प्रदेश दुईमा कुल बजेटको आधा पनि खर्च हुन सकेन

धनुषाको बजेट खर्च निराशाजनक

जनकपुरधाम । गत आर्थिक वर्षको विनियोजित बजेटको खर्चको अवस्था निराशाजनक देखिएको छ । प्रदेश दुई सरकारले आर्थिक वर्ष २०७६÷०७७का ल्याएको बजेटको ४६.९५ प्रतिशत मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७का लागि प्रदेश दुई सरकारले ल्याएको ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार कुल बजेट मध्ये १८ अर्ब २ करोड ३० लाख ५० हजार मात्रै खर्च हुन सकेको छ । गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा २७ प्रतिशत मात्रै खर्च हुन सकेकोमा आर्थिक वर्षको अन्तिम महिना असार मसान्तमा थप १९ प्रतिशत खर्च भएको जनाइएको छ । 

प्रदेश दुई सरकारले ल्याएको बजेटमध्ये सबैभन्दा बढी बजेट धनुषा जिल्लाका लागि छुट्याइएको थियो भने खर्चको अवस्था पनि सबैभन्दा निराशाजनक धनुषा जिल्लाकै रहेको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालय अनुसार धनुषा जिल्लामा २७।९ प्रतिशत मात्रै हुन सकेको छ । धनुषा जिल्लाका लागि प्रदेश दुई सरकारले चालु तर्फ १० अर्ब ४८ करोड छुट्याएकोमा ३ अर्ब २८ करोड खर्च भएको छ । त्यस्ते धनुषा जिल्लाकै लागि पूजीगत तर्फ ११ अर्ब ५४ करोड छुट्याइएकोमा २ अर्ब ८७ करोड मात्रै खर्च हुन सकेको हो । धनुषा जिल्लाका लागि छुट्याइएको बजेट मध्ये कुल ६ अर्ब १४ करोड मात्रै खर्च हुन सकेको छ । 

प्रदेश दुईमा सबैभन्दा बढी खर्च महोत्तरी जिल्लामा भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ । सबैभन्दा कम बजेट समेत महोत्तरी जिल्लाका लागि नै उपलब्ध गराइएको थियो । महोत्तरी जिल्लाका लागि पूजीगत तर्फ छुट्याइएको ६९ करोड ९१ लाख बजेट मध्ये ४५ करोड ८७ लाख खर्च भएको छ । यस हिसाबले महोत्तरी जिल्लामा प्रदेश दुई सरकारले उपलब्ध गराएको बजेटको ७५।२ प्रतिशत बजेट खर्च भएको हो । 

सिरहामा ६२।६९ प्रतिशत बजेट खर्च भएको देखिएको छ । सिरहाका लागि छुट्याइएको १ अर्ब ४८ करोड बजेटमध्ये १ अर्ब ११ करोड बजेट खर्च भएको छ । त्यस्तै सप्तरीमा कुल बजेट १ अर्ब १९ करोडको ६७।७५ प्रतिशत अर्थात ७३ करोड ३४ लाख, सर्लाही जिल्लामा कुल बजेट ९७करोड ८४ लाखको ४२ करोड ४३ लाख अर्र्थात ६८।४७ प्रतिशत खर्च भएको छ । 

रौतहट जिल्लाका लागि पूजीगत तर्फ कुल १ अर्ब ४० करोड बजेट उपलब्ध गराइएको थियो । जसमध्ये १ अर्ब ४ करोड अर्थात ७१ प्रतिशत खर्च भएको पाइएको छ । पर्सा जिल्लाका लागि १ अर्ब ९९ करोड पूजीगत तर्फको बजेट छुट्याइएकोमा १ अर्ब २० करोड अर्थात ५९।४९ प्र्रतिशत खर्च भएको हो । 

आर्थिक वर्ष २०७५/०७६मा प्रदेश दुईमा ५१ प्रतिशतभन्दा बढी बजेट खर्च भएको थियो । गत आर्थिक वर्षमा ४ प्रतिशतले घटेर बजेट मात्रै खर्च भएको छ । गत आर्थिक वर्षमा कोरोना महामारी, अवण्डा रकम बढी रहेकोले बजेट खर्चको अवस्था निराशाजनक रहेको प्रदेश दुईको लेखा नियन्त्रक कार्यालयका प्रमुख मनोज कुमार दासले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर