• २०८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025

७८ लाख ‘घुस डिल’: एमाले नेता अख्तियार धाउँदै  

काठमाडाैं । ७८ लाख ‘घुस डिल’ प्रकरणमा तानिएका नेकपा एमालेका नेता तथा निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ र स्वर परीक्षण (भ्वाइस टेस्ट)का लागि बोलाएको छ । अख्तियार स्रोतले गुप्तालाई मंगलबार बोलाएको पुष्टि गरेको छ । गुप्ताविरुद्ध अख्तियारमा उजुरी परेको छ । 

छानबिनका क्रममा अख्तियारले गुप्तालाई बोलाएको र मंगलबार उनको अडियो परीक्षण हुने स्रोतले बतायो । ‘अडियोसहित उजुरी दर्ता भएकाले भ्वाइस टेस्ट गर्न उहाँलाई बोलाइएको हो,’ अख्तियार स्रोतले भन्यो, ‘मंगलबार आयोगमा हाजिर हुन पत्र काटिएको छ ।’ 

कास्कीमा भूमि आयोगको अध्यक्ष नियुक्ति र कास्की मालपोत प्रमुखको सरुवा/थमौतीका लागि ७८ लाख घुस डिल अडियो सार्वजनिक भएपछि गुप्ताले यसअघि नै पदबाट राजीनामा दिइसकेका छन् । राजीनामा दिए पनि पदमा बहाल रहँदा गरेको भ्रष्टाचारजन्य कार्य भएकाले उनको छानबिन गर्नुपर्ने माग सार्वजनिक वृत्तदेखि संसद्सम्मै उठेको थियो । 

गत २८ पुसमा भएको घुस डिलको अडियो केही दिनअघि सार्वजनिक भएको थियो । त्यसमा गुप्ताले कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तिका लागि २५ लाख र कास्की मालपोतका प्रमुख थमौती/सरुवाका लागि ५३ लाख गरेर ७८ लाख रुपैयाँको डिल गरेका छन् । यही डिल सार्वजनिक भएपछि आलोचनाका बिच गुप्ताले गत ३१ असारमा पदबाट राजीनामा दिएका थिए । 

गुप्ताको अडियोसहितको उजुरी गत १० असारमै दर्ता भएपछि अख्तियारले अनुसन्धान अधिकृत नै तोकेर काम थालेको छ । अख्तियारका अधिकारीहरूका अनुसार अहिले अडियो प्रकरणबारे प्रारम्भिक रूपमा छानबिन चलिरहेको छ । ‘यही क्रममा स्वर परीक्षणका लागि बोलाइएको हो । भ्वाइस टेस्टपछि यकिन गर्न सकिएला,’ अख्तियारका ती अधिकारी भन्छन्, ‘यसपछि मात्र अनुसन्धानको दिशा स्पष्ट होला ।’ 

घुस प्रकरणसँग सम्बन्धित बिचौलिया सुजन लामासँग भने अख्तियारले सोधपुछ जारी राखेको छ । उनले सोमबार पनि अख्तियारमा बयान गरेका छन् । उनको भ्वाइस परीक्षण भइसकेको छ । 

घुस प्रकरणसँग जोडिएको पोखराको लिचीघारीको जग्गाबारेको विवरण पनि अख्तियारले मगाएको छ । अख्तियारले कास्की मालपोतलाई पत्र काटेर जग्गासम्बन्धी कागजात, जग्गाको अवस्थालगायतका विवरण मागेको छ । अर्कातिर गुप्ताले अडियोमा पोलेका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीबारे भने अख्तियार प्रवेश गरिसकेको छैन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर