कर्मचारी युनियनको अधिवेशनमा मन्त्रीको हस्तक्षेप, कार्यसमिति चयन अलपत्र
काठमाडौं । नेपाली कांग्रेसका नेताहरुको नांगो हस्तक्षेपका कारण नेपाल निजामती कर्मचारी युनियनको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिभागीय अधिवेशनले कार्यसमिति नै चयन गर्न सकेको छैन । पार्टीको लाइन अनुसार बिभिन्न नेताहरुका कारण अधिवेशनले कार्यसमिति तथा केन्द्रीय प्रतिनिधि चयन गर्न असफल भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल तथा बिशेष अतिथि उदयसमशेर राणा थिए । युनियनको उदघाटनसत्र शनिबार सम्पन्न भएको थियो । तर मन्त्री पौडेलको सचिवालयका पदाधिकारी र बिभिन्न नेताहरुको स्वार्थका कारण कार्यसमिति चयन गर्न अधिवेशन असफल भएको छ ।
मन्त्री र उनको सचिवालयको स्वार्थ अनुसार नेतृत्व छनोट नहुने भएपछि कार्यसमिति चयन कार्यक्रम स्थगित भएको छ । मन्त्रीको सचिवालयका शाखा अधिकृत बिश्वबन्धु रेग्मी, निर्मला शर्मा, पुरण गुरुङ लगायतले प्रदीप केसीलाई अध्यक्ष बनाउन हात धोएर लागेका थिए ।
निजामती कर्मचारी युनियनका उपाध्यक्ष उत्तम कटुवाल, उपमहासचिव इन्दु शर्मा लगायतले धिरज रौनियारलाई समर्थन गरेका थिए । बिगत तीन महिनादेखि स्वास्थ्य मन्त्रालय अन्तर्गतका सबै कार्यालयमा गएर सदस्य बनाउने, इकाई समिति बनाउने रामचन्द्र खड्कालाई पाखा लगाउने काम गरिएको छ ।
युनियनमा बिश्वबन्धु रेग्मीहरुले पार्टीको संस्थापन देउवा लाइनको प्रतिनिधित्व गर्दछन् भने उत्तम कटुवाल लगायतले संस्थापन इतर समूहको प्रतिनिधित्व गर्दछन् । कर्मचारी युनियनमा गोपाल पोखरेल, उत्तम कटुवाल लगायतले महासचिवले पाउने अधिकार बिधानबाट निलम्बन गरेर काम गर्न रोकेका छन् ।
महासचिव जनक रावल, अध्यक्ष गोपाल पोखरेल, बरिष्ठ उपाध्यक्ष उत्तम कटुवालबीच ठूलो द्वन्द्व छ । धेरै द्वन्द सामाजिक सन्जालमा पनि आइसकेको अवस्था छ ।
प्रजातान्त्रिक पार्टीमा आन्तरिक लोकतन्त्र सबल र सक्षम हुनुपर्नेमा निरंकुश शैलीमा पदाधिकारीहरुले अधिकार प्रयोग गरेका छन् । जसरी पनि महाधिवेशनबाट चुनाव जितेर तीन बर्ष सिंहदरबारमा समानान्तर सत्ता चलाउने सपना हालका पदाधिकारीहरुको रहेको छ ।
यसमा पार्टीका नेताहरुको पनि आशीर्वाद रहेको छ । युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो ।
ट्रेड युनियन पदाधिकारी कर्मचारी नेताहरु नीति नियम तोडेर जथाभावी शक्तिको प्रयोग गर्ने, सरुवा बढुवा पदस्थापन बिदेश भ्रमण लगायतका कामबाट रकम उठाउने हुँदा अहिले निजामतीदेखि स्वास्थ्य सेवा सबैतिर पार्टीगत ट्रेड यूनियन हटाउनुपर्ने बहस हुँदैआएको छ ।
कर्मचारीको सरुवामा रकम उठाउने र ट्रेड युनियनको नेतृत्वमा रहेकाहरु सधैं आकर्षक कार्यालयमा बसी घुस खानेतिर मात्र केन्द्रित हुने गरेको आरोप छ । जसका कारण उच्च प्रशासकहरु ‘ट्रेड युनियनका साढे’ हरु भन्ने शब्दावली प्रयोग गर्न थालेका छन् ।
प्रतिकृया दिनुहोस