कांग्रेसमा चर्कियाे कलहः शेखर पक्षको छुट्टै भेला, गठबन्धन संकटमा !

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक लफडाले एमालेसँगको सत्ता गठबन्धनमा दरार आईरहेका बेला कांग्रेसको संस्थापन इतर पक्षले छुट्टै भेला गरेको छ । संस्थापन इतर पक्षको भेला काठमाडौं विशालनगरमा सुरु भएको छ।
आफ्ना गुटका नेतालाई कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले पार्टीबाट निकालेपछि कोइरालाले आज आफ्नो सम्पर्क कार्यालयमा आफूपक्षीय नेताको भेला बोलाएका हुन्।
भेलामा कोइरालाले आफू पक्षका केन्द्रीय सदस्य, मन्त्री, सांसद र नेताहरूलाई बोलाएका छन्। भेलामा कृषिमन्त्री रामनाथ अधिकारी, खेलकुदमन्त्री तेजुलाल चौधरी, केही सांसद र केन्द्रीय सदस्यहरू पनि गएका छन्।
अहिले भेला जारी छ। आफूपक्षीय नेतालाई छानीछानी संस्थापन पक्षले कारबाही गरेको आरोप कोइराला पक्षले लगाएको छ।
कांग्रेस केन्द्रीय समिति बैठक लगत्तै हिजाे अनुशासन समितिकाे संयाेक आनन्द ढुंगानाले कारबाहीमा पर्नेहरूकाे सूची सार्वजनिक गरेका थिए ।
अनुशासन समितिमा ५० जिल्लाबाट २१ सय उजुरी आएका थिए । उजुरी चुनावमा अन्तर्घात गरेका विषयमा अधिकांश रहेको समितिले जनाएको छ ।
प्राप्त उजुरीमाथि निर्णय लिन ९ देखि १७ असारसम्म अनुशासन समितिको बैठक बसेको थियो । बैठकको निर्णय भन्दै संयोजक ढुंगानाले बुधबार कारबाहीमा परेका नामहरू सार्वजनिक गरेका छन् । कारबाहीमा पर्नेहरूमा प्रदेशका पूर्वमन्त्री, प्रदेश महामन्त्री, जिल्लाका वर्तमान र पूर्व सभापति, महासमिति सदस्य लगायत १८ जना छन् ।
अनुशासन समितिका सदस्य गौतमले अनुशासनको कारबाहीमा आफ्नो समूहको विमति रहेको बताए । ‘सर्वसम्मत निर्णय गरिएको होइन ।
बहुमतका आधारमा निर्णय भएको हो ।
कारबाहीप्रति हाम्रो समर्थन छैन,’ गौतमले भने, ‘एक पटकका लागि सबैलाई सचेत बनाऔं भन्ने हाम्रो प्रस्ताव थियो । कारबाही नगरौं भन्ने पक्षमा हामी थियौं ।’
कारबाहीमा पर्नेहरूमा प्रदेशका पूर्वमन्त्री, प्रदेश महामन्त्री, जिल्लाका वर्तमान र पूर्व सभापति, महासमिति सदस्य लगायत १८ जना छन् ।
गण्डकीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनीका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्ला सभापति विष्णुकुमार राईलाई एक वर्षका लागि निष्काशन गरिएको छ । कास्कीका पूर्व सभापति कृष्ण केसीलाई तीन महिनाका लागि निष्काशन गरिएको छ ।
लुम्बिनीका महामन्त्री खनाल नेता डा. शेखर कोइराला पक्षधर हुन् । खनालको विषयमा पार्टी केन्द्रीय समितिमा नेता कोइराला र केन्द्रीय सदस्य विनोद चौधरी बीचमा जुहारी समेत चलेको थियो । खनाललाई कारबाही गर्न अनुशासन समितिमा उद्योगपति समेत रहेका चौधरीले उजुरी दिएका थिए ।
नवलपरासीमा गत निर्वाचनमा आफूलाई हराउन खनाल लागेको चौधरीको उजुरीमा उल्लेख थियो । कारबाही गर्दा समयावधिमा तीन प्रकृतिको छुट्याएर कारबाही गरिएको छ । एक वर्ष, छ महिना, तीन महिनाका लागि कारबाही गरिएको छ ।
गत निर्वाचनमा कांग्रेस र आफ्नो दलले समर्थन गरेका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कारबाही गरिएको छ। उजुरी उपर स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ प्राप्त नभएको कारण देखाउँदै पार्टीबाट निष्काशन गरिएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) (घ) अनुसार १ (एक) वर्ष र धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ (छ) महिनाको लागि नेपाली कांग्रेसको सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको छ ।’
प्रतिकृया दिनुहोस