रणनीति बनाउन गणतन्त्रवादी विपक्षी दलहरु संसद भवनमा जुटे

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएको विपक्षी दलहरूको बैठक बसिरहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी भने अनुपस्थित छ ।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल नेतृत्वमा बुधबार संसद् बैठक बस्नुअघि विपक्षी दलहरूको बैठक बसिरहेको छ ।
माओवादी सांसद माधव सापकोटाका अनुसार बैठकमा रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलहरू सहभागी छन् ।
१० बजेर ५० मिनेटदेखि सुरु भएको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा, बजेट प्रस्तुत गर्न संसद् सञ्चालनलगायतका विषयमा छलफल भइरहेको छ ।
बैठकमा विपक्षी राप्रपा भने सहभागी छैन । राप्रपाले पनि गृहमन्त्रीको राजीनामा माग गरिरहेको छ ।
विपक्षी दलहरूको बैठकमा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका कार्यवाहक दल नेता विराजभक्त श्रेष्ठ, उपसभापति स्वर्णिम वाग्ले, एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी, आम जनता पार्टीका प्रभु साहलगायत सहभागी छन् ।
प्रतिनिधिसभा बैठक ११ बजेका लागि बोलाइएकोमा आधा घण्टा ढिला हुँदासमेत सुरु भएको छैन ।
प्रतिकृया दिनुहोस