• २०८१ असार २२ शनिबार
  • Saturday, 6 July, 2024

गिरीबन्धु, नक्कली भुटानी शरणार्थी र कैलाली जग्गा काण्डको फाइल खुल्ने भएपछि सरकार ढाल्ने खेल !

काठमाडौं । आईतबार प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै भनेका थिए, ‘सरकारले अघि बढाएको सुशासनको अभियानलाई कमजोर बनाउन खोजिएको छ ।’

प्रचण्डको यो अभिव्यक्तिले कसलाई भनेको हो भन्ने प्रष्ट नभएपनि सांकेतिक थियो । सरकारको नेतृत्व गरिरहेको उनी, गृहमन्त्री रवि लामिछाने दुवैले भ्रष्टाचार विरोधी अभियान तिब्र बनाउने बताइरहेकै थिए ।

लामिछानेले त अझ गिरीबन्धु चिया बगान, कैलालीको जग्गा प्रकरणको फाइलनै अघि बढाए । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकारका रुपमा लिइएको बेचन झा पक्राउ परे  । नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले शुक्रबारराति झालाई पक्राउ गरेको हो । उनलाई नेपाल–भारत सीमावर्ती क्षेत्रबाट गरिएको थियो । 

यो मुद्दामा एमाले उपाध्यक्ष पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक पनि सोमबार नै पक्राउ परे ।

कैलाली जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणको थप छानविन अघि बढेपछि ्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिको सवैभन्दा धेरै टाउको दुखाइ बनेको स्रोतको दावी छ । किन भने यी दुवै काण्डमा देउवा पत्नी आरजु राणा मुछिएकी छन् । 

गिरीबन्दु टि स्टेटका विषयमा त एमाले अध्यक्ष केपी ओलीलाई नै मुछिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सार्वजनिक रुपमा नै ओलीमाथि छानविन गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । 

प्रधानमन्त्री र गृहमन्त्री दुवैले सुशासनको अभियानको नाममा माथि उल्लेख गरिएका ठूला भ्रष्टाचारका काण्डका फाइल खोल्न खोजेपछि बालकोटमा ओली–देउवा–आरजु भेटभएको माओवादीका नेताहरुको दावी छ । 

तर कांग्रेस र एमालेका कतिपय नेताहरुले यी दुई दलका शीर्ष नेताको भलाकुसारीलाई स–साना दलहरू मिलाएर सरकार चलाउँदा अस्थिरता बढेको र जनमानसमा प्रणालीप्रति वितृष्णा बढेको जस्ता कारण देखाउने गरेका छन् । 

दोस्रो तथा तेस्रो तहका नेताहरु हुँदै शीर्ष तहमा पुगेको संसदको पहिलो र दोस्रो ठूलो दलबीचको सम्भावित सहकार्य मूल विषयमा सहमति भएमा सरकार कसरी चलाउने भन्नेमा पनि दुई दलबीच करिब–करिब समझदारी सम्म पुगेको कांग्रेस नेताहरूको भनाइ छ । 

ओलीको प्रस्तावमा देउवा यसअघि नै सहमत भए पनि पहिलो पालो कसले पाउने भन्नेमा छलफल भइरहेको नेताहरूको भनाइ छ । 

ओली र कांग्रेस सभापति देउवाबीच शनिबार ओली निवास बालकोटमै करिब दुई घण्टा वार्ता भएको थियो । वार्तामा देउवा पत्नी आरजु पनि सहभागी थिइन् ।  

एमाले उपाध्यक्ष विष्णु पौडेल भने वर्तमान सत्ता समीकरण परिवर्तन नहुने दाबी गर्छन् । शीर्ष नेताहरुबीच राष्ट्रिय मुद्दामा छलफल हुनु स्वभाविक भएका बताएका उनले यो गठबन्धन चुनावसम्मै जाने विश्वास व्यक्त गरे ।  

देउवा–ओलीबीच शनिबार भएको वार्तापछि आइतबार सिंहदबारमा प्रधानमन्त्री दाहाल र ओलीबीच भेट भएको थियो । करिब आधा घण्टा दाहाल र ओली भेटेपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेसमेत सहभागी भएका थिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर