• २०८१ पौष १५ सोमबार
  • Monday, 30 December, 2024

माओवादीकाे ३ महिने अभियान: प्रचण्ड चन्द्रागिरी घट्टेडाँडा जाने, अन्य नेता कहाँ-कहाँ ?

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष अभियान’ को कार्यविभाजन गरेकाे छ। भोलिबाट शुरु हुने तीनमहिने अभियानबारे जानकारी दिन पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले तयारी पूरा भएको जानकारी दिएका हुन् । 

कार्यक्रम अन्तर्गत माओवादीले केन्द्रीय सदस्यहरूलाई वडा तहसम्म पठाउनेछ । त्यसरी खटिने नेताहरूले कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका काम कारबाहीहरूको जानकारी गराउने लक्ष्य माओवादीले लिएको छ ।

साथै अभियानमार्फत आठ लाख पार्टी सदस्यता पुर्‍याउने माओवादीको तयारी छ ।

भोलि बिहान ९ बजे पार्टी मुख्यालयबाट भर्चुअल माध्यममा मुलुकभरका सबै वडामा एकैसाथ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानको उद्घाटन गर्ने जनाइएको छ । अभियानको तयारीका लागि केन्द्रीय सदस्यहरु यसअघि नै वडामा खटिएका छन् । 

अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरुलाई पनि वडाको जिम्मेवारी तोकिएको प्रवक्ता सापकोटाले बताए । बिहान अध्यक्ष प्रचण्डले अभियानको उद्घाटन गरेपछि दिउँसो १ बजेबाट कार्यक्रम शुरु हुने छ । त्यसपछि पदाधिकारीहरु तोकिएका आ–आफ्ना वडामा पुग्नेछन् । 

प्रधानमन्त्री काठमाडौंको चन्द्रागिरी–२ स्थित घट्टेडाँडाको कार्यक्रममा सहभागी हुने जनाइएको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायकाजी श्रेष्ठ ललितपुर महानगरपालिका–२८, हरिसिद्धिमा खटिने प्रवक्ता सापकोटाले बताए । 

उपाध्यक्षत्रय कृष्णबहादुर महरा रोल्पाको सुनछहरी गाउँपालिका, अग्नि सापकोटा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ र पम्फा भुसाललाई ललितपुर महानगरपालिका–२२ मा जिम्मेवारी तोकिएको छ । महासचिव देव गुरुङ लमजुङको सुन्दरबजार नगरपालिका–८ भोटेओडारको कार्यक्रममा सहभागी हुने बताइएको छ । 

त्यस्तै, उपमहासचिवहरु गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौं, वर्षमान पुन काठमाडौँको गोंगबु र जनार्दन शर्मा चन्द्रागिरी–२ मा खटिने छन् । उपमहासचिव हरिबोल गजुरेल सिन्धुलीको कमलाइमाई नगरपालिका, शक्ति बस्नेत भेरी नगरपालिका–१, जाजरकोट र मातृका यादव सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को कार्यक्रममा सामेल हुनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर