केपी ओली कपः मधेश प्रदेशको पहिलो जित

काठमाडौं । मधेश प्रदेशले केपी ओली कप ट्वान्टी २० प्रतियोगितामा पहिलो जित निकालेको छ । मधेशले सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको हो ।
जितसँगै समूह ‘सी’ को मधेशले दुई खेलमा दुई अंक जोडेको छ । पहिलो खेलमा मधेश विभागीय टोली नेपाल पुलिस क्लबसँग ५७ रनले पराजित भएको थियो ।
सुदूरपश्चिमले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको ५९ रनको लक्ष्य मधेशले मात्र ४।४ ओभरमा दुई विकेट गुमाउँदै भेट्टायो ।
मधेश प्रदेशका लागि अनिल शाहले २५, इम्रान शेखले अविजित १७ र पवन सराफले अविजित १४ रन बनाए ।
सुदूरपश्चिमका लागि दुवै विकेट गजेन्द्र बोहराले लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले १५।५ ओभरमा सबै विकेट गुमाउँदै ५८ रनको योगफल तयार पारेको थियो ।
सुदूरपश्चिमका लागि नरेश साउदले १८ तथा किरण ठगुन्ना र भोजराज भट्टले समान १० रन बनाए ।
मधेशका लागि कप्तान हरिशंकर शाहले चार, रुपेश सिंहले तीन तथा विशाल पटेल, प्रदीप पासवान र विशाल शुस्लिङ्गले समान एक विकेट लिए ।
प्रतिकृया दिनुहोस