भेन्टिलेटरको अभावमा बाटोमै बिरामीको मृत्यु, कमिशनमा कुरो नमिल्दा भएन ‘खरिद’

जनकपुरधाम । आइतबार धनुषामा एकजना कोरोना संक्रमितको मृत्यु भयो । धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा शनिबार उपचारका लागि भर्ना भएका ३८ वर्षिय युवकको मृत्यु भएको हो । 

उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  लैजाँदै गर्दा बाटामै निधन भयो । यसको कारण भने जनकपुरधामस्थित उक्त अस्पतालमा भेन्टिलेटर नहुनु । 

प्रदेश २ सरकारले स्वास्थ्य सामाग्री खरिदमा गरेको ढिलाई र अनियमिताको कारण यी संक्रमितले अस्पताल पुग्नुअघि नै ज्यान गुमाउन परेको हो । 

शहीदनगर नगरपालिका ८ डुमरियाका ३८ वर्षिय युवकको श्वासप्रश्वासमा समस्या देखिएपछि धरान रिफर गरिएको थियो । उनको अस्पताल पुग्नुअघि नै मृत्यु भयो । 

प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सकले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखे पनि प्रादेशिक अस्पतालमा उपलब्ध दुर्इवटा भेन्टिलेटर खाली नहुँदा धरान रिफर गरेका थिए । 

गत वैशाखदेखि नै प्रदेश दुईमा कोरोना संक्रमितको चाप बढ्दै गईरहेको छ भने कोरोनाकै कारण प्रदेश दुुइमा १३ जनाको मृत्यु भइसकेको छ । प्रदेश दुईमा सबैभन्दा बढी पर्सामा ६ जना, बारा र रौतहटमा २÷२ जना तथा महोत्तरी, धनुषा र सप्तरीमा १÷१ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

...............
प्रदेश दुईमा ३९ भेन्टिलेटर

कोरोना संक्रमण भएका गम्भीर अवस्थाका बिरामीको उपचारका लागि भेन्टिलेटर र आईसीयू आवश्यक पर्छ । प्रदेश दुईका आठ जिल्लामध्ये तीन जिल्लाको सरकारी अस्पतालमा मात्रै भेन्टिलेटर छ ।

वीरगञ्ज र जनकपुरधामका सरकारी अस्पतालमा मात्र आईसीयू छ । प्रदेश दुईमा सरकारी अस्पताल निजि अस्पताल मिलाएर कुल ३९ वटा भेन्टिलेटर रहेको छ । 

प्रदेश दुईमा सबैभन्दा बढी निजि स्तरमा संचालित पर्साको नेशनल मेडिकल कलेजमा २५ वटा भेन्टिलेटर रहेको छ । 

नीजि स्तरमै संचालित जनकपुरधामको जानकी मेडिकल कलेज संग ५ वटा भेन्टिलेटर रहेको छ । सरकारी स्तरमा संचालित अस्पतालहरुमा प्रदेश दुईमा सबैभन्दा बढी ४ वटा भेन्टिलेटर सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा छ । तर, त्यहाँ आईसीयू छैन । आइसीयु नभएका कारण त्यहाँको भेन्टिलेटर प्रयोगविहिन छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झा भन्छन्, ‘आईसीयू र भेन्टिलेटर दुबै एकसाथ भए मात्र अक्सिजनको मात्रा कम देखिने बिरामीको उपचार गर्न सकिन्छ ।’

प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा दुईवटा मात्रै भेन्टिलेटर छ । बरिष्ठ जनस्वास्सथ्य प्रशासक झाका अनुसार  जनकपुरधाममा कम्तीमा ५ वटा भेन्टिलेटर आवश्यक छ । पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा ३ वटा भेन्टिलेटर छ । 

..............
कमिशनमा कुरा नमिल्दा पुनः टेण्डर आह्वान गरिँदै 

प्रदेशमा भेन्टिलेटर अभाव रहेको विषयलाई लिएर सरकारको आलोचना हुन थालेपछि गत वैशाख ८ गते प्रदेश दुईको मन्त्रिपरिषद बैठकबाट ५० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको थियो ।

भेन्टिलेटर खरिद गर्नका लागि प्रदेश सरकारले प्रत्येक जिल्लामा भेन्टिलेटर सहितको आइसीयु कक्षको व्यवस्था गर्नका लागि रकम समेत निकासा गरि सकेको छ ।

प्रदेश सरकारले भेन्टिलेटर खरिद गर्नका लागि निर्णय गरेको दुई महिना बितिसक्दा समेत किन्न सकिएको छैन । 

हुनत प्रदेश दुुईको सामाजिक विकास मन्त्रालयले गत असार ११ गते टेण्डर आह्वान गरेको थियो ।

प्रदेश सरकारले भेन्टिलेटर खरिद गर्ने नाउँमा करोडौको भ्रष्टाचार गर्न लागेको समाचार दैनिक लगायतका केही संचारमाध्यममा बाहिरिएपछि टेण्डर नै रद्द भएको बताइएको छ ।

‘सामाजिक विकास मन्त्रीका छोरोले टेण्डर भरेको काठमाडौँको एक संस्थासंग भेन्टिलेटर खरिद गर्ने प्रकृयामा कमिशनसम्मको कुरा भइसकेको निथो ।’ मन्त्रालयकै एक अधिकारीले नाम नबताउने शर्तमा समाचार दैनिकसँग भने । 

त्यसैले यी समाचारहरु बाहिरिएपछि टेण्डर नै रद्द गरिएको थियो ।  

हुनत सामाजिक विकास मन्त्री नवलकिशोर साहले कुनै संस्थाको दरखास्त नपरेकाले फेरी टेण्डर आह्वान गर्न लागिएको बताएका छन् । 

यो पनि :
प्रदेश २ : स्वास्थ्य सामाग्री खरिदमा करोडौं भ्रष्टाचार, मन्त्रीकै छोराको संलग्नता

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर