• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

राजा ज्ञानेन्द्रदेखि प्रधानमन्त्री ओलीसम्म, १० नियुक्ति खाने एउटै 'भाग्यमानी' !

काठमाडौं । सत्तारूढ दल नेकपमा निरन्तर जनताको मत पाएर चुनाव जितेका सांसद मन्त्री बन्न नपाइरहेका बेला डा. युवराज खतिवडा मात्रै यस्तो 'भाग्यमानी' व्यक्ति ठहरिएका छन् जसले राष्ट्रिय सभा सदस्य भएर अर्थमन्त्री बन्ने सौभाग्य पाए । नेकपा भित्र पार्टीमा योगदान बलिदान गर्ने नेताहरु चुनाव जितेर तीन पटक सम्म सांसद हुनेको सूची लामै छ ।

तर, ति सांसदका योगदान न पार्टीले देख्यो, न शासनसत्ता सञ्चालन गर्ने नेतृत्वकर्ताले नै । बरु बाहिरबाट टपक्क टिपेर ल्याइएकाले एक पछि अर्काे पद निरन्तर पाए । देश र जनताकै लागि भनेर आफ्नो लामो जीवन राजनीतिमा होमिनेहरु सांसदको बिल्ला भिरेर संसद भवन र घर ओहोरो दोहोरो गरिरहे । अहिले पनि गरिरहेछन् ।

सरकारकाे नेतृत्वले देख्यो पूर्व कर्मचारी डा. युवराज खतिवडा । जो सरकारी कर्मचारीदेखि मन्त्री हुदै अहिले राजदूतसम्म नियुक्तिका लागि सिफारिस भए । खतिवडा नेकपाका शुभेच्छुक मात्रै हुन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा. खतिवडा नभइ कहिल्यै कामै चलेन । 

२०५८ सालदेखि राजाको निरंकुश शासनकालमा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका खतिवडा, आयोगको उपाध्यक्ष, राष्ट्र बैंकको गभर्नर हुँदै पुनः योजना आयोगमै फर्किएका थिए । राजा ज्ञानेन्द्रकाे कालमा याेजना आयोगको उपाध्यक्ष बनेका उनी गणतन्त्रमा अझ शक्तिशाली  अर्थमन्त्री बने । राष्ट्रिय योजना आयोगमा कार्यकाल सकिएपछि युएनडिपीको अर्थविद् नियुक्तिको अफर आयो ।

२०६२ सालमा तीन वर्षका लागि युएनडिपीको क्षेत्रीय केन्द्र कोलम्बोमा बरिष्ठ अर्थविद्का रुपमा नियुक्ति पाएका थिए । एउटा व्यक्ति धेरै ठाउँमा जिम्मेवारी फरक फरक रुपमा खतिवडाले पाए । 

आर्थिक रुपमा अब्बल खतिवडाले अर्थमन्त्री हुदाँ उलेख्य काम देखाउन सकेनन् । तर पनि प्रधानमन्त्री ओलीलाई चित्त बुझेपछि उनी राष्ट्रियसभा सदस्यमा कार्यकाल सकिएपछि पनि सांसद नभएकै अबस्थामा पुन ६ महीना अर्थमन्त्री बने ।

खतिवडाको कार्यकाल सकिएपछि पनि प्रधानमन्त्री ओलीले भदौ २० गतेपछि पनि अर्थमन्त्रालयमा निरन्तरता दिन चाहेका थिए । तर जति जोडबल गरे पनि नसक्ने अबस्था आएपछि प्रधामन्त्री ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकार बनाएर मन्त्री सरहको सुविधा पाउने गरेर नियुक्त गरे ।

प्रधानमन्त्रीको आफ्नै गृहनगर झापा गौरादह–९ बैगुनधारा निवासी युवराजप्रतिको मोह कायमै थियो । राज्यसत्ताको चाबी बोकेका प्रधानमन्त्रीले युवराजलाई कहीँ न कही जोड्न चाहन्थे ।

अहिले उपयुक्त समय पारेर प्रधानमन्त्री ओलीले खतिवडालाई अमेरिकाका लागि राजदूत बनाए । ६४ वर्षका खतिवडाका लागि राजतन्त्रमा मात्रै नभइ गणतन्त्रमा पनि प्रधानमन्त्रीका दाहिना बने । अमेरिकी एमसीसी परियाेजना नेपालमा कार्यान्वयन गराउन महत्वपूर्ण भूमिका खेलेका खतिवडा अहिले अमेरिकाकै लागि राजदूत सिफारिस हुनुलाइ नेकपाले महत्वका साथ हेरेकाे छ । 

खतिवडा लगायतकाे नियुक्तिले नेकपा भित्र भने नयाँ विवाद शुरू भएकाे छ ।

यी हुन् खतिवडाले पाएका १० नियुक्त्रि ः 

. राष्ट्र बैंकको जागिरबाट अवकाश भएपछि २०५८ सालमा राजा ज्ञानेन्द्रले राष्ट्रिय योजना आयोगको सदस्य बनाए ।

. योजना आयोगमा ५ वर्षे कार्यकाल सकिए लगत्तै खतिवडालाई २०६२ मा  युएनडिपीको क्षेत्रीय केन्द्र कोलम्बोमा बरिष्ठ अर्थविद्का रुपमा नियुक्ति ।

. युएनडिपीको तीन वर्षे कार्यकाल सके लगत्तै फेरी तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले २०६६ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्ती गरे  ।

. योजना आयोगमा नियुक्ती पाएको ९ महिना नबित्दै राष्ट्र बैंकको गर्भनर ।

.  २०७१ को फागुनमा गर्भनरबाट बिदा भए लगत्तै  २०७२ कात्तिक १७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त

. योजना आयोगबाट ३ वर्षे कार्यकाल सकाएर बिदा भएका खतिवडा प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा सदस्यमा नियुक्तीका लागि सिफारिस गरे । 

 . राष्ट्रिय सभा सदस्य खतिवडाले २०७४ को फागुन १४ देखि ओली सरकारले अर्थमन्त्रीको जिम्मेवारी पाए ।

. २०७६ को फागुन २० देखि स्वतः राष्ट्रिय सभा सदस्यको पदावधी सकिएको थियो । राष्ट्रिय सभा सदस्यमा पदावधि सकिएसँगै अर्थमन्त्रीको जिम्मेवारी पनि स्वतः सकियो । तर, कार्यकाल सकिएको भोलीपल्ट नै उनलाई ओली सरकारले सांसद नभएपनि ६ महिना सम्म मन्त्री हुन पाउने प्रावधान अनुसार पुनः अर्थमन्त्रीमा नियुक्ती गरे ।

. राष्ट्रिय सभा सदस्यका रूपमा दोहोर्याउन चाहेका प्रधानमन्त्रीले नसकेपछि खतिवडालाइ मन्त्री सरहको सूविधा दिनेगिर विशेष अर्थ सल्लाहकार बनाए । 

 . सल्लाहाकार पदमा नियुक्ति पाएको एक महिना नहुदै सरकारले उनलाइ अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ ।  


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर