ओल्ट्याङ खोलाको कथा र ओलीको गिनिज वुक अफ वर्ल्ड रेकर्ड
तनहुँ जिल्लाको भीमाद नजिकै एउटा खोला पर्छ । जस्को नाम हो, ओल्ट्याङ खोला । भीमादमा मोटर बाटो नपुग्दासम्म वरपरका गाउँहरु र नजिकै जिल्लाका बुढापाकाले भीमादमा उल्टो दिशामा खोला बग्छ भनेर खुब गफ पिट्थे । अर्थात, दक्षिणबाट उत्तर तर्फ । झट्ट सुन्दा ओरालोबाट उकालो तर्फ । जस्ले यो खोला देखेका हुँदैनथे, उनिहरुलाई अलिअलि पत्यार पनि लागी हाल्थ्यो । कास्की, लमजुङ लगायतका जिल्लाका बासिन्दाले हो के रे भीमादमा उल्टो खोला बग्छ भनेर पत्याइ पनि हाल्थे । जब, मोटर बाटो खुल्यो, सबैको सोझो आउजाउ चल्यो, ओल्ट्याङ खोला कसरी बगिररहेको रहेछ, सबैलाई छर्लंग भयो ।
हाम्रा अधिकांश नदी, खोलाहरु उत्तर भएर दक्षिण तर्फको दिशामा बगिरहेका छन् । उत्तर उकालो भाग, दक्षिण ओरालो । तर, कतिपय भु–सतह दक्षिण तर्फ पनि उकालो पर्छ । ओल्ट्याङ खोलाको बास्तविकता पनि यहि हो । यो खोलाको केहि लम्बाई ओरालो सतहका कारण दक्षिणबाट उत्तर दिशामा बगेको छ । खोला उल्टो दिशामा बगेको आधारमा परापुर्वकालदेखि नै यो खोलाको नाम ओल्ट्याङ खोला नाम राखिदिए । तर, पानी त ओरालो तर्फ नै बगेको हो ।
एमालेका अध्यक्ष केपी ओली फरर कुरा गर्न माहिर छन् । बुधवार पनि उनले धेरै मध्ये एक आश्चार्यजनक कुरा ओकले । उनले भनेका थिए,‘एमालेसंग गिनिज वुकमा नाम लेखाउन धेरै बिषय छन् । गिनिज वुक अफ वर्ल्र्ड रेकर्डका आधा भाग त मेरा र एमालेका बिषयले नै भरिन्छ ।’ उनको यस्तो भाषणमा उनका कार्यकर्ताले परर ताली बजाए । फेरि उत्साहित हुँदै ओलीले भने,‘हामीले दावी गर्ने हो भने गिनिज वुकमा नाम लेखाउने एमालेका धेरै कामहरु छन् । दुई/दुई पटक किड्नी फेरेको प्रधानमन्त्री को होला बिश्वमा ? दुई पटक किड्नी फेरेर पनि त्यो पनि स्वस्थ व्यक्ति । सडकदेखि अस्पतालसम्मका एमालेका कामहरुले गिनिज वुकका आधा भागहरु भरिनेछन् ।’
झट्ट सुन्दा ओलीका कुराहरु, उहि ओल्ट्याङ खोला ओरालोबाट उकालो तर्फ बग्छ भने जस्तै हो । उनका अनुयायीहरुले तुरुन्त पत्याइदिन्छन् । जो, सत्य कुरामा बिश्वास गर्छन्, उनिहरु ओलीका कुराहरुलाई भर गर्ने आधार भेट्याउँदैनन् ।
ओलीको व्यक्तिगत जीवनमा उनले स्वास्थ्य प्रतिकुलताको ठुलो सामना गर्नुपर्यो । स्वास्थ्य प्रतिकुलताका बावजुद पनि उनि तीन पटक प्रधानमन्त्री भए । यो उनी भित्रको आत्मबिश्वासको परिणाम थियो । उनिसंग जति आत्मबिश्वास छ, त्यति उनिमा अभिमानको पारो पनि चढ्दो छ ।
गिनिज वुकमा नाम लेखाउन बिश्वका मानिसहरु आर्कषित हुन्छन् । फरक र अनौठा गतिबिधी गर्नेहरु यस्ता रेकर्ड राख्न सफल भएका उदाहरणहरु छन् । ओलीका जीवनमा पनि उनले उल्टो रेकर्ड राखे कि सूल्टो रेकर्ड राखे एक पटक पुनरावलोकन गर्न सकिन्छ ।
ओलीका हुँकारयुक्त अभिव्यक्तिहरु तनहुँको ‘ओल्ट्याङ खोला’ उल्टो बग्छ भनेर झुक्याए जस्तै हो । न ओल्ट्याङ खोला उकालो तर्फ बगेको हो, न ओलीका विगतका कदमहरुले उकालो चढेका छन् । यी दुवै प्रवृतिहरु ओरालो तर्फ नै बगेका हुन् । दिशा जुनसुकै होस, ओलीका विगतका कामहरु देश र जनताका लागि ओरालो परिणामका द्योतक नै हुन् । गिनिज वुक अफ वर्ल्ड रेकर्डका लागि ओलीका विगतका कामहरु तनहुँको ओल्ट्याङ खोला (उकालो) उल्टो दिशा तर्फ बग्छ भने जस्तै हो ।जब उनले बहुमतको सरकार हुँदा हुँदै पहिलो पटक गत माघमा संसद विघटन गर्न राष्ट्रपति कहाँ सिफारिस गरे, तब उनले नयाँ रेकर्डको शुरुवात गरे । त्यसपछि, उनले ४ महिनापछि जेठमा दोस्रो पटक संसद विघटनको प्रयास गरे, ओलीका थप रेकर्डहरु थपिंदै गए । किनकी, ससारमा बहुमत सरकारको प्रमुखले आफ्नै सरकार ढलाएको उदाहरण कहिं छैन । यी दुवै विघटनका कामहरु ओलीका सबैभन्दा अनौठा र फरक प्रकृतिका कामहरु हुन् । यी रेकर्डहरुको परिणामबाट देशले बर्बादी भोगेपनि ओलीको जीवनमा भने रेकर्ड नै कायम गरेको छ । यस्ता जनता र देशलाई उल्टो परिणाम दिलाउने प्रकृतिका रेकर्डका कामहरु ओलीको दुबै प्रधानमन्त्रीत्वकालमा खुबै भए । तिनका फेहरिस्त आजको सुचनाको दुनियाँमा सारा नेपाली जनतालाई थाहा नै छ । त्यति मात्र ओलीले रेकर्ड राखेका छैनन्, सांसद नभएका युवराज खतिवडालाई मन्त्री बनाएर उनले अर्को रेकर्डको शुरुवात गरिदिए । नेपाल राष्ट्र बैंक र महालेखा परिक्षकले एउटा प्रतिवेदन तयार पारथ्र्यो त्यो बेला, तर ओली सरकारले अर्को रेकर्ड तयार गर्थ्र्यो । आर्थिक बृद्धिदरका प्रतिवेदनहरु ओली प्रधानमन्त्रीकालमा उल्टापुल्टा तयार गरिन्थे । बिश्वका मानवअधिकार संस्थाहरुको रेकर्डलाई उनले चुनौती दिन्थे । यस्ता अनेक हर्कतले ओलीले नयाँ नयाँ रेकर्ड राखेकै हुन् । एक साथ यति अस्पताल शिल्यान्यास,यति सडक निर्माण आदि जस्ता बिषय ओलीले जहिल्यै भाषणमा दोहोर्याउँछन् । उनले शिल्यान्यास गरेका यस्ता संरचना निर्माणको शुरुवात त के प्रारम्भिक प्रतिवेदन पनि तयार छैनन् । देशभरका सरकारी अस्पतालको हालत झन खराबकै अबस्थामा छन् । नयाँ स्वास्थ्य संरचना निर्माणको कुरा त धेरै परको कुरा । तथ्यहरुले पुष्टि गरेका बिषयलाई ओलीले उल्टोबाट ब्याख्या गरिदिन्छन् । उनका यस्ता फोहोरा जस्ता बाणीहरुलाई समर्थकले सजिलै फैलाइदिन्छन् । ओली सरकारले संबिधानकै खिलापमा काम गरेको सारा नेपालले बोल्दा पनि ओली टसकोमस भएनन् । उनि उल्टो दिशामै अडिग रहे । पार्टी भित्रको एउटा समर्थकको भीडका कारण ओली झन उत्साहित हुन्थे । आफ्नै कारणले प्रधानमन्त्री पदबाट हटाईंदा पनि उनि बिजयी जुलुशहरु निकालेर घरसम्म पुग्थे । पुरा अबधी नपुग्दै प्रधानमन्त्री पदबाट बाहिरिनु परेको आत्मग्लानी ओलीमा देखिएन । उनको यो आश्चार्य लाग्दो भाव पनि रेकर्डको अर्को बिषय हो । यस्ता, अनौठा प्रकृतिका वर्ल्ड रेकर्डले गिनिज वुकमा उनले नाम लेखाउन भने पक्कै सक्लान् । यहाँ देउवा सरकार उत्कृष्ट ओलीकाल निकृष्ट चित्रण गरिएको होइन । यस्ता केहि नकारात्मक तथ्यहरु छन्, जुन ओलीले नयाँ रेकर्ड कायम गर्न सफल भएका छन् भन्ने इंगित गरिएको हो । यो उनकै बोलीबाट निस्किएको वर्ल्र्ड रेकर्डका प्रसंगहरु पनि हुन् । केपी ओली भित्र जति आत्मबिश्वासको शक्ति छ, उति उनि भित्र अहंमताको शक्ति बलवान छ । यो अहंमताको शक्तिले पार्टी फुट्दा पनि उनि किञ्चित पश्चातापबोध गर्देनन् । बरु, अझ शक्तिशाली भएको भ्रम पैदा गरिदिन्छन् । यो भ्रम पनि उनको जीवनमा अर्को रेकर्ड नै हो । ओलीले सृजना गरेका र उनको पार्टीले तयार गरेका यस्ता अनौठा हर्कतको लामो लिष्ट नै तयार गर्न विगतलाई सरसरर्ती सम्झिए पुग्छ । यी त्यस्ता, रेकर्ड हुन्, जस्को कुनै सकारात्मक अर्थ छैन । नजिकबाट नियाल्न नसक्ने र नखोज्नेका लागि यस्ता रेकर्डहरु सुल्टा लाग्छन् । जब नजिकबाट सत्यमा टेकेर कसैले नियाल्न पुग्छ, ओलीका अहिलेसम्मका सबै कामहरु उल्टा देखिन्छन् । भ्रमले बिनास तर्फ डोर्याउँछ भने झैं, ओलीका यी भ्रमपुर्ण कुतर्कहरुले भविस्यमा एमालेलाई कति चकनाचुर पार्न सक्छ, अनेक कोणबाट व्याख्या गर्न सकिन्छ । ओलीका हुँकारयुक्त अभिव्यक्तिहरु तनहुँको ‘ओल्ट्याङ खोला’ उल्टो बग्छ भनेर झुक्याए जस्तै हो । न ओल्ट्याङ खोला उकालो तर्फ बगेको हो, न ओलीका विगतका कदमहरुले उकालो चढेका छन् । यी दुवै प्रवृतिहरु ओरालो तर्फ नै बगेका हुन् । दिशा जुनसुकै होस, ओलीका विगतका कामहरु देश र जनताका लागि ओरालो परिणामका द्योतक नै हुन् । गिनिज वुक अफ वर्ल्ड रेकर्डका लागि ओलीका विगतका कामहरु तनहुँको ओल्ट्याङ खोला (उकालो) उल्टो दिशा तर्फ बग्छ भने जस्तै हो । किनकी भ्रमका खेती गरेर बाली (फसल) घर भित्र्याउन सफल भएको उदाहरण बिश्वमा कहिं छैन ।
प्रतिकृया दिनुहोस