इँटाको मूल्य दुई हजारले बढ्यो, उद्योगीको सिण्डिके 

विराटनगर । कोरोना महामारीले आम उपभोक्ता थलिएको बेला यहाँका इँटा व्यवसायीहरुले इँटाको मूल्य वृद्धि गरेका छन् । इँटा उत्पादकहरुले सिण्डिकेट कायम गरी मूल्य बढाएका हुन् । 
महामारीबाट उद्योग, व्यापार तथा आम उपभोक्ता सबै क्षेत्र नराम्ररी प्रभावित भएको बेला व्यवसायीहरुले इँटाको मूल्य बढाएका हुन् । 

कोरोना महामारीसँगै आर्थिक क्रियाकलाप खुम्चिएको र आम्दानी तथा जनताको खर्च गर्ने क्षमतामा ह्रासोन्मुख भएको बेला इँटा उद्योगीहरुले सिण्डिकेट कायम गरी मूल्य बढाउँदा उपभोक्ताहरु झनै मारमा परेका छन् । बजारमा इँटाको चर्को मूल्य बढेपनि त्यस बारेमा सरकार बेखवर छ । मूल्य बढाउनु पर्ने कारण बारे सरकारले अहिलेसम्म कुनै सोधपुछ र सरोकारसमेत नराखेको व्यवसायीहरुले नै बताएका छन् । 

असार मसान्तसम्म प्रतिगोटा १७ देखि १९ रुपैयाँमा बिक्री वितरण हुँदै आएको इँटाको मूल्य  साउनपछि सबै उद्योगले दुई रुपैयाँका दरले बढाएका छन् । अब एक हजार इँटाको मूल्य दुई हजारका दरले वृद्धि भएको छ । 

उद्योगहरुले बजार प्रतिष्पर्धाका आधारमा मुल्य निर्धारण गर्ने भनेपनि सबै उद्योगको वृद्धिदर करिव समान छ । इँटा व्यवसायीहरुले सिण्डिकेट लागु गरेर मूल्य बढाएको आरोप सर्वसाधारणहरुले लगाएका छन् । सबै उद्योगले समान अवधिमा समान मूल्य बढाउनुले  उद्योगीहरुको सिण्डिकेट कायम भएको पुष्टि हुन्छ । 

विराटनगरमा ८ ओटा चिम्नीबाट इटाँ उत्पादन गर्ने ठूलो आनन्द इँटा उद्योगले १८ रुपैयाँबाट बढाएर २० रुपैयाँमा बिक्री गर्न थालेको छ । जय नेपाल इँटाको मूल्य १७ रुपैयाँबाट बढेर १९ रुपैयाँ पुगेको छ । सुनसरीको पवित्रा इँटाले प्रतिगोटा २२ रुपैयाँमा इँटा बेच्न थालेको छ । यस अघि उसले २० रुपैयाँका दरले बिक्री गर्दै आएको थियो । यस क्षेत्रका अधिकांश उद्योगले इटाको मूल्य २ रुपैंया बढाएको कोशी इँटा उद्योग व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले जानकारी दिए । 

साउन महिना यता उद्योगहरुले इँटाको मूल्य बढाएको संघका अध्यक्ष साहले जानकारी दिए । ‘इँटा उद्योगहरुले विगत छ वर्षदेखि मूल्य बढाएका थिएनन् । लामो समय एउटै मूल्य कायम रह्यो,’ अध्यक्ष साहले भने ‘यस पटक खर्च धान्न गाह्रो भएकोले उद्योगहरुले थोरै मूल्य बढाएका छन् ।’ उनका अनुसार १० देखि १५ प्रतिशत मूल्य वृद्धि भएको छ र उक्त मूल्यवृद्धि स्वभाविक हो । 

सबै उद्योगहरुले एउटै समयमा र बराबरी मूल्य बढाउँदा सिण्डिकेट लागू भएको आरोप लागेको विषयमा उनले मूल्य नितान्त उद्योगको विषय भएको दावी गरे । ‘उद्योगका कच्चा पदार्थ, श्रमिक आपुर्ति जस्ता विषयमा आउने समस्या र अधिकारका विषयमा संघले सरोकार राख्छ,’ अध्यक्ष साहले भने ‘मूल्यको विषयमा संघले कुनै भूमिका खेल्दैन, यो नितान्त उद्योगको विषय हो ।’ उनले जति मूल्यमा बेच्दा फाइदा हुन्छ मूल्य त्यसै अनुसार हुने भन्दै उहाँले सिण्डिकेट नभएकै कारण बजारमा अहिलेपयिन १२ रुपैयाँदेखि २२ रुपैयाँसम्ममा इँटा बिक्री हुने गरेको बताए । 

यसअघि पनि जिल्ला दररेट समितिले स्वीकृत गरेको मूल्य भन्दा बढीमा उद्योगीले इँटा बिक्री गर्दै आएका थिए । मोरङ जिल्ला दररेट निर्धारण समितिले गत आर्थिक वर्ष २०७५÷७६ र २०७६÷७७ मा १६ हजार २४८ रुपैयाँ निर्धारण गरेकोमा उद्योगीहरुले १७ देखि २० हजार रुपैयाँले कारोवार गरेका थिए । चालु वर्षका लागि नयाँ दररेट सार्वजनिक भइसकेको छैन तर उद्योगीहरुले मूल्य बढाइसकेका छन् । 

इँटा उद्योगहरुले असोज महिनादेखि चैत्र महिनासम्म उत्पादन गर्ने गरेका छन् । यो वर्ष भारतीय मजदुरहरु नआएका कारण इँटा उत्पादन सुरु भएको छैन । उद्योगले गत वर्ष उत्पादन गरेको इँटा नयाँ मूल्यमा बिक्री गरेर उपभोक्तालाई ठगी गरिरहेको आरोप उपभोक्ताहरुले लगाएका छन् । संघका अध्यक्ष साहले भने साउन अघि रकम जम्मा गर्नेलाई अहिले पनि १७ रुपैयाँमै इँटा बिक्री गरिरहेको बताए । 

व्यवसायीहरुले भारतबाट पत्थर कोइलाको आयात बन्द भएपछि वाध्य भएर इँटाको मूल्य बढाउनु परेको दावी गरेको छ । भारतबाट प्रतिटन २२ हजारसम्ममा कोइला आयात हुनेगरेकोमा अहिले अमेरिका र इन्डोनेसियाबाट आयात गर्दा २७ हजारसम्म खर्च हुने भएपछि मूल्य बढाउनुको विकल्प नरहेको उनीहरुको भनाई छ । 

यस क्षेत्रमा ३३ वटा उद्योगको ६३ वटा चिम्नीबाट इँटा उत्पादन हुँदै आएको छ । यी उद्योगहरुले वर्षेनी झण्डै एक अर्ब थान भन्दा बढी इँटा उत्पादन गर्ने गरेको बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर