स्थलमा गई नुहाउने र दिउँसो विभिन्न साँस्कृति कार्यक्रम गरी मेला लाग्ने गरेको छ ।

यसैगरी माघे सङ्क्रान्तिका दिन झापा जिल्लाको प्रसिद्ध धार्मिक नदी कन्काईमा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन भने यस दिनदेखि पाँचदिनसम्म नदीको वरिपरि रमाइलो मेला लाग्ने र किरात परम्परा एवं संस्कृतिअनुरूप धाननाच देखाइने प्रचलन छ । कन्काई नदीलाई भगवती माईदेवीका रूपमा मान्ने गरिएको हुँदा आफ्नो मनोकाङ्क्षा पूरा गर्न भाकल गर्ने नेपालको पूर्वी क्षेत्र तथा भारतको सिलिगुडी, दार्जिलिङ्ग र सिक्किम क्षेत्रका नेपालीभाषी भारतीय पनि कन्काई नदीमा आएर मकर स्नान गरी पूजाआजा गर्ने, परेवा उडाउने र बत्ती बाल्ने गर्छन् । यसैगरी सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक तिर्थस्थल बराह क्षेत्रमा माघे सङ्क्रान्तिका दिन बिहानैदेखि हजारौं हिन्दू धर्मावलम्बीले स्नान गरी भगवान विष्णुको पूजा आराधना गर्छन् । हिन्दू धार्मिक विश्वासका आधारमा उक्त स्थानमा त्यस दिन मकर नुहाई शरीर स्वच्छ बनाएमा मोक्ष पाउने विश्वास गरिन्छ ।
......

तीन दिनसम्म लाग्ने रिडी माघे मेलाः
चर्चित माघे सङ्क्रान्ति मेला ‘रुरु क्षेत्र’ रिडीमा तीन दिनसम्म लाग्छ । धेरै भक्तजनको उपस्थिति रहने उक्त मेला जेठी, माईली र कान्छी सङ्क्रान्तिका रूपमा तीन दिन लाग्ने गरेको हो । मेलाको पहिलो दिन बिहानैदेखि तीनै दिन कालीगण्डकी नदीमा स्नान गरी हृषिकेश मन्दिरमा पूजाअर्चना गर्नेको घुइँचो लाग्छ ।
कालीगण्डकी नदीमा स्नान गरी हृषिकेशको दर्शन गर्दा चार धाम गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजन उक्त मेलामा आउँछन् । ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण तानसेन बजारदेखि ३६ किलोमिटर दक्षिण–पश्चिममा पर्ने गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल बग्ने पवित्र कालीगण्डकी नदी र गण्डकीको तिरमै पुरानो हृषिकेश मन्दिर छ ।
........

चितवनको देवघाटः
चितवन जिल्लाको देवघाटमा हरेक वर्ष लाग्ने मकर सङ्क्रान्ति मेला बाँसको लिङ्गो गाडेर शुभारम्भ गरिन्छ । भारतको इलाहावादको प्रयागभन्दा विशिष्ट र हरिद्वार, ऋषिकेशको तुलनामा निकै मनोरम र ठूलो महत्व बोकेको देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न स्वर्गबाट देवता आउने जनविश्वास छ । धार्मिक र पर्यटकीय महत्व बोकेको देवघाटमा तीन दिन मेला लाग्छ । मेलासँगै गलेश्वर आश्रममा लक्ष्यहवन गरिन्छ ।
.......

नुवाकोटको तारुकामा विशेष गोरु मेलाः
नुवाकोटको तारुकामा प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन भव्य रूपमा मेला आयोजना गर्ने गरिन्छ । यो मेला अन्तर्गत तारुका गाविस वडा नं. ५ चन्दनी गाउँ रहेको एक बारीको ठूलो पाटोमा गोरूहरू जुधाउने गरिन्छ । यस गोरु जुधाइ मेलाले नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि २२ किलोमिटर दुरीमा रहेको तारुका गाविसको छुट्टै ऐतिहासिक महत्व बोकेको छ । यो मेलालाई नेपालको एक मात्र आधिकारिक रूपमा आयोजना गरिने जनावरहरूको मेला हो पनि भन्ने गरिन्छ । 

तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले सुरु भएको भन्ने आधिकारिक तिथि, मितिहरू भने कहिकतै भेटिएको छैन । तर कुनै तिथि मिति नभेटिए पनि स्थानीय बूढापाकाहरूका अनुसार यो पर्व करिब दुई सय वर्ष पुरानो मानिन्छ ।
हिउँदमा फुर्सदको समयमा किसानहरु माघे सङ्क्रान्ति पारेर मीठो मसिनो खाएर गोरु जुधाएर मनोरञ्जन लिने परम्पराको विकास सँगै यो परम्पराको एक विशेष रूपमा विकास भएको हो भन्ने यहाँका स्थानीय बासिहरूको बुझाई रहेको छ । मल्ल कालदेखिको इतिहास बोकेको तारुकाको चन्दनीपाटोमा गोरु जुधाउने परम्परा देशभरमै लोकप्रिय छ । मल्लकालीन राजाहरूको बिर्ता रहेको तारुका क्षेत्रमा गोरुजुधाइको प्रचलन बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको पालामा सुरु भएको बताइन्छ ।

.......

मैथिली समुदायमा माघे सङ्क्रान्तिः
पूर्वी तराईका जिल्लाहरुमा मैथिली समुदायले यस पर्वलाई तिला सङ्क्रान्तिको रूपमा मनाउँछन् । यस पर्वमा परिवारका अग्रज र आमा–बाबुले आफ्ना सन्ततिलाई सख्खर र तिल खुवाई उनीहरूबाट बुढेसकालमा सेवा गर्नुपर्ने बचन लिने गर्छन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ ।
यि परिकार पूजापाठ गरी सर्वप्रथम घरका देवदेवीलाई चढाइन्छ । मिथिलाञ्चलमा भक्तजनले माघे सङ्क्रान्तिका दिन बिहानै चोखो भई प्रसन्न मुद्रामा भगवती मन्दिरका प्रवेशद्वार तथा आ–आफ्नो घर–आँगनमा कमलको फूलजस्तै चित्र बनाई श्रृङ्गार गर्छन् । धार्मिक मान्यताअनुसार भगवान र भगवती दुवैलाई सम्मान र श्रद्धाका साथ पूजाआजा गरी भगवतीलाई सिन्दूर, चुरा र तिलको लड्डु चढाउने गरिन्छ भने भगवानलाई मिठाई, फलफूल र तिलको लड्डु अनिवार्य रूपमा चढाई खिचडीको भोग लगाइन्छ । यस पर्वमा खिचडी खान अनिवार्य भएकाले यसलाई खिचडी पर्व पनि भनिन्छ । 

यो पर्वमा ब्राह्मण भोजनको पनि व्यवस्था गरिन्छ । ब्राह्मणलाई दान गर्नका लागि तिल तथा सख्खरबाट बनाइएको लड्डुको प्रयोग गरिन्छ । यस पर्वमा तिल तथा चिउराको प्रयोग अत्यधिक हुने भएकाले यसलाई तिलवाच्युरा पनि भन्ने चलन छ । यसबाहेक चामल, खिचडीका सामग्रीहरू जस्तै मासको दाल, अरवा चामल, नुन, बेसार, तरकारी, घिउ र दही दान गरिन्छ । कतिपय सम्पन्न व्यक्तिले जुत्ता, छाता, ठूलो रूमाल र कम्बल पनि दान गर्छन् । उक्त दान आफ्ना लागि वा पितृहरूका लागि पनि दान गर्ने परम्परा रहिआएको छ । खासगरी मैथिल महिलाका लागि तिला सङ्क्रान्ति पर्वको अझ बढी महत्त्व छ । यसै दिनदेखि कन्याहरू सुयोग्य वर प्राप्तिको कामनाले तुसारी पर्व मनाउन थाल्छन् भने विवाहित महिला पृथ्वी पर्व मनाउने गर्छन् । यस पर्वमा नवविवाहित दुलहाको घरबाट दुलहीको माइतमा तिल वा चिउराको कोसेली र जाडोमा लगाउने लुगा पठाइ दिने परम्परा पनि छ । यस प्रथालाई मैथिलीमा जडाउर भनिन्छ । धेरैजसो मिथिलावासी यसै दिनदेखि माघ स्नान गर्छन् अर्थात् माघ महिनाभर एकाबिहानै नुहाएर घिउखिचडी खान्छन् ।
..........
पश्चिम नेपालमा माघे सङ्क्रान्तिः
दैलेख लगायत पश्चिम नेपालका अधिकांश जिल्लाहरुमा यो पर्व मनाउने छुट्टै परम्परा रहेको छ । यस क्षेत्रमा मकर सङ्क्रान्तिलाई ‘चेलीत्यार’ भनिन्छ । चेलीत्यार भन्नाले चेलीको तिहार भन्ने बुझिन्छ । यस क्षेत्रमा पुस मसान्तका दिनमा तरुल खनेर ल्याउने र पुस मसान्तको राति तरूल, बाबर (सेलरोटी), पकाएर पहिले कागको लागि छुट्याएर पछि घरपरिवारले खाने गरिन्छ । राति पानीको मुहान अथवा पँधेरो नजिकै मुढाहरूको थुप्रो बनाएर धुनी (आगो) लगाइन्छ । गाउँका बुढाबुढी तन्नेरी तरुनीहरू मुढाको आगो ताप्न भेला हुन्छन् । मुढा ताप्ने थलामा रात भर कसैले देउडा लगायत विभिन्न नाचगान गर्छन् भने कसैले गाउँ खाने कथा, दन्तेकथा गरेर रात कटाउँछन् । बिहान भएपछी नुहाएर सबै भन्दा पहिले कागलाई बोलाएर खाना दिने चलन छ । त्यसपछि दिनमा सेल रोटी र तरुलका पोका बनाएर चेलीहरूलाई बाँड्ने चलन छ । 

माइतमा बसेका चेलीहरूलाई गाउँमै पोका बाँडेर पोइल गइसकेका चेलीहरूलाई पनि पोका पुगाउन जाने चलन छ । यदी मकर सङ्क्रान्तिको दिन आफ्नो चेलीलाई पोका दिन सकिएन भने माघको महिना भित्रै कुनै पनि दिनमा एक पटक चेलीलाई सेलरोटी र तरुलको पोका बनाएर पुर्याउने चलन छ । चेलीहरू पनि माघको महिना माइतीहरू आउने बाटो हेर्दछन् ।
......
थारू समुदायको विशेष माघीः
माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन छ । माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन घर–घरमा सुँगुर काट्ने चलन छ, जसलाई ‘जिता मरना दिन’ भनिन्छ ।
पुस मसान्तमा घर–घरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड–रक्सीको साथ खानपिन गरेर रातभर माघी गीत गाउँदै नाचगान गर्दै रमाइलो गर्ने प्रचलन छ । माघीमा गाइने गीतलाई ‘धमार’ भनिन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ । यसलाई ‘माघ लहान’ भन्ने गरिन्छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई ‘खिचरहवा’ भनिन्छ । माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ । यसलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ । माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउस्वरूप चेलीबेटीहरूलाई उपहार दिइन्छ । माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किनेबेला निसराउ लिएर जान्छन् ।

माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन छ । माघीमा नै थारू समुदायका मानिसहरू आफ्नो घर सल्लाह गर्ने प्रचलन रहेको छ । माघीमा दाजुभाई एक ठाउँमा बसेर खानपिन गर्दै घर सल्लाह गर्ने गर्छन् । घर सल्लाहमा कसलाई के जिम्मेवारी दिने, घरको मूलीको बन्नेजस्ता कुराको छलफल हुन्छ । यसैगरी, गाउँको विकास कसरी गर्ने भन्ने सवालमा माघको पहिलो हप्ताभित्रै बैठक बसेर सामूहिकरूपमा गत वर्षको कामकारबाहीबारे छलफल गरिन्छ । वर्षको एकपटक बस्ने गाउँको सो भेलालाई ‘भुरा खेल(ख्याल)’ भनिन्छ ।
बैठक गाउँको अगुवाको घरमा बस्छ । अगुवालाई ठाउँविशेष अनुसार बरघर, ककनदार, भल्मन्सा, महटाँवा पनि भनिन्छ । बैठकमा गत वर्षमा भए गरिएका कुलापानी, धार्मिक पूजापाठलगायत विकासको कामको समीक्षा हुन्छ । आगामी वर्षको लागि उही बरघरलाई निरन्तरता दिने या नयाँ चुन्ने विषयमा छलफल हुन्छ । सोही बैठकले सहायक बरघर, अघारी, सघारी, कुलापानी चौधरी, गाउँको चौकीदारदेखि फलामको काम गर्ने व्यक्तिसम्मको छनोट गर्छ । यही बैठकले गाउँलाई अनुशासित बनाउन नयाँ नियम कानुन पनि बनाउँछ ।
नियम उल्लङ्घन गर्नेलाई बर घरको अध्यक्षतामा बसेको बैठकले जरिवाना तोक्छ । बर घरको महत्वलाई दृष्टिगत गर्दै विगत केही वर्षयता जिल्ला बरघर समिति पनि गठन हुन थालेको छ । यसरी लोकतान्त्रिक ढङ्गले थारू समुदायमा अगुवा चुन्ने काम माघीमा नै गरिन्छ ।
.......
मगर जातिको राष्ट्रिय पर्व माघे सङ्क्रान्तिः
नेपालका मगर जातिले माघे सङ्क्रान्तिलाई मुख्य पर्वको रूपमा धुमधामसँग मनाउने चलन छ । मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे सङ्क्रान्ति पूर्व र पश्चिमका मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ । माघे सङ्क्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ । युवाहरु धनु काँड खेल्दै माघे सङ्क्रान्ति पर्वको सुरु गर्छन् ।
वन–तरुलबिना दिदी बहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले पुस मसान्तमा दाइभाइ वनतिर जान्छन् भने घरमा बसेकाहरू धान कुट्दै, सक्खर तथा घर(तरुल खनेर तयारी गर्छन् । अबेर वन–तरुल लिएर फर्केकाहरू रात भर तरुल पकाउन, पुरु बनाउँने जस्ता मिष्ठान्न भोजन पकाउँछन् । 

माघे सङ्क्रान्तिको दिन बिहान दाजुभाइले नुहाएर खाली पेटमा कुल र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई ‘निस्रो’ले पुज्ने गर्छन् । पूजा गर्दा थाल वा ‘मयो पात’मा अलिकति चामलका साथ विभिन्न तरुल, पुरी, मिठाई आदि खानेकुरा र दक्षिणा (पैसा) राखेर दिने चलनलाई निस्रो भनिन्छ । त्यसपछि वंशजका साथै विवाह गरेर छिमेकी गाउँ–ठाउँमा पुगेका दिदीबहिनीलाई ‘निस्रा’ बाँड्दै घर–घरमा पुग्छन् । विशेष गरी मगर समुदायको अठार मगर बाहुल्य क्षेत्रमा यसको बढि चलन छ । 

दोस्रो दिन अर्थात् माघ २ गते युवतीहरू (माघ खान) समूहमा बाँडिएर गाउँभन्दा टाढा बर्खे गोठतिर लाग्छन् । दाजुभाइले निस्रोमा टक्राएको चामल र विभिन्न खानेकुरा बोकेका उनीहरू साथमा खाना पकाउने भाँडाकुँडा पनि लान्छन् । निस्रोमा आएको खानेकुरा र चामल त्यही दिन सिध्याउने चलन रहेकाले उनीहरू दिनभरिमा ४÷५ पटकसम्म पकाएर खाने गर्छन् । दिन छिप्पिँदै गएपछि ती गाउँको चौतारामा भेला भएर ‘होम्पई’(परम्परागत नृत्यु) नाच्छन् । यो नृत्य र मेला हेर्न गाउँको चौतारीमा मानिसहरु भेला हुन्छन् । मेलामा कसैले पिङ खेल्छन्, कैसैले धनुकाँड खेल्छन्, कसैले नाँच हेर्छन् भने कोही दोहोरी गाएर रमाइलो गर्छन् । 

माघे सङ्क्रान्तिको अन्तिम दिन गाउँभरिका पुरुष भेला भएर ‘तारो हान्ने’ चलन छ । विभिन्न स्थानमा धनुषकाँडले तारो हान्ने गरे पनि झुम्लाबाङमा काठको फल्याकमा अंगारले लगाइएको गोलो चिन्हलाई बन्दुकको निसाना बनाइन्छ । निसाना ताकेकाहरूमध्ये जसले गोलो चिन्हमा लगाउन सक्छ, त्यसलाई तितेपाती लगाई सम्मानसाथ काँधमा बोकेर गाउँ घुमाउने र खानेकुरा खुवाइन्छ । साँझतिर साना केटाकेटी जम्मा भएर घर–घरमा गई ‘बासी आन्द्रा पाई कि नपाई’ भन्दै सोध्ने गर्छन् र उनीहरूलाई पर्वमा बचेखुचेका खानेकुरा दिइन्छ । यसरी मगर जातिको बहुलता रहेको गाउँ झुम्लाबाङमा ‘माघे सङ्क्रान्ति’ हर्षोल्लासका साथ मनाइन्छ ।
........
जहाँ नेपाली त्यही माघे सङ्क्रान्तिः
हिजोआज भने माघे सङ्क्रान्ति देश÷विदेश जतासुकै मनाउने प्रचलन बढ्दै गएको छ । तिलका लड्डु, चाकु, तारुल र सेलरोटी जस्ता विभिन्न परिकारको साथमा माघे सक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ । जाडो याममा पर्ने यो चाडमा शरीरलाई न्यानो राख्न सहयोग पुर्याउने खाध्य सामाग्रीहरुको प्रयोग गरिनु स्वास्थ्यको हिसाबले पनि लाभदायक देखिन्छ । माघे संक्रान्ति एक सांकेतिक पर्व हो, जसले फरक खानपान र जीवनशैलीमा हामीलाई प्रेरित गर्छ । यद्यपी हामी माघे संक्रान्तिको एक दिन मात्र यस्ता खानपान शैली अपनाउँछौं । जबकी जाडो याममा नियमित रुपमा कन्दमुल, चाकु, तीलको लड्डु, खिचडी खानु बढी लाभदायक हुन्छ ।

माघे संक्रान्तिको अर्को प्रचलन भनेको, एउटा घरमा पाकेको खानेकुरा छिमेकमा बाँडीचुडी खानु हो । खासगरी गाँउघरतिर विभिन्न परिकार पकाएर छिमेकमा र्पुयाउने चलन छ । संभवत यो सिजन खाद्य संकट हुने र त्यसलाई टार्नका लागि आपसमा बाँढीचुडी खाने प्रचलन बसाइएको हुनुपर्छ । अहिले त्यस्तो अवस्था नहुन सक्छ । तर, यसले सामाजिक सद्भाव बढाउने काम गर्छ । 

नेपालमा माघे सङ्क्रान्तिको दिन सम्बन्धित जाति तथा समुदायलाई मात्रै विदा दिने गरिएको भएता पनि संविधान जारी भएपछि गत वर्षदेखि यस दिन सार्वजनिक विदा दिने निर्णय मन्त्रीपरिषद्ले गर्ने गरेको छ । यस वर्ष पनि माघे सङ्क्रान्तिमा सरकारले सार्वजनिक विदा दिएको भएपनि कोरोना भाइरस महामारीका कारण दाङ, चितवन, झापा, सुनसरी लगायतका जिल्लामाहरुमा भव्य रुपले लाग्ने माघे मेला यस वर्ष नलाग्ने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै विभिन्न स्थानीय तहका सरकारले ठूलो जमघट हुने स्थानमा मेला लाग्न नदिने निर्णय गरेको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर