• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

मृत्युका कारक ग्रामीण सडक 

गलेश्वर । पछिल्लो समय गाउँगाउँमा सडक पुर्‍याउने होडबाजी चलिरहेको छ । 

‘गाउँमा सडक पुर्‍याउन पाए सबै सुविधा आफैं आउँथे’ भन्ने मानसिकताले सडक बनाउन पालिकाले पनि प्राथमिकतामा परेका छन् । सरकारी मापदण्डको ख्यालै नगरी डोजर चालकलाई नै इञ्जिनीयर बनाई गाउँगाउँमा ग्रेड नमिलाई खनिएका साँघुरा सडक मृत्युका कारक पनि बनिरहेका छन् । यस्ता सडकले केही दिनसम्म खुसी दिए पनि वर्षौंसम्म पीडाका कारण बनेका उदाहरण देखिएका छन् ।

गत मङ्सिर १३ गते सोमबार साँझ म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा भएको बोलेरो जीप दुर्घटना । साँघुरो र घुम्ती नपुगेको सडक नै दुर्घटनाका प्रमुख कारण मानिएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

जिल्ला सदरमुकाम बेनीबाट उत्तरी म्याग्दीको बेग जाँदै गरेको ग१ज ७२५१ नम्बरको बोलेरो जीप घाप्पा औँलको उकालो मोड नपुग्ने घुम्तीबाट करिब ३०० मिटरभन्दा तल खसेर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेगका स्थानीय खिम पुन, खिमानन्द शर्मा, जीपका चालक दूतबहादुर थापा र वडा सदस्य गौमायाँ विश्वकर्मा रहेका छन् भने अन्य चार जना घाइते भएका छन् । 

बाटो साँघुरो भएकाले घुम्तीमा मोड नपुगेर पछि सर्ने क्रममा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले जानकारी दिए  “उकालो, साँघुरो र चिप्लो सडक दुर्घटनाका कारण देखिएको छ, अधिकांश दुर्घटनामा जीर्ण सडकमा चालकले सावधानी अपनाउन नसकेको देखिन्छ”, उनले भने । 

यसैगरी गत साउन १५ गते धवलागिरि गाउँपालिका–७ धारापानी नजिकै पर्ने बादिकाको भिरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । ताकमदेखि दरबाङतर्फ आउँदै गरेको ग१ज ६८०५ नम्बरको जीप बादिकाको भिरमा दुर्घटनामा परेको थियो । अक्करे पहाडमा बनाइएको सडकको ग्रेड मिलेको छैन भने सडक साँघुरो रहेको छ ।

यसअघि गत असार १६ गते बेनीदेखि मङ्गला गाउँपालिका–१ पूर्णगाउँतर्फ जाँदै गरेको ग १ज ७६५२ नम्बरको जीप सोही गाउँपालिका– २ सिमलचौरको मिठौला, नेवारेखोलामा दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए । 

उक्त दुर्घटनामा समेत जीर्ण सडक नै दुर्घटनाका कारण मानिएको थियो । जिल्लामा विस्तार भएका ग्रामीण सडक अधिकांश मापदण्डविपरीत विस्तार भएका छन् । प्राविधिक सर्वेविना डोजर चालकको भरमा मापदण्ड पूरा नगरिकन विस्तार भएका सडक जीर्ण, साँघुरा र ग्रेड नमिलेका छन् ।

जिल्लामा हरेक वर्ष दुर्घटनाको सङ्ख्या र त्यसमा हुने मानवीय क्षति बढ्दो रहेको तथ्याङ्कमा देखिएको छ । चालू आर्थिक वर्षको मङ्सिर १५ गतेसम्ममा जिल्लामा पाँच वटा सवारी दुर्घटना हुँदा छ जनाको मृत्यु भइसकेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, आव २०७५÷०७६ मा सात वटा सवारी दुर्घटना भएका थिए भने दुई जनाको ज्यान गएको थियो । त्यसैगरी आव २०७६÷०७७ मा १३ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । आव २०७७÷०७८ मा १२ वटा सवारी दुर्घटना भएका थिए भने आठ जनाको मृत्यु भएको कार्यालय प्रमुख नेपालीले जानकारी दिए ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतना र जाँचमा कडाइ गरिए पनि सडकको जीर्ण अवस्था र चालकको लापरबाहीले दुर्घटनालाई कम गर्न चुनौती थपिएको उनको भनाइ छ । एक नगरपालिका र ५ गाउँपालिकामा रहेका ४५ वटा वडामध्ये जिल्लामा धवलागिरि –१ गुर्जाबाहेक अन्य सबै वडामा कच्ची सडकको सञ्जालले जोडिएको छ । 

जिल्लाभर हालसम्म ५७२ किलोमिटर बढी कच्ची सडक विस्तार भइसकेको छ भने जिल्लाभरमा जम्मा नौ किलोमिटर सडकमात्रै कालोपत्र गरिएको छ । अहिले स्थानीय तहको पहलमा गाउँमा आफ्नो बाटो आफैँ बनाउन स्थानीय बासिन्दा लागिपरेका छन् । यसरी स्थानीयवासी नै अग्रसर भएर निर्माण गरिने ग्रामीण सडकमा डोजर चालक नै इञ्जिनीयर बन्छन् । यस्ता सडक वर्षातका समयमा अभिसाप बन्दै गएका छन् । हरेक सडकमा वर्षा लागेसँगै पहिरो जान्छ । पहिराबाट धेरै धनजनको क्षति हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

ग्रामीण भेगमा रहेका हरेक बस्तीमा सडक पुगेपछि सडक पुगेको पहिलो वर्ष स्थानीय हर्षित हुने गरे पनि खुसीको सीमा केही महिनामा टुट्ने गरेको मङ्गला गाउँपालिका अर्मनका श्रीधर सापकोटाले बताए ।

उनको घरमाथिबाट खनिएको सडकका कारण वर्षा हुँदा अन्यत्र गएर बस्नुपर्ने अवस्था आएको छ । घरमाथिबाट पहिरो खसेका कारण आफू विस्थापित भएर बेँसी घरमा बस्न बाध्य भएको उनले गुनासो गरे ।

विकासको पहिलो खुड्किलो नै सडक भएपछि ग्रामीण भेगमा हरेक गाउँ बस्तीमा सडक पगेपछि स्थानीयको खुसी वर्षा लागेसँगै पीडामा बदलिएको छ । गाउँस्तरमा खनिएका सडक मनोमानी खनिँदा पछिल्ला वर्ष सडक नै काल बन्दै गएपछि जिल्लाका स्थानीय त्रसित भएका छन् । ग्रामीण सडकमा स्थानीयबीच असहमति हुँदा चालक नै इञ्जिनीयर बनेर सडक निर्माण गरिएका हुन्छन् ।

हरेक सर्वसाधारणको घरपायक पुर्‍याउनुपर्ने भएका कारण सडक मापदण्डविपरीत खनिन्छन् र केही समयको खुसी एक दुई महिना नबित्दै पीडामा परिणत भएको बेनी नगरपालिका– ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले बताए ।

पहाडी भूगोलमा सडक मनोमानी तरिकाले खनिएपछि ग्रामीण बस्ती पहिराकोसमेत उच्च जोखिममा रहेका छन् । कृषि तथा वडास्तरीय सडकमा इञ्जिनीयरिङ मापदण्डलाई ख्यालै नगरी उपभोक्ता समिति र डोजर चालक आफैँ इञ्जिनीयर बनेर सडक खन्ने गरेपछि जिल्लाका धेरै स्थानमा ठूल्ठूला पहिरोसमेत गएका छन् ।

सर्वसाधारणको मनखुसी भएका कारण नै ग्रामीण बस्तीमा सडक मनोमानी र मापदण्डविपरीत भएको डोजर चालक बताउँछन् । जसरी पनि भनेको ठाउँमा सडक पु¥याउनुपर्छ भनेपछि आफूहरूले सडक भनेकै स्थानमा पु¥याउने गरेको एक चालकले बताए । सडककै कारण गएको पहिरामा परी म्याग्दीमा विगत तीन वर्षको अवधिमा ३७ वटा सवारी दुर्घटना भएका छन् भने ३० जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्क छ ।

विशेष गरी सडक ग्रेडको उचाई धेरै भएको प्राविधिक बताउँछन् । कृषि सडकमा ग्रेड हाइट बढीमा १२ डिग्रीसम्म हुनुपर्नेमा ३५ डिग्रीसम्म खनिएका छन् । यस्ता सडकमा गाडी चल्न मुस्किल हुने र दुर्घटना बढी हुने प्राविधिकको भनाइ  छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर