• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

धनुषाका प्रमोद : जसले अस्पतालले उपचार नगरेर फर्काएको २४ घन्टा नपुग्दै संसार छाडे

उपचार अभावमा मृत्यु भएपछि अस्पतालको चर्को आलोचना

जनकपुरधाम । विगत एक वर्षदेखि किड्नीको समस्याबाट ग्रसित सबैला नगरपालिका वडा नं २, धनुषा का प्रमोद महतोले उपचार पाउन नसक्दा ज्यान गुमाए । कोभिड–१९ महामारीकाबीचमा छटपटाउँदै जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पुर्याइएका महतोले उपचारको साटो चिकित्सकको गाली र अपहेलना सहन पर्यो । 

‘बोल्ने आँट र उभिने सामथ्र्य’ नभएको अवस्थामा पुर्याइएको बिरामीलाई अस्पतालको गेटबाटै भित्र छिर्न दिइनन् । भनियो, ‘कोरोनाको बेला यस्तो विरामीको हामी भर्ना लिदैनौ । यहाँबाट जतिसक्दो चाँडो विरामी लानुस् ।’ 

प्रादेशिक अस्पताल बाहिरको एकान्त भागमा राखेर पटक–पटक प्रमोदका बुवा–आमाले हार गुहार मागे । तर, सहयोग पाएनन् । दिउँसो ३ बजे छटपटाउँदै अस्पताल पुर्याइएका प्रमोद अन्ततः उपचारै नपाई साँझ घर फर्कन पुर्यो । 

साँझ सात बजेसम्म समेत कुनै उपाय नदेखेपछि गम्भीर अवस्थामा रहेका छोरालाई घर ल्याउने बाहेक अन्य कुनै विकल्प देखेनन् । छोरालाई राखेर बुवा एम्बुलेन्स खोज्दै हिँडे । करिब आधा दर्जन एम्बुलेन्स चालकसँग उनले घरसम्म पुर्याई दिन आग्रह गरे । तर विरामीको अवस्था देखेर कनुै एम्बुलेन्सले लान मानेनन् । 

जसरी पनि छोरालाई लिएर घरसम्म पुग्नुपर्ने देखेपछि उनी टयाक्सी र जीप चालक पनि चहारे । अन्ततः अटोमा राखेर प्रमोदलाई लिएर घर पुगे । 

.............
बाटोमै मृृत्यु
मंगलबार दिउँसो अस्पताल पुर्याएर पनि उपचार नपाएका प्रमोद रातभरि छटपटाइरहे । उनका आमा–बुवा सहितका परिवारका सदस्यले उनको अवस्था देखेर खाना खान सकेनन् । 

बिहानी उज्यालो भएसँगै आफन्त तथा स्थानिय जनप्रतिनिधिसँग पुनः गुहार मागे । मंगलबार दिउँसो ३ बजे नै अस्पताल पुर्याइएका बिरामी झण्डै २० घन्टा भन्दा बढी समय बितेपछि धरान लान लागियो । तर, उनले धरान नपुग्दै सिरहाका सडकबाटै संसार छाडे । अस्पतालको गेटबाट फर्किएको झण्डै २४ घन्टा पुग्न लागेपछि उनको बाटोमा मृत्यु भयो । 

अहिले आफन्तहरु बेलैमा उपचार पाएको भए बिरामीको मृत्यु नहुने भन्दै शोकमा डुबेको छ ।

.............
एक वर्षअघि यसरी देखियो किड्नीको समस्या

प्रमोद काठमाडौँस्थित एक बैंकमा कार्यरत थिए । त्यहाँ एक दिन रक्तदान कार्यक्रम राखिएको थियो । प्रमोद पनि रुक्तदान गर्न ईच्छुक थिए । चिकित्सकहरुले रगत जाँच गराएर रक्तदान गर्न सल्लाह दिए । उनी काठमाडौँकै मेडिसिटी अस्पतालमा रगत चेकजाँच गराए । त्यहाँ उनको किडनीमा समस्या ठहरियो । किड्नीमा समस्या देखिएपछि प्रमोदले सोही अस्पतालमा चिकित्सकहरुले दिएको औषधी खान शुरु गरे । 

किड्नी समस्या रहेको थाहा पाएपछि उनी तनावमा रहन थाले । तनाव झेल्नै नसकेर बैंकको जागिर पनि छोडे । 

तर स्वास्थ्य अवस्थामा सुधार नआएपछि पछिल्लो केही समय यता उनी योग सँगै पतञ्जलीको औषधी सेवन गरिरहेका थिए । तैपनि उनको स्वास्थ्य अवस्थामा सुधार नआएको उनका फुफा ललिताले बताइन् । उनका अनुसार स्वास्थ्य अवस्था बिग्रिन थालेपछि लकडाउन सुरु हुन लागेकै बेला प्रमोद घर फर्केका थिए । घरमा बस्दा उनको अवस्था झनै खराब हुन थाल्यो । 

त्यसयता उनी निरन्तर रुपमा औषधि सेवन गरिरहेका थिए । लकडाउन हुनुअघि उनले नियमित रुपमा उपचार गराउँदै पनि आएका थिए । एक साताअघिमात्र फुपु ललिताले महाराजगञ्जस्थित टिचिङ अस्पतालमाा उपचचार गराएर घर लगेकि थिइन् । उनका अनुसार प्रमोदको स्वास्थ्यमा केही सुधार आएपछि अस्पतालबाट घर लगिएको थियो । 

फुपु ललिता भन्छिन्,‘चिकित्सकले अझै केहिदिन डाइग्नोसिस गर्नपर्छृ भनेका थिए । केही स्वास्थ्य सुधार हुनेबित्तिकै प्रमोदले घर जान जिद्दि गर्यो । अहिले यहाँ आउँदा उपचार पाएन् ।’ 

.............
मृत्युपछिको रोदन
प्रमोदका बुवा–आमा हदैसम्मको प्रयास गर्दापनि  छोरालाई बचाउन सकेनन् । अहिले परिवारका सदस्यहरु अलि शिक्षित र भनेको लाग्ने भइएको भए छोरा गुमाउन नपर्ने भन्दै गुनासो पोखिरहेका छन् । 

‘कोरोनाको बेला यस्तो बिरामीको हामी भर्ना लिँदैनौ भनेर डाक्टरले फर्काइदियो । गेटबाट भित्र पनि पस्न दिएन् ।’ आँखाभरिको आँशु थाम्दै प्रमोदका बुवा जोगेन्द्र भन्छन्, ‘धरैबेर भएपछि अवस्था बिग्रियो । छोरोले उल्टि पनि गर्यो । उ हाम्रो काबुमै थिएन् । हामी निकै नर्भस भएका थियौं । अन्त्यमा, डाक्टरको खुट्टा ढोग्यौं तर, उपचारका लागि मानेनन् ।’

.............
उपचार गराएका हौं : अस्पताल प्रशासन
किड्नीको समस्याले छटपटाएर अस्पताल पुग्दापनि उपचार नपाएरै झण्डै २४ घन्टापछि बिच बाटोमै उनको मृत्यु भयो । तर, अस्पताल प्रशासन भने आफूहरुले उपचार गराएको दाबी गरिरहेको छ । 

प्रशासनले एक विज्ञप्ति जारी गर्दै बिरामीको उपचार सम्बन्धि कुनै कागजात नरहेपनि चिकित्सकहरुले उपचार गरेको स्पष्टोक्ति दिएको छ । बिरामीलाई चेकजाँच गरेर एक्सरे, ब्लड टेष्ट, सीबीसी, आरएफटी, चेष्ट एक्स रे, युरिन आरई लगायत विभिन्न टेष्ट गराउन भनेकोमा कुनै जानकारी नै नदिई आफै अस्पतालबाट गएको अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

अस्पतालका चिकित्सकहरुले उपचार नगरेपछि प्रमोदको मृत्यु भएको भन्दै अस्पताल प्रशासनको चर्को आलोचना भईरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर