• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

पदाधिकारी टुङ्ग्याउँदै माओवादीः यस्तो छ प्रचण्डको 'फर्मेशन'

काठमाडौं । नेकपा माओवादी केन्द्रले लामो समयदेखि थाती रहँदै आएको पार्टीका पदाधिकारी, स्थायी समिति र पोलिटव्यूरो समितिको टुंगो लगाउने भएको छ । माओवादीको स्थायी समिति बैठक केही दिन यता लगातार बसिरहेको छ भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको टुंगो लगाउन नेताहरुसँग बाक्लो तर एक्ला एक्लै परामर्श गरिरहेका छन् । 

स्थायी समितिमा रहने नेताहरुको प्रारम्भिक सूची सार्वजनिक भईसकेको छ । आज सार्वजनिक सूचीमा भोलीको बैठकसम्म केही हेरफेर हुन सक्ने माओवादी नेताहरु बताउँछन् । नेता हरिबोल गजुरेलले यसपालीको स्थायी समिति बैठकले पदाधिकारीको टुंगो लगाएर जाने अध्यक्षको तयारी रहेको जानकारी दिए । 

माओवादीलाई स्थायी समिति, पोलिटव्यूरो भन्दापनि पदाधिकारी टुंगो लगाउन फलामको च्यूरा चपाउनु सरह भईरहेको छ । पदाधिकारी मध्ये पनि महासचिव को हुने भन्ने बहस माओवादी भित्र सवैभन्दा धेरै भएको छ । 

पार्टी महाधिवेशनले केन्द्रीय समिति र अध्यक्षको मात्रै टुंगो लगाएको थियो । केन्द्रीय समितिलाई पूर्णता भने अघिल्लो महिनाको बैठकले दिएको हो । कहिले स्थानीय चुनाव, कहिले नेताहरुको विदेश भ्रमण, कहिले अन्य विभिन्न वाहानामा पदाधिकारी चयनको विषय धकेलिँदै आएको थियो । 

यस पटक भोली बस्ने स्थायी समितिको बैठकमा भने सहमतिका साथ पारित गर्नका लागि अध्यक्ष प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्न लागेका छन् । आजै बसेको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले भोली पदाधिकारीको प्रस्ताव ल्याउने संकेत गरेका थिए । 

को को हुन् पदाधिकारी ?
माओवादीको विधान अनुसार अध्यक्ष १ जना, बरिष्ठ उपाध्यक्ष १ जना, अन्य उपाध्यक्षहरु, महासचिव १ जना, उपमहासचिवहरु, सचिवहरु, कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ । उपाध्यक्ष र उपमहासचिव तथा सचिवहरुको संख्या किटान नगरिएकाले अध्यक्ष प्रचण्डलाई आकाँक्षीहरुलाई सम्बोधन गर्न प्रसस्त ठाउँ बनेको छ । 

बरिष्ठ उपाध्यक्षका रुपमा यस अघिको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा घोषणा गरिसकेको छ । पदाधिकारी मध्ये उपाध्यक्षमा महरासँगै पम्फा भुषाल र हरिबोल गजुरेललाई पनि अध्यक्ष प्रचण्डले थप गर्ने तयारी गरेका छन् । गजुरेलको यस अघि महासचिवमा समेत चर्चा थियो भने भुसालले पनि आफू सर्वसम्मत महासचिवको उम्मेदवार बन्न योग्य रहेको भन्दै अध्यक्ष प्रचण्ड समक्ष दावेदारी पेश गरेकी थिई्रन । नर सिनियर नेता भएकाले उनीहरु दुवैलाई उपाध्यक्ष बनाउन खोजिएको छ । जगुरेल यसअघि कोषाध्यक्ष भईसकेका थिए । 

पार्टीको सर्वाधिक चार्च र अपेक्षा गरिएको महासचिवमा भने अध्यक्ष प्रचण्डले नेता देवप्रसाद गुरुङलाई अघि सार्न खोजेको स्रोतले बतायो । बरिष्ठताको क्रम नमिचिनेगरी पदाधिकारीको छिनोफानो गर्दा प्रतिनिधिसभाका प्रमुख सचेतक समेत रहेका नेता गुरुङलाई प्रचण्डले महासचिव बनाउन लागेका हुन् । 

महासचिवमा यस अघि सचिव भईसकेका प्रभावशाली नेता वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्माले दावी गरेका थिए । यी दुई नेताको दावीका कारण अध्यक्ष प्रचण्डलाई अप्ठ्यारो परेको हो भने आफू महासचिव बनेर अप्ठ्यारो फुकाउन तयार रहेको भनेर नेता महराले समेत महासचिवमा दोहोरिने इच्छा व्यक्त गरेका थिए ।

सिनियर नेताहरु सवै उपाध्यक्ष हुने हो भने आफूलाई महासचिव बनाएर समस्याको समाधान गर्न सकिने भन्दै नेता शक्ति बहादुर बस्नेतले समेत दावी पेश गरेका थिए । तर अध्यक्ष प्रचण्डले आन्तरिक शक्ति सन्तुलन चुनावको मुखमा नबिग्रियोस भनेर बरिष्ठताकै आधारमा जिम्मेवारी तोक्न लागेको खुमल्टार स्रोतले बतायो । 

महासचिवमा देव गुरुङलाई अघि सार्ने भएपछि अध्यक्ष प्रचण्डले महासचिवका दावेदारहरुलाई उपमहासचिवमा प्रस्ताव गर्ने भएका छन् । जसमा वर्षमान पुन, गिरिराजमणी पोख्रेल र जनार्दन शर्मा उपमहासचिव बन्ने संभावना रहेको स्रोतले बतायो । नेता पुन र पोख्रेल यसअघि पनि सचिव रहिसकेका नेता हुने भने हाल अर्थमन्त्रीसमेत रहेका शर्मा स्थायी समितिबाट यस पटक पदाधिकारीमा बढुवा हुन लागेका हुन् ।

त्यस पछि सचिव र कोषाध्यक्षका लागि अध्यक्ष प्रचण्डले शक्ति बहादुर बस्नेत, मातृका यादव, लिलामणी पोख्रेल, गणेश शाह तथा महिला नेतृहरुमध्यबाट बरिष्ठलाई अघि सार्न लागेको प्रचण्डको सचिवालयले संकेत गरेको छ ।

अध्यक्ष प्रचण्डले बुधबार मध्यान्नसम्म गरेको गृहकार्यका आधारमा पदाधिकारीको यस्तो फर्मेशन तयार भएको हो । स्थायी समितिका सदस्यहरुको अन्तिम नामावली बिहीबारको बैठकमा पढेर सुनाउने तयारी गरेका अध्यक्ष प्रचण्डले पदाधिकारीमा समेत भोली सम्ममा आवश्यक हेरफेर गर्न पनि सक्ने स्रोतको दावी छ । 

माओवादीले नेता वर्षमान पुन र ओनसरी घर्ती उपचारका लागि चीनमा रहेकाले पदाधिरकारीको टुंलो पहिलो बैठकले लगाउने भन्दै महाधिवेशन सकेको थियो । पहिलो बैठक मात्र होईन त्यस पछि झण्डै आधा दर्जन बैठकहरु बसेपनि माओवादीको पदाधिकारीको टुंगो लाग्न सकेको थिएन ।

संघ र प्रदेशको चुनावको मुखमा पदाधिकारीको टुंगो लगाउँदा पार्टी भित्र मतभिन्नताहरु बढ्न सक्ने भन्दै कतिपय नेताहरुले चुनाव पछि पदाधिकारीको विषयको टुंगो लगाउँदा उत्तम हुने सुझावसमेत दिएका थिए । तर बरिष्ठताका आधारमा जिम्मेवारी तोकेर जाँदा केही फरक नपर्ने र यसको पूर्वसंकेत अध्यक्ष प्रचण्डले नेताहरुलाई पनि दिईसकेको स्रोतको दावी छ ।

नेताहरुले आ आफ्नो दावी पेश गरिरहँदा अध्यक्ष प्रचण्डले मैले ल्याएको सर्वसम्मतको प्रस्ताव स्वीकृत गरेर अघि बढ्न यसअघि नै आग्रह गरिसकेका छन् । आन्तरिक विवादका कारण माओवादीले पदाधिकारीको टुंगो नै लगाउन सकेन भन्ने सन्देश दिनुभन्दा अध्यक्षको प्रस्ताव मानेर जान नेताहरुले सहमति समेत जनाईसकेका छन् । 

यसपालिको बैठकले पदाधिकारीको टुंगो लगाउने कुरा अघिल्लो सता जापानबाट नेपाल फर्किने क्रममा अध्यक्ष प्रचण्डले बताईसकेका थिए । एक पत्रकारले पदाधिकारीको सूची कोटको खल्तिमा बोकेर हिड्नुभएको छ कहिले सार्वजनिक गर्नुहुन्छ ? भनि गरेको प्रश्नमा अध्यक्ष प्रचण्डले खल्तिमा बोकेर हिँडेको त होईन तर यसपाली पदाधिकारीको टुंगो लाग्छ भनेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर