• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

राज्यको सम्पत्ति दोहन गर्ने बतास समूहसँग देउवादेखि ओलीसम्मको नेक्सस !

काठमाडौं । राजनीतिक पहुँचका आधारमा लामो समयदेखि राज्यको सम्पत्ति दोहन गरिरहेको बतास समूहको कर्तुत शृंखलाबद्ध रुपमा सार्वजनिक हुन थालेका छन् । राज्य सञ्चालनमा रहेका मुख्य व्यक्तिहरुलाई प्रभावमा पारेर बतास समूहले पुरातात्विक सम्पदा,सांस्कृतिक तथा प्राकृतिक स्रोत साधनमाथि आफ्नो पकड जमाएको फेहरिस्त एक पछि अर्को सार्वजनिक भईरहेका छन् । पूर्व राजा वीरेन्द्र र उनका परिवारको सम्पत्ति देशमा गणतन्त्र आएपछि ट्रस्ट मार्फत राष्ट्रियकरण गरिएको थियो । नेपाल ट्रष्ट मातहत रहेको सम्पत्ति अहिले एकपछि अर्को गर्दै दोहन भइरहेको छ । 

एमालेको वरिष्ठ उपाध्यक्षसमेत रहेका ईश्वर पोखरेल तत्कालीन केपी ओली नेतृत्वको सरकारमा रक्षा मन्त्री थिए । ओली नेतृत्वको सरकारका पालामा सबैभन्दा बढी भ्रष्टाचार उनै पोखरेलले नेतृत्व गरेको अड्डाहरुमा भएको थियो । पोखरेल भने नेपाल ट्रस्टको अध्यक्षसमेत थिए । उनले यती समूहलाई ट्रस्टमा रहेको पूर्वराजपरिवारको सम्पत्ति कौडीको भाउमा दिएका थिए । गोकर्ण रिसोर्ट, दरबारमार्गमा रहेको ट्रस्टको केन्द्रीय कार्यालय रहेको भवन लगायतका थुप्रै सम्पत्ति कौडीको भाउनमा यती समूहलाई दिएका थिए ।

बतास समूहले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट सञ्चालनका लागि अनुमति पाएको थियो । तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराईले ‘कफि सप’ खोल्न लागेको भन्दै स्वीकार गरेका थिए । यसरी नारायणहिटीभित्र रेस्टुरेन्ट खोल्न दिने तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार थियो । उनले संग्रहालयभित्र रोयल बगैँचा रेस्टुरेन्ट सञ्चालनका लागि अनुमति दिएका थिए । त्यसपछि बतास समूहले धमाधम संरचनाहरु निर्माण गर्न सुरु गरेको थियो । 

नारायणहिटीभित्र बनिरहेको संरचना लगायतका कार्य रोक्न पर्यटनमन्त्री प्रेम आलेले निर्देशन दिएका छन् । मन्त्री आलेको निर्देशनपछि भने निर्माणका कार्यमा रोकिएका छन् । मन्त्री आलेले नारायणहिटी भित्र रेस्टुरेन्ट खोल्न दिनेबारे छानविन गर्नका लागि समिति नै बनाएका छन् । उनले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका छन् । आइतबार सम्ममा नवनिर्मित संरचना नभत्काए आफैं गएर भत्काउने मन्त्री आलेले चेतावनी दिएका छन् ।
बतास समूहसँग देउवादेखि ओलीसम्मको नेक्सस
धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदामाथि दोहन गरिरहेको बतास समूहका अध्यक्ष भने आनन्दराज बतास हुन् । उनी आफूलाई कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निकटको भएको बताउँछन् । बतास समूहमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको आवद्धतासमेत रहेको छ । उनी बतास समूहकी सल्लाहकार पनि हुन् । नारायणहिटीमा रेस्टुरेन्ट बनाउन दिएको बारे विवाद भएपछि बतास समूहले आरजुको नाम आफ्नो वेभसाइटबाट हटाएको छ । प्राइम टेलिभिटनको स्ट्रिङ अप्रेसनको भिडियोमा भने बतास समूहका अध्यक्ष आनन्दराज बतासले आफू देउवा निकट रहेको र आरजु पनि व्यवसायी पार्टन रहेको खुलासा गरेका हुन् । 

‘म शेरबहादुर देउवाको मान्छे हुँ । तीन वटै काम केपी ओलीको पालामा भएका छन् । कम्युनिस्टले मलाई दिन्थे ? यो त टेन्डर निकाल्यो प्राविधिकमा पास भयो, मैले पाएँ । तपाईलाई लाग्छ कांग्रेसबाट कांग्रेसले मात्रै पाउँछ, कम्युनिस्टबाट कम्युनिस्टले मात्रै पाउँछ ? यस्तो छ दुनियाँमा ? व्युरोक्रेसीमा खेल्न त को खेल्दैन ? के लुकाउनु छ मैले पनि खेलेको हो,’ अध्यक्ष बतासले भने,‘शेरबहादुर देउवा अहिले प्राइमिनिस्टर (प्रधानमन्त्री), आनन्द बतास देउवाको नजिकको मान्छे । देउवाको पैसा चलाउछ भन्छ एक रुपैयाँ प्रमाणित गरेर देखाओस् । मेरो ससुराली झापाको भद्रपुर । ओलीजीले मलाई ज्वाइँ भन्नुहुन्छ ।’

बतास समूह विवादमा आएपछि सल्लाहकारबाट आरजुको नाम हटाइएको छ । बतास समूहले गाडीका पार्टपुर्जा र क्रसर लगायतका व्यवसायमा पनि हात हालेको छ । यता आरजुले भने बतासमा आफ्नो आवद्धता नरहेको फेसबुकमार्फत भनेकी छन् । 

उनले भनेकि छन्, ‘संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ, तल उल्लेखित संस्थाहरु बाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।’ तर वेभसाईटमा उनको नाम र तस्वीरसहितको प्रमाण भेटिनुले उनको भनाइ झूट सावित भएको छ । 

बतासको रजाइँ कहाँ कहाँ ?
 
– बतास समूहले राजनीतिक दबाब र आर्थिक प्रलोभनकै आधारमा पुरातात्विक सम्पदामाथि दोहन गरी अड्डा जमाएर बसेको छ । उसले काठमाडौंको टंगालस्थित लक्ष्मीनारायण मन्दिरको घर र जग्गामा कार्यालय राखेको छ । बतास समूहले नयाँ भबन बनाउन खोजेपछि अहिले काठमाडौं महानगरपालिका–५ को कार्यालयले रोक लगाएको छ । तत्कालीन प्रधानमन्त्री ओलीकै पालामा बतासले मन्दिरको २४ हजार स्क्वायर वर्गफिटको चारतले घर र पाँच रोपनी १० आना जग्गा ३५ वर्षका लागि भाडामा पाएको थियो । सो सम्पत्ति भने राणा प्रधानमन्त्री भीमशमशेरको परिवारले मन्दिर स्थापनाका दान गरेको थियो । दान खोजेर बनेको मन्दिरमा अहिले बतास समूहले अड्डा जमाएको हो । ८ फागुन ०७६ मा ओली नेतृत्वको सरकारले मन्दिरको सम्पत्ति बतास अर्गनाइजेसनबीच लिजमा दिनेबारे सम्झौता भएको थियो ।  

– बतास समूहले पुरातात्विक महत्वको पाटन दरबार स्क्वायर क्षेत्रमा पनि आफ्नो व्यापार गर्दै आएको छ । पाटन संग्रहालय विकास समिति र बतास समूहबीच १ चैत ०७३ मा सम्झौता भएको थियो । पाटन दरबार स्क्वायरले पाँच÷पाँच वर्षका लागि भाडामा लगाउँदै आएको थियो तर बतास समूहको पहुँचका कारण एकैपटक १५ वर्षका लागि दिइएको छ । पाटन दरबार क्षेत्र अन्तर्गत रहेको मंगलबजारपट्टिको कोत पाटी मल्लकालीन राजा श्रीनिवास मल्लले बनाएका थिए । सो पाटीमा रहेको ३३ वटा कवलमध्ये १८ वटा कवल बतास समूहको कब्जामा रहेको छ । ०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण यस दरबार स्क्वायरलाई पनि क्षति पु¥याएको थियो । काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट र पुरातत्व विभागले २०७१ सालमा पुनर्निर्माण पुरातत्व विभागलाई हस्तान्तरण गरेपछि भाडामा लगाउनका लागि टेन्डरको आह्वान गरिएको थियो । बतास समूह १५ वर्षका लागि ३० फागुन २०७३ बाट ठेक्का पाएको थियो ।

– बतास समूहले पोखराबाट उदाएको हो । यसले गण्डकी संग्रहालयको जग्गा र भवनमा पनि आफ्नो प्रभुत्व कायम राखेको छ । यो संग्रालय पनि पुरातत्व विभाग अन्तर्गत नै पर्छ । पोखराको नयाँबजारमा संग्रहालय प्रदेश संग्रहालयका रूपमा छ । संग्रहालयको मूल सडकसँग जोडिएको जग्गा र भवन भाडामा लगाउन पुरातत्व विभागले ०६७ सालमा टेन्डर आह्वान गरेको थियो । बतास समूहले ३ माघ ०६७ मा १० वर्षका लागि भवन र २ रोपनी जग्गा भाडामा पाएको थियो । एक वर्षअघि अर्थात् २० पुस ०७७ मै बतास समूहसँगको सम्झौता अवधि सकिएको छ । उसले एक वर्ष यता भाडासमेत बुझाएको छैन । पुरातत्व विभागले घरजग्गा खाली गरिदिन भन्दै पटकपटक ताकेता गर्दा पनि बतास समूह अटेरी बनेर बसिरहेको छ ।  

– भारतले अनुदानमा बनाइदिएको पशुपति क्षेत्र विकास कोषको धर्मशालामा पनि बतास समूहकै रजगज चलिरहेको छ । भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला बतास समूहको पोल्टामा गएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिमस्टेक सम्मेलनमा नेपाल आएका बेलामा धर्मशाला तत्कालीन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका थिए । धर्मशालामा सुलभ दरमा तीर्थालु र पर्यटक बस्नका लागि बनाइएको थियो तर बतास समूहलाई ओली नेतृत्वको सरकारले नै भाडामा दिएपछि धनाड्यहरु मात्रै बस्न सक्ने हैसियतको बनेको हो । पशुपतिको १९ रोपनी क्षेत्रफलको धर्मशालामा तीन सय ८८ कोठा थिए । बतास समूहको कब्जामा सो धर्मशाला पुगेपछि सबै भत्काएर तीन तारे होटल बनाइएको थियो । भने कोठाको संख्या घटाएर करिब ८० वटा बनाइएको थियो । धर्मशाला १५ वर्षका लागि बतास समूहले होटल सञ्चालनका लागि पाएको थियो ।    

– बतास समूहले कोरोना महामारीका बेलामा अक्सिजन प्लान्ट बनाउने भन्दै उठाएको चन्दाको समेत दुरुपयोग गरेको छ । बतास समूहले पोखरामा अक्सिजन प्लान्ट बनाउने भन्दै डेढ करोड भन्दा बढी चन्दा संकलन गरेको थियो । गत वैशाखमा बतास समूहले ‘रु १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्दै चन्दा उठाएको थियो । अक्सिजन प्लान्ट नबनेपछि पोखरामा बतास समूहको विरोध भएको छ ।

– बतास समूहले सांस्कृतिक, धार्मिक पुरातत्वका सम्पदामाथि मात्रै होइन प्राकृतिक सम्पत्तिमाथि पनि दोहन गरिरहेको छ । राजनीतिक शक्तिका आडमा बतास समूहले सेती नदीमा अवैधरुपमा गिटी–बालुवा झिकेर प्राकृतिक दोहन गरिरहेको हो । बतास समूह पोखरा रामघाटमा सेती नदी थुनेर ३५ वर्षसम्म ढुंगा, गिटी, बालुवा निकाल्ने योजनाका साथ अघि बढिरहेको छ । पोखराकै रामघाटको प्रभावित क्षेत्रभित्रै पर्ने प्रतिष्ठानमा बतास समूहले अक्सिजन प्लान्ट बनाउने घोषणा गरेर रामघाट थुन्ने योजनाका साथ अघि बढेपछि स्थानीयले विरोध गरिरहेका छन् ।  

– बतास समूहको फैलावट पशुपतिनाथको धर्मशाला, नारायणहिटी दरबारदेखि तनहुँको पर्यटकीय क्षेत्र मानहुँकोट डाँडासम्म रहेको छ । उसले मानहुँकोटा डाँडा भने ५० वर्षको भाडामा लिएको छ । व्यास नगरपालिकाको बोर्ड बैठकले मानहुँकोटको करिब ४० रोपनी सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिन स्वीकृति दिएको हो । बतास समूहले ब्यास–५ पाटनदेखि मानहुँकोट डाँडासम्म जिपलाइन, केबलकार बनाउने र रिसोर्ट चलाउने तयारीमा जुटेको हो । चार अर्ब रुपैयाँको परियोजनाको प्रस्ताव नगरपालिकाको बोर्ड बैठकले स्वीकृतिसमेत दिएको हो ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर