राष्ट्रिय सभामा पनि विपक्षीहरुले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा पनि गृहमन्त्रीको राजीनामा माग गरिएको छ ।
आकस्मिक र विषेश समयमा बोल्दै विपक्षी दलका सांसदहरुले गृहमन्त्री रमेश लेखककाे राजीनामा माग गरेका हुन् ।
माअेावादी केन्द्रका सासद झक्कु प्रसाद सुवेदी, गोपीबहादुर सार्की अछामीले भिजिट भिषा प्रकरणबारे निष्पक्ष छानबिनको माग गरे।
सुवेदीले चालक र शौचालय सफा गर्ने कर्मचारीसम्मले पनि अवैध असुलीबाट भाग पाएको दाबी गरे ।
'अख्तियार र प्रहरीहरू आकस्मिक रूपमा चेकिङमा आउनुभन्दा अगाडि नै सहसचिवको सरुवा किन गरियो,' प्रमाण नष्ट गर्नका लागि यस्तो गरिएको उल्लेख गर्दै उनले सरकारलाई प्रश्न गरे ।
गृहमन्त्री रमेश लेखकले रवि लामिछाने प्रकरणमा बाटो खाली गर्न र अनुसन्धानलाई सघाउन भनेको तर अहिले आफूमाथि आरोप लागेको बेला अनुसन्धान गर्न देऊ भनेर दोहोरो चरित्र देखाएको पनि बताए । जनमानसबाट विरोध आएकै भरमा एमाले सासंद शेरबहादुर तामाङले राजीनामा दिएको प्रसंग सुनाउँदै लेखकले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुवेदीको भनाइ थियो ।
‘गृहमन्त्रीले जोगाइदिन काग्रेससँग गुहार मागेका छन् । अब गृहमन्त्रीको बयान कांग्रेसले होइन, सीआईबी, अख्तियार र उच्चस्तरीय छानबिन समितिले लिनेछ,’ सांसद सुवेदीले भने ।
अछामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखसहित केही कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरफ्तार गरेको र यस प्रकरणमा गृहमन्त्रीको पनि संलग्नताबारे विषयहरू आइरहँदा राजीनामा गरेर अनुसन्धानमा सघाउनुपर्ने उनको भनाइ छ । पछिल्ला विकसित घटनाक्रमको विश्वव्यापी रूपमा नकारात्मक सन्देश गइरहेको पनि उनले बताए। दुई तिहाइको सरकार जनताप्रति जिम्मेवार र जबाफदेही हुन नसकेको आरोप पनि सांसद अछामीले लगाए।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यस विषयमा सभाको ध्यानाकर्षण भएको बताए। गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले लगातार दोस्रो दिन पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । राष्ट्रियसभाको बैठक भने सञ्चालन भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सहरी विकास मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
त्यस्तै, आजै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
प्रतिकृया दिनुहोस