• २०८१ असार ७ शुक्रबार
  • Friday, 21 June, 2024

माओवादीबाट दोहोरिएका ३ मन्त्री हटाउने प्रचण्डको तयारी, यी हुन् सम्भावित नयाँ अनुहार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिमण्डल पुनर्गनसँगै आफ्नो पार्टीका केही मन्त्री हटाउने तयारी गरेका छन् । यस विषयमा पार्टी उपाध्यक्षसमेत रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बिहीबार प्रधानमन्त्री प्रचण्डले छलफल गरिसकेका छन् ।

बिहीबार बिहान अध्यक्ष र उपाध्यक्ष श्रेष्ठबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सौहार्दपूर्ण छलफल थियाे । अध्यक्ष प्रचण्डले सरकारलाई समर्थन दिएका तर सरकार बाहिर रहेका दलहरुलाई समेट्नेगरि मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेको कुरा उपाध्यक्ष श्रेष्ठलाई बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार सो छलफलमा उपाध्यक्ष श्रेष्ठले पार्टीबाट कसलाई हटाउने र नयाँ को ल्याउने ? भन्ने विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । 

नेपालको संविधान अनुसार संघीय सरकारको मन्त्रिपरिषद प्रधानमन्त्री तथा राज्यमन्त्रीसमेत गरि बढिमा २५ सदस्यीय बनाउन मिल्दछ । हाल प्रचण्ड क्याविनेट २३ सदस्यीय छ । तर मन्त्रालयहरु भने कुनै पनि खाली छैनन् । 

उपेन्द्र यादव नेतृत्वको जसपाको बहिर्गमनसँगै सरकारलाई समर्थन दिएको सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागि हुने तयारीमा छ । मधेश प्रदेको मुख्यमन्त्री माग गरेको जनमतले आजै मुख्यमन्त्री पाईसकेको छ ।

प्रचण्ड नेतृत्वको संघीय सरकारलाई बलियो बनाउन आफूहरु उद्योग वाणिज्य, भूमि व्यवस्थापन अथवा कृषि मन्त्रालय पाएमा सरकारमा सहभागि हुने सन्देश पठाएको छ । 

उता रञ्जिता श्रेष्ठ नेतृत्वका नागरिक उन्मुक्ति पार्टी उहिल्यैदेखि सरकारमा जान खुट्टा उचालेर बसेको छ । सो पार्टीका अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री प्रचण्डसँग पर्यटन तथा नागरिक उड्यान मन्त्रालय माग गर्दै सरकारमा छिटो सहभागि गराउन हरेक दिन जसो बालुवाटार धाउने गरेकी छिन् ।

आन्तरिक कलहमा फसेको नागरिक उन्मुक्ति पार्टीमा उनकै श्रीमान रेशम चौधरीको भने फरक मत  छ । सुदुरपश्चि प्रदेश सरकार बनाउन निर्णायक भूमिका खेलेकी अध्यक्ष श्रेष्ठले अब आफूहरुलाई संघीय सरकारमा समावेश गराउन माग गरिरहेकी छन् । 

यी दुई पार्टीलाई सकेसम्म छिटो सरकारमा सहभागि गराएर थप बलियो सरकार बनाउने पक्षमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । उनले एमाले अध्यक्ष केपी ओलीसँग छलफलसमेत गरिसकेका छन् ।

सचिवालय स्रोतका अनुसार प्रचण्डले एमालेले एक माओवादीले एक मन्त्रालय छोडेर दुई पार्टीलाई सरकारमा समावेश गराउन परामर्श गरेका छन् । बजेट पास हुनेवित्तकै सकेसम्म छिटो मन्त्रिपरिषद पुनर्गठन गर्ने पक्षमा प्रधानमन्त्री देखिएका छन् । 

प्रधानमन्त्री प्रचण्डले आफ्नो एक मन्त्रालय छोड्नुपर्दा कुनै एक नेतालाई हटाउनु भन्दा अघिल्लो क्याविनेटदेखि नै दोहोरिएका तीन मन्त्री हटाउने तयारी गरेका छन् । अहिलेको मन्त्रिपरिषदमा अर्थमन्त्री वर्षमान पुन र पर्यटनमन्त्री हीतबहादुर तामाङ नयाँ हुन् । 

उपप्रधान तथा परराष्ष्ट्रमन्त्री श्रेष्ठ, ऊर्जामनत्री शक्तिबहादुर बस्नेत, संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा दोहोरिएका हुन् । 

अघिल्लो कार्यकालका दुई युवा पर्यटनमन्त्रीबाट सुदन किराती र केही समय अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट अमनलाल मोदी हटाईएका थिए । 

पूर्वका दुई युवालाई हटाएको र श्रेष्ठ, बस्नेत र शर्मालाई दोहोर्याएको विषयमा माओवादी भित्र चर्को बिबादसमेत भएको थियो । तीन मन्त्री दोहोरिए लगत्तै बसेको संसदीय दलको बैठकमा सांसदहरु माधव सापकोटा, सुर्यमान दोङ, अमनलाल मोदी लगायतले तीन मन्त्री मात्रै दोहोरिन हुने कारण के हो ? भने प्रधानमन्त्री प्रचण्डकै समक्ष प्रश्न गरेका थिए । 

नयाँ दललाई सरकारमा प्रवेश गराउने तथा पुनर्गठन गरेको मौका आफ्नै पार्टीका पनि केही नयाँ अनुहार सरकारमा समावेश गराउने तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेको सचिवालय बताउँछ । 

माओवादीबाट मन्त्रीहुने चर्चा भएका सांसदहरुको अग्रसूचीमा सिन्धुपाल्चोकका युवा नेता माधव सापकोटा, सिन्धुलीका राजन दाहाल, काभ्रेका सुर्यमान दोङ छन् । उनीहरुले संसदमासमेत प्रभावकारी भूमिका खेलिरहेका छन् । बागलुङका देवेन्द्र पाैडेल, जाजरकाेटका महेन्द्रबहादुर शाहीसहित केही महिला सांसदहरू पनि मन्त्रीकाे अपेक्षामा छन् ।

प्रचण्डले तयारी गरेअनुसार कार्यान्वयन हुने अवस्था सृजना भएमा पुराना तीन हट्ने छन् । माओवादीले एउटा पर्यटन मन्त्रालय छोड्नुपरेमा त्यसमा रञ्जिता श्रेष्ठ जानेछिन् । अन्य दुई मन्त्रालयमा यीनै नेतामध्येबाट मन्त्री बनाउने तयारी प्रचण्डले गरेका छन् । मन्त्रिपरिषद पुनर्गठनकाे याेजना लागू हुन नपाएमा अहिलेकै मन्त्रीहरू केही समयका लागि कायम रहने पक्का छ ।

नागरिक उन्मुक्ति पार्टीले पर्यटन मन्त्रालय मागेकाले हालका मन्त्री हीतबहादुर तामाङलाई ऊर्जा मन्त्रालयमा सरुवा गर्ने, माधव सापकोटालाई संचारमन्त्री बनाउने सम्भावना रहेको चर्चा पनि माओवादी केन्द्रका सांसदहरु गर्न थालेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर