गृहमन्त्रीले संसद्मा बोल्ने तर राजीनामा नदिनेमा ओली–देउवा एकमत

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुबीचको छलफलले गृहमन्त्रीको राजीनामा असम्भव रहेकाे निचाेड निकालेकाे छ ।
बालुवाटारमा कांग्रेसका शीर्ष नेतृत्वसहित प्रधानमन्त्रीको छलफलले गृहमन्त्रीको राजीनामा नभइ ससदमा बाेल्ने सहमति गरेकाे हाे ।
बालुवाटार बैठकमा संसद् खुलाउनेबारेमा पनि छलफल भएको लेखकले बताए । त्यहाँबाट नै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फोनमा कुराकानी गरेका थिए । संसद् खुलाउनेबारे प्रधानमन्त्रीले दाहालसँग कुराकानी गरेका हुन् ।
गृहमन्त्री लेखकले भने संसद्मा आफ्ना धारणा राख्न समय माग गरेको जानकारी दिए । ‘संसद्मा बोल्नका लागि मैले समय माग गरेको छु । संसद् अगाडि बढ्न दिने, नदिने प्रतिपक्षको कुरा भयो,’ लेखकले भने ।
विपक्षी माओवादी, रास्वपा, एकीकृत समाजवादीलगायतका राजनीतिक दलहरूको बैठक संसद् भवनमा बसिरहेको छ ।
विपक्षीले सदन अवरुद्ध गर्ने नीति लिएपछि प्रधानमन्त्री ओली, सभापति देउवा, गृहमन्त्री लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए ।
प्रमुख सचेतक बर्तौलाले बालुवाटार छलफलमा संसद्को गतिरोध खुलाउने बारेमा छलफल भएको बताए। ‘उठेका विषयमा आजको संसद् बैठकमा गृहमन्त्रीले प्रष्ट पार्नु हुन्छ’, बर्तौलाले भने, ‘नियमावलीअनुसार बैठक अघि बढ्छ।’
मंगलबारको बैठक विपक्षीको अनुरोधमा स्थगित भएको बर्तौलाको भनाइ छ । बर्तौलाले भने, ‘हिजो प्रतिपक्षले बैठक स्थगित गरौं भन्ने आग्रह गरेको हो। आजसम्मको समय मागेको हो, उहाँहरूले मान्नु भएन भने पनि गृहमन्त्रीले सदनमा बोल्नु हुन्छ।’
प्रतिकृया दिनुहोस