एक लाख उतार्ने भनिएको एमालेको शक्ति प्रदर्शनः ओली बोल्ने बेला सडक खाली
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । जागरण सभा नाम दिएर प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले नै सम्बोधन गरेको सभामा एमालेले एक लाख मानिस उतार्न भन्दै बागमती प्रदेशका जिल्लाहरुका सर्कुलर जारी गरेको थियो ।
लामो तयारी र हल्ला खल्ला गरेर आयोजना गरिएको एमाले सभामा मानिसहरुको उपस्थिति भने कमजोर देखियो । सुरक्षा निकायले आन्तरिक रुपमा गरेको सर्कुलर अनुसार सभामा १० देखि १५ हजार मानिस आएको तर अन्तिमसम्म कार्यक्रम स्थतमा नबसेका उल्लेख गरेको स्रोतले समाचार दैनिकलाई जानकारी दियो ।
कार्यक्रमको अन्तिममा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । दिउँसो साँढे १ बजे कार्यक्रमस्थल पुगेका ओलीले सम्बोधन गर्दा मानिसहरु हिँडिसकेका थिए । एमाले नजिककै एक पत्रकारले ओलीले बोल्दै गर्दा खिचेको सेल्सिफीमा पनि सडक लगभग खाली भएको र सवारी साधन गुड्न थालिसकेको देखिन्छ ।
कार्यक्रमस्थलत पुगेका हाम्रा सम्वाददाताले पनि कार्यक्रममा मानिसहरुको उपस्थिति चर्चा गरिएभन्दा निक्कै कम देखिएको र प्रधानमन्त्री ओली बोल्ने बेलासम्म सडक लगभग खाली नै भएको जानकारी दिए ।
एमालेले आफ्नो शक्ति प्रदर्शन भब्य देखाउनकै लागि सुरुमा भृकुटीमण्डपमा आयोजना गरिएको सभा पछि दरवारमार्गमा सारेको थियो ।
कार्यक्रमका दौरान अध्यक्ष ओलीले सार्वजनिक रुपमा सतहमा आएका र उनको आलोचना भएको विषयहरु खण्डन गर्न समय व्यतित गरे । उनले कुलमान घिसिङदेखि, दुर्गा प्रसाई, रास्वपा, माओवादी केन्द्र लगायतको चर्को आलोचना गरेका थिए ।
उनले भने, ‘देशको हित र भलाइको लागि कुनै पनि देशको भ्रमण गरिन्छ । त्यसरी नै हामीले हाम्रा भ्रमणहरूलाई सफल बनाउने ढंगले प्रस्तुत गरेको छ ।’
उनले चिनियाँ परियोजना बीआरआईलाई संकेत गर्दै अहिले देशको अवस्था कसैसँग ऋण लिने अवस्था नरहेको पनि बताए । ‘हामी सकेसम्म कतैको पनि ऋण लिँदैनौँ । अहिले ऋण लिने मनस्थित र अवस्था पनि छैन । तर हामीले उत्पादन बढाउनुपर्छ । आफैँले उन्नति गर्नुपर्छ’, प्रधानमन्त्रीको भनाइ छ ।
‘हामी सुन्छौ कहिले बैंकको ऋण तिर्नुपदैन भनेर कराएर हिँड्छ । बैंकको ऋण लिएपछि तिर्नु पर्दैन ?’, दुर्गा प्रसाईंप्रति लक्षित गर्दै ओलीले भने, ‘तिर्नुपर्दैन भनेर कराएर हिँड्छ किनभने देशको अर्थतन्त्र र मौद्रिक स्थितिलाई छ्यालव्याल, अस्तव्यस्त र ध्वस्त बनाउन ।’
‘त्यसपछि अर्को अभियान चल्छ–उद्यमी, व्यवसायी र मारवाडीहरूलाई खेद भनेर अभियान चल्छ’, उनले भने, ‘केही उद्योग चलिरहेका छन् भने उद्योगको लाइन काट्ने ? अहिले सरकारले भनिरहेको छ–विद्युत् महसुल आयोगले जे भनेको छ टिओडीअनुसार बक्यौता उठाऊ ।’
‘उद्योगको लाइन काटेर मजदुरहरु बेरोजगार बनाउने षड्यन्त्र भइरहेका छन्’, उनले भने, ‘समुदायमा विद्वेष खलबल्याउने काम भइरहेको छ ।’
प्रतिकृया दिनुहोस