• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

प्रधानन्यायाधीशमा सिफारिस कार्की विरुद्ध उजुरीका चाङ (सूचीसहित)

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की विरुद्ध संसदीय समितिमा उजुरीका चाङ लागेको छ । 

कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न नहुने दाबीसहित आज अपरान्हसम्मा २९ वटा उजुरी संसदीय सुनुवाइ समितिमा परेको हो । समितिले आव्हान गरे अनुसार कार्की विरुद्ध उजुरी दिने म्याद आजै सकिएको छ ।

संसदीय सुनुवाइ विशेष समितिले जेठ १६ गते १० दिनको समयावधि दिएर उजुरी आह्वान गरेको थियो । कायमुकायम प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिएकाहरुले संसदीय समितिमा आफ्नो उजुरी दिनुको कारण र प्रमाण प्रस्तुत गर्नेछन् । दर्ता क्रमअनुसार उजुरीकर्तालाई समितिले बैठकमा बोलाउनेछ । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई बोलाएर आफ्नो कार्ययोजना माग गर्ने छ ।

उजुरी दिनेमा पुण्यप्रसाद गौतम, चन्दन श्रेष्ठ, उज्जल कुमार श्रेष्ठ, महादेव बराल, गौरिका सिग्देल, गोमा आचार्य, रतन भण्डारी, अमृत खरेल लगायत छन् । २९ उजुरीकर्ता मध्ये एकजनाले मात्रै नाम गोप्य राख्न चाहेका छन् । 

पदमा रहँदा कायम मुकायम प्रधानन्यायाधीश कार्कीले पदीय आचरण र आचारसंहिताविपरीत क्रियाकलाप गरेको उजुरीकर्ताले आरोपसहित निवेदन दिएका हुन् । न्याय सम्पादनमा कार्कीको क्षमतामा प्रश्न उठाउँदै पनि निवेदनहरु परेका छन् । कार्कीले गरेका फैसला न्याय संगत नभएको भन्दै पनि केही उजुरी परेका छन् ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीले पदमा हुँदा पदीय आचरण र सामान्य विधिशास्त्रीय प्रचलन र आचारसंहिताविपरीत काम गरेकाले उनी प्रधानन्यायाधीश हुन अयोग्य रहेको दाबी उजुरीकर्ताले गरेका छन्। 

‘कामु प्रन्या हुँदा कार्कीले आचारसंहिताविपरीतका मुद्दा हेर्दै स्वार्थ बाझिने गरी फैसला गरेका र सेवानिवृत्त भएपछि राज्यकोषमाथि लुट मच्चाउन एक महिनाका लागि फोटो झुन्ड्याउनेगरी प्रधानन्यायाधीशको बढुवाका लागि कसरत गरिरहेकाले उनको नियुक्ति सम्बन्धमा अरू पनि केही भए सबैले संसदीय समितिमा उजुरी गरौँ,’ भण्डारीले आफ्नो उजुरीमा भनेका छन्, ‘कार्कीको प्रन्यामा हुन लागेको नियुक्ति रोकौँ। राज्यकोषको सम्पत्ति दुरुपयोग हुनबाट जोगाऔँ। न्यायालयको गरिमा बढाउन हरिकृष्ण कार्कीहरूलाई प्रधानन्यायाधीश हुन नदिऔँ।’ 

गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। सर्वोच्च अदालत झन्डै १५ महिनादेखि प्रधानन्यायाधीशविहीन छ।

न्याय परिषद् बुलेटिन अनुसार २० साउन ०१५ सालमा जन्मिएका हुन् कामु प्रधानन्यायाधीश कार्की  । उनी आगामी १९ साउन ०८० सालसम्म मात्रै सर्वौच्चमा रहनेछन् । १७ साउन ०७३ मा उनी सर्वोच्चको न्यायाधीश बनेर न्यायालय छिरेका थिए । 

उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।  कार्की उपर कारबाही गर्नुपर्ने भन्दै गत १६ चैत ०७९ मा उजुरी नम्बर ०५१०९० मा उजुरी परेको हाे । हरिकृष्ण कार्कीले न्यायालय शुद्ध हुनुपर्ने र अदालतमा विभिन्न प्रकारका विचौलिया भएको भन्दै प्रतिवेदन बनाएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर