• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

ओलीको उत्तराधिकारीः ईश्वर, शंकर, विष्णु माथि 'बादल' !

काठमाडौं । सत्तारु दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) व्यवहारिक रुपमा विभाजन भएको छ । दुई पार्टी बनेको कानुनीे औपचारिक घोषणा हुन बाँकी छ । यद्यपि नेताहरु आ–आफ्नो पक्ष लागि सकेका छन् । 

२०७५ साल ३ जेठमा तत्कालीन एमाले–माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । एकताका बेला पार्टी विभाजन हुन्छ भन्ने कल्पना कमैले गरेका थिए ।

एकतापछि देखिएका अन्तर्विरोधले दुई तिहाई नजिक मत प्राप्त पार्टी यसरी दुई चिरा पर्छ भन्नेमा कसैको मत थिएन । विवाद चर्किंदै जाँदा संसद विघटनसँगै पार्टी विभाजन भयो । पार्टी विभाजन पूर्ववत् एमाले, माओवादीले आ–आफ्नो हाँगा समाउँछन् भन्ने अड्कलबाजी खेर गएको छ । 

एकता हुँदा तत्कालीन माओवादी केन्द्रको हिस्सा ४०–४५ प्रतिशतसम्म थियो । तर अहिले विभाजन हुँदा तत्कालीन एमाले माधव कुमार नेपाल पक्ष र माओवादी केन्द्र एक भएका छन् । अर्न्तघुलनसहित विभाजन भएको छ । यो अर्न्ततघुलन ओलीको भागमा कम परेको छ । 

नेकपा निर्माणताका जुन समीरण थियो । अहिले सबै भत्केको छ । विभाजनसँगै राजनीतिक भाषामा भनिएको अर्न्तघुलन भएको छ । पूर्व एमाले खेमाका माओवादीसँग, पूर्व माओवादी खेमाका एमालेसँग मिसिएर अन्र्तघुलन भएका छन् । जसले दुवै पार्टी ‘लिगेसी’ दुवै पक्षमा बोक्नेबीचको फुट र एकता भएको छ ।

पार्टीको नाम, चिन्ह, लोगो, झण्डा दुवै पक्षले आ–आफ्नो दावी गरिरहेका छन् । दुवै पार्टी पुरानै ‘ब्राण्ड’लाई आ–आफ्नो भनेका छन् । यद्यपि निर्वाचन आयोगको फैसलाले दुवैलाई एउटै ‘ब्राण्ड’बाट स्थापित हुन दिने छैन ।

बहुमत केन्द्रीय सदस्य कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विभाजनपपिछ अध्यक्ष चयन भएका माधव कुमार नेपाल पक्षमा रहेका छन् । जुन संख्याले दल दर्ता सम्बन्धि कानुनी हैसियत राख्छ । उता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले प्रचण्ड–नेपाल पक्ष अलग भएपछि ११ सय जना केन्द्रीय कमिटी गरेर निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
.......
ओलीको उत्ताराधिकारी को ? 
पछिल्लो पटक बहुमत पक्ष प्रचण्ड–नेपाल पक्षमा देखिएका छन् । विभाजनसँगै सचिवालय सदस्य तथा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ओली समूहमा ‘अर्न्तघुलन’ भएपछि फरक ढंगले बहस सुरु भएको छ । अब, ओलीको उत्ताराधिकारी को ? भन्ने चर्चाको थालनी भएको छ ।

विभाजन हुनेबेलासम्म मौन बस्ने तर, व्यवहारले ओलीलाई सधैं बचाउ गर्दै आएका बादल अन्तमा ओलीतिर लहसिए ।  बादललाई ओली समूहले सह–अध्यक्ष दिने बचन दिएको भनिएको छ । सहजै ढंगबाट बादलले सह–अध्यक्ष पाएमा ओलीको उत्तराधिकारी हुन भन्ने प्रमाणित हुन्छ । बादललाई सह–अध्यक्ष दिइएन भने उनी ओलीसँगै बस्छन् वा प्रचण्ड–नेपाल पक्षमा फर्कन्छन् ? त्यसको निधो भविष्यले गर्नेछ ।

बादल नेतृत्वमा आउँदा नेकपा अथवा ओली पक्षका सबै नेता कार्यकताले स्वीकार्लान ? पेचिलो विषय हो । यद्यपि एकताको भाव दिन, ओलीको कमाण्डलाई स्वीकार्ने धेरै रहेकाले त्यस्तो फरक नपर्ने अनुमान गरिएको छ । 

तत्कालीन माओवादी जनयुद्धका कुशल छबि बनाएका नेता हुन् बादल । उनको नामका पछाडि धेरै मिथक जोडिन्थे । सेनाको कमाण्डर, रुस गएर सैन्य विज्ञान बढेको, सैन्य ज्ञान भएको नेता आदि आदि । भलै यि मिथक सत्य वा मिथक मात्रै थिए । यो उनलाई संगत गर्ने प्रचण्ड पक्षका नेता कार्यकर्ताले प्रष्ट्याउने विषय हो ।

भनिएको, सुनिएको मिथक भने माओवादी खुल्ला राजनीतिमा प्रवेशपछि विस्तारै हट्दै गएको यर्थात हो । उनी पहिलो पटक रक्षा मन्त्री बने । रक्षा मन्त्रालय सम्हालेपछि उनको चर्चा झन् बढी हुन थाल्यो । आम्ने–साम्ने भिडेका नेपाली सेना (तत्कालीन शाही सेना)को ‘लाइनमिनिस्टर’ मिथकमा भनिए जस्तै माओवादी सेनाको कमाण्डर हुनुमा आफैँमा चर्चाको विषय थियो ।

जुनबेला शिविरमा रहेका माओवादी लडाकुलाई समायोजन गर्नुपर्ने थियो । गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्ड नेतृत्व सरकार ९ महिनामै राजीनामा दिनुपर्यो । कारण थियो, बादलले सम्हालेको रक्षा मन्त्रालय मातहत रहेका प्रधान सेनापति रुक्माङगत कटुवाल काण्ड । सहज बहुमत प्राप्त माओवादी सरकारबाट हटेपछि विवाद बढ्दै गयो । सेना समायोजन लगायत विषयमा मोहन वैद्य ‘किरण’ले पार्टी विभाजन गरे । बादल पनि किरणको ‘सेकेन्डम्यान’ बने । तर चार बर्षपछि बादल प्रचण्डसँगै फर्किए । 

तत्कालीन माओवादी केन्द्रको तर्फबाट गृहमन्त्री बनेका बादल अहिले ओलीसँग छन् । हेर्दा यतिखेर ओलीतर्फ बादल आफू एक्लै गएको जस्तो देखिन्छ । पछिल्लो पटक उनले पुर्व माओवादीका नेताहरुसँग छलफल अघि बढाएका छन् । प्रचण्ड र एमालेसँग पार्टी एकता गर्दा बादल पक्षका ३४ जना केन्द्रीय सदस्य थिए । तर अहिले ओलीसँग जाँदा उनी एक्ला गएका छन् । अन्य ३३ जना प्रचण्ड–नेपाल पक्षसँगै बसेका छन् । 

राजनीतिमा स्थायी–अस्थायी शत्रु हुँदैनन् भन्ने शब्दले धेरै पटकका घटनाक्रमले तथ्य देखाएको छ । सधै प्रचण्डको पक्षमा लाग्दै आएका बादलले दोस्रो पटक प्रचण्डसँग सम्बन्ध छोडेका छन् । बादलले ओलीसँग गरेको सहयात्रालाई पुर्व माओवादीले सहज रुपमा लिन सकेका छैनन् । तर राजनीति सधै समान रुपमा चल्दैन । बादल बाहेकका पुर्व माओवादीकै  टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, दाबा लामा, लेखराज भट्ट ओली पक्षमा लागेका छन् । सबै जनाले मन्त्री बन्ने अबसर पाएका छन् । 

‍‍‍‍...........

सह–अध्यक्ष प्रस्ताव
बादल कुन पक्षमा लाग्ने भनेर खुलेका थिएनन् । सबैको अनुमान थियो, अन्तिममा पुराना राजनीतिक सहयात्री प्रचण्डतर्फ नै लाग्ने छन् । अझ् उनी निकट ३३ जना केन्द्रीय सदस्यले प्रचण्डसँगै बस्न दबाब दिइरहेका थिए । ओलीले संसद विघटन गरेर प्रतिगामी कदम चालेको भनि समर्थन गर्न नसकिने उनी निकट सदस्यहरुले बताउँदै आएका थिए ।

बादल निकट केन्द्रीय सदस्यपहरु र संघीय, प्रदेश सांसदहरु पुल्चोक बादलको निवास पुगेरै दबाब दिएका थिए । तर अन्तिममा बादलका लागि खुमल्टार भन्दा बालुवाटार प्यारो भयो । उनी बालुवाटरतर्फ मोडिए । 

उनको यो मोडाईमाथि राजनीतिक क्षेत्रमा धेरै लख काटिदैँ छ । त्यो समयले पुष्टि गर्ला । तर, ओलीले आफू पछिको सह–अध्यक्ष दिने प्रस्तावले बादललाई बालुवाटारमा पुर्यायो भन्ने जमात ठूलै छ । बादल एकाएक बालुवाटार पुगेका होइनन् । ‘सकेसम्म एक होऔं’ भनेर खुमल्टार पनि पुगे । खुमाल्टारले उपाध्यक्ष नदिने भएपछि बालुवाटारले सह–अध्यक्षको आश्वासन दिएकाले उनी त्यहाँ पुगे भन्नेहरु धेरै छन् । ओलीले सह–अध्यक्ष दिन्छन् दिंदैनन् त्यो व्यवहारले पुष्टि गर्नेछ । 

बादलले सह–अध्यक्ष पुर्व एमालेबाट ओली पक्षमा लागेका ईश्वर पोखरेल पछाडि धकेलिने छन् । पोखरेलले तत्कालीन एमालेको नवौं महाधिवेशनमा ओली पक्षबाट महासचिव जितेका थिए । महासचिव जितेपछि ओली समूहमा निरन्तर लागेका पोखरेल पार्टी एकताको दिन एकाएक पछारिएका थिए । उप–महासचिव विष्णु पौडेलले महासचिवको बाजी मारेका थिए । 

बादल अहिले सह–अध्यक्ष हुने उधारो प्रस्तावमा ओली पक्षमा गएका छन् । तर, बादललाई मन्त्री परिषद्मा भने पोखरेल भन्दा तल राखेका छन् ओलीले । पोखरेल उप–प्रधानमन्त्री हुन भने बादल गृहमन्त्री । मन्त्री बनेपछि सधैैं विवादमा तानिएका पोखरेलको बचाउ भने ओलीले गर्दै आएका छन् । ओलीले पोखरेललाई चाहेका मन्त्रालय कहिल्यै दिएनन् । रक्षा मन्त्रालयमै हुँदा विवादमा तानिएपछि पोखरेललाई प्रधानमन्त्री मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी उप–प्रधानमन्त्रीको जिम्मेवारी मात्रै दिइएको छ । 

पार्टीमा सह–अध्यक्ष दिए, सरकारमा बादल दोस्रो बरियतामा लिनुपर्ने हुन्छ । तर ओलीको आश्वासन पाएर उनलाई सहयोग गरेका व्यक्तिलाई ओलीले बोेलेको कुरा पुरा गरेका छैनन् । चाहे त्यो महाधिवेशन जित्दा झलनाथ खनाल र वामदेब गौतमलाई दिएको आश्वसन होस् वा पहिलो पटक प्रधानमन्त्री हुँदा आधा–आधा नेतृत्व गर्ने भनि प्रचण्डसँग गरिएको सहमति कार्यान्वयनको सन्दर्भ ।

उनले महाधिवेशनमा आफूलाई सहयोग गरेका खनाललाई राष्ट्रपति बनाउने आश्वासन दिएका थिए । उपाध्यक्ष गौतमलाई कार्यकारी अध्यक्ष दिने बचन दिएका थिए । आफूले अध्यक्षमा जितेपछि ओलीले दुवै जनासँग गरेको प्रतिवद्धता कहिल्यै पुरा गरेनन् । 

ओलीले बादललाई सह–अध्यक्ष बनाउँछन् भन्ने धेरैलाई अशंका छ । ओलीको पछिल्लो पटकको कदम र निर्णयहरुले ओलीको उत्तराधिकारीका रुपमा बादल पुगेको चर्चा भने ओली समूहमै चर्चा सुरु भएको छ ।
....... 
उत्तराधिकारीको होडबाजी
बादल ओली समूहमा समाहित भएपछि ओलीको उत्तराधिकारी बन्नेबीचको होडबाजी चलेको छ । एकतापछिको ओलीलाई आइपरेको संकटका सारथी बनेका थिए लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल । पोखरेलले ओलीलाई हरेक संकटमा साथ मात्र दिएनन् संकटबाट मुक्ति पनि दिलाएका थिए । तर पोखरेल नेतृत्वको उत्तराधिकारीको दौडमा पछाडि परेका छन् । 

यदि बादलले सह–अध्यक्ष पाएमा पार्टीको आउँदो महाविधेशनमा उनको दाबी अध्यक्षमा स्वतः हुनेछ । तर ओलीले उनलाई सह–अध्यक्ष कहिले दिन्छन् त्यो पनि निश्चितता छैन । यदि उनले ईश्वर पोखरेलाई आफ्नो उत्तराधिकारी बनाएमा बादलको बर्हिगमन हुन्छ अथवा त्यही बस्छन् भविश्यको गर्भभित्रै छ ।

ओली पक्षमा पुर्व माओवादीलाई हेर्ने दृष्टिकोण फरक छ । ओली पक्षदले माओवादीलाई राम्रो मान्दैन । तर अहिले प्रचण्डलाई देखाउन भएपनि ओलीले माओवादीलाई साथमा राखेका छन् । पुर्व माओवादीका सबै नेताहरुलाई मन्त्रीसमेत बनाएका छन् । संसद पुनःस्थापना भएमा सबैको मन्त्री पद जाने नै छ । यदि राजनीतिमा भवितव्य नपरेमा कामचलाउ सरकारका मन्त्रीहरु निर्वाचनसम्म रहने छन् ।  

बादल र तत्कालीन एमालेको विचारधारा फरक छ । अझ ओली पक्ष ‘जनताको बहुदलीय जनवाद’को पक्षमा छन् । बादल कुन कार्यदिशा लिने भन्ने बारे अहिलेपनि खुलेका छैनन् । जबज कि उनी एक्काइसौं शताब्दीको जनवादमा उनी सहमति छन् । 

जबजको सबै भन्दा बढी वकालत गर्ने पोखरेल हुन । पोखरेलको यो कवालतीले पुर्व एमालेको ‘लिगेसी’बाट ओलीको उत्ताराधिकारी बन्न सक्ने दाउमा छन् । व्यवहारिक रुपमा पोखरेल पछिल्लो समयमा ओलीबाट पाखा लगाईदै आएका छन् । उनले सुरुमा अर्थमन्त्री मागे । तर ओलीले रक्षा मन्त्रालय भिडाए । त्यसपछि उनको जोडबल गृहमन्त्रालयतर्फ थियो ।

पोखरेलले अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा जान चाहे । त्यो सपना पनि पुरा भएन । खतिवडा मन्त्रीबाट बर्हिगमनपछि अर्थमन्त्रालय जान चाहेका थिए पोखरेल । त्यो समयमा पनि उनी सफल हुन सकेनन् । पोखरेलको चाहना कुनै पुरा भएन बरु, हुँदाखाँदाको रक्षामन्त्रालय समेत खोसियो । उनी अहिले प्रधानमन्त्री कार्यलय हेर्ने गरी उप–प्रधानमन्त्री छन् । तर कामकाजीका लागि कुनै मन्त्रालयको पाएका छैनन् । 

एमालेको नवौं महाधिवेशनबाट उप–महासचिव विष्णु पौडेल पार्टी एकताको दिन महासचिव बने । उनी ओली नजिकको मानिन्छन् । उनले नै अर्थमन्त्री पाए । तर पोखरेलले जति जोडबल गर्दा पनि अर्थमन्त्री पाएनन् । ओलीलाई पौडेलले पत्याएका छन् । तर उत्तराधिकारीको रुपमा भने उनलाई पनि त्यति सहज छैन । धेरै काण्डमा मुछिएका पौडेल कार्यकर्ता माझ पनि त्यति रुचाइएका नेता होइनन् । 

शंकर पोखरेल पनि ओलीको निकट नै हुन । तर अहिले शंकरलाई नेतृत्वमा ओलीले ल्याउछन् अथवा ल्याउँदैनन् ? पछिल्लो समयमा ओलीले नै दोस्रो पुस्ताका नेताहरुलाई नेतृत्व दिने प्रस्ताव गरेका थिए । यद्यपि पार्टी विभाजन पछि आफ्नो नेतृत्वमा ११ सय केन्द्रीय सदस्य थप्दा दोस्रो पुस्ताको नेतालाई अध्यक्षमा प्रस्ताव गरेनन् । उल्टै एकल अध्यक्ष बनेका छन् । 

बादलले नै सह–अध्यक्ष पाएमा सबैका लागि सर्वस्वीकार्य बन्न कठिन छ । सबै भन्दा लामो लिगेसी बोकेको तत्कालीन एमाले ०५४ मा विभाजन भएको मालेलाई त नेतृत्व स्वीकार्न कठिन मान्छ भने फरक पृष्ठ भूमिका बादललाई कसरी स्वीकार्लान र ? भन्ने तर्क ओलीलाई नजिकबाट बुझ्नेहरुले गरिरहेका छन् । यदि बादललाई ओलीले आश्वासन दिए अनुसार सह–अध्यक्ष भएमा उप–प्रधानमन्त्री पनि हुनु पर्नेछ । त्यो पनि पोखरेल भन्दा माथी । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर