• २०८२ बैशाख २१ आइतबार
  • Sunday, 4 May, 2025

आजदेखि कक्षा १२ को परिक्षा ५ लाख ११ हजार विद्यार्थी सहभागि हुँदै

जापानस्थित एभरेस्ट स्कुलको केन्द्रबाट ३८ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै
काठमाडौं । देशभरका परीक्षा केन्द्रमा आइतबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिक १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । 

५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहींको केन्द्रबाट परीक्षामा सहभागी हुनेछन् ।

७७ जिल्लामध्ये सबैभन्दा कम मनाङबाट ४५ जना र सबैभन्दा बढी काठमाडौंबाट ६८ हजार १ सय ३३ जना परीक्षार्थी छन् । मनाङ र मुस्ताङमा १–१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।

जेठ २ सम्म सञ्चालन हुने परीक्षामा ४८ हजार २ सय ९ जना जनशक्ति खटिनेछन् । नेपाल शिक्षक महासंघको शैक्षिक हडतालसहितको काठमाडौं केन्द्रित सडक आन्दोलनले वैशाख ११ देखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन अपिल गरेका छन् ।

कर्णाली प्रदेशबाट सबैभन्दा कम ३८ हजार ८ सय ८८ र बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३५ हजार २ सय ४० परीक्षार्थी सहभागी हुँदै छन् । बोर्डका अनुसार कोशीबाट ८२ हजार ८ सय ७१, मधेशबाट ६९ हजार ८ सय ८ जना, गण्डकीबाट ४३ हजार ३ सय ४९, लुम्बिनीबाट ९० हजार ६ सय ७८ र सुदूरपश्चिमबाट ५० हजार ६ सय ५४ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

परीक्षाको अनुगमन र निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ । समितिले परीक्षा अनुगमन तथा पर्यवेक्षण गर्नेछ । परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेकलाई परीक्षा केन्द्रमा मोबाइल फोन लैजान बोर्डले रोक लगाएको छ । परीक्षा केन्द्रहरूमा विद्युतीय माध्यमबाट प्रश्नपत्र पठाइने व्यवस्था गरिएको शर्माले बताए ।

कोभिड महामारीदेखि नै अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरेको बोर्डले त्यसलाई निरन्तरता दिँदै आएको छ । परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि उपलब्ध हुने प्रश्नपत्र केन्द्राध्यक्षले युजर आईडीबाट डाउनलोड गर्ने व्यवस्था मिलाइएको छ । केन्द्राध्यक्षसहित सहायक केन्द्राध्यक्ष, केन्द्रमा खटिने प्रहरी प्रमुखको रोहबरमा मात्र प्रश्नपत्र डाउनलोड र छपाइ गर्नुपर्नेछ ।

बोर्डले केन्द्र निर्धारण, केन्द्राध्यक्ष गोष्ठी, जिल्ला सुरक्षा निकायसँग अन्तर्क्रिया, गोप्य सामग्री व्यवस्थापन, अनुगमन निरीक्षणलगायत परीक्षापूर्व गर्नुपर्ने तयारीको काम पूरा गरेको जनाएको छ । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजा प्रकाशनमा ‘ननग्रेडिङ हुने लेटर ग्रेडिङ’ निर्देशिका २०७८ ले व्यवस्था गरेको छ ।

शिक्षक आन्दोलनका कारण रोकिएको एसईईको उत्तरपुस्तिका परीक्षण पनि सुरु भएको बोर्डले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर