• २०८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025

हर्क साम्पाङको गुनासोः मलाई पत्याइएन, अहिलेकै व्यवस्था मान्दा पुरानै दल आउँछन्

काठमाडाैं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले जेन–जी विद्रोहको भावनाअनुसार काम गर्छु भन्दा आफूलाई नपत्याइएको गुनासो गरेका छन्। आइतबार फेसबुक लाइभमार्फत् उनले अहिलेको आन्दोलन एक थान केपी शर्मा ओली नेतृत्वको सत्ता हटाउन मात्रै नभएको बरू प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय पद्धतिमा जानुपर्ने धारणा राखे।

उनी गृहमन्त्रीको आकांक्षी थिए। गृहमन्त्री बन्न उनले लबिइङ तीव्र बनाएका थिए। आइतबार दिनभर उनले प्रयास पनि गरेका हुन्। तर आफूलाई नदिइएको गुनासो गरे।

‘२०७२ को कानुनमा टेकेर नयाँ (नियम, पद्धति) हामी बनाउन सक्छौं त? सक्दैनौं। यो विद्रोह अर्कै चिज बनाउनका लागि हो। त्यही म्यान्डेटअनुसार गर्छु भन्दा मलाई पत्याउनुभएन। अथवा कुनै प्रभुशक्ति... अथवा के पनि हुनसक्छ..!,’ उनले भने।

उनले हर्क साम्पाङसँग काम गर्न अप्ठ्यारो भएकाले पनि नदिइएको हुनसक्ने बताए।

‘कतिले गृहमन्त्री बन्नुपर्छ भन्नुहुन्छ। त्यसमा पनि अप्ठ्यारो छ। जुन खालको क्यारेक्टर म हुँ, भ्रष्टाचार मन पर्दैन। भ्रष्टाचारको भ पनि उच्चारण गरेको मन पर्दैन। बेथितिको ब पनि उच्चारण हुन दिन्न। म बलियो, नियम, निमन मन पराउँछु। म ल एण्ड अर्डर पालना गर्नुपर्छ भन्ने मान्छे हुँ,’ उनले भने।

देशमा फेरि एउटा चुनाव ल्याउनका लागि मात्रै भयानक विद्रोह नभएको र आन्दोलनपछि त्यसको मर्मअनुरूप चल्न नसकेको गुनासो पनि उनको छ।

‘पुरानै संसद ठीक थियो नि त्यो भए, पुरानो संसदलाई किन विघटन गरेको ! पुरानो संसदन विघटन गर्‍यो, नयाँ सांसदहरू चुन्ने, यति मात्रै थिएन के आन्दोलन! चिज चाहिँ अर्कै बनाउनुपर्ने थियो। कार्यकारी प्रमुखसहितको बनाउनुपर्ने थियो,’ उनले भने।

विद्रोह नै म्यान्डेट भएकाले कुन कानुनका दफाले दिँदैन भनेर हेर्न नहुने उनको तर्क थियो। विद्रोहको जगमा नयाँ नियम खडा गरेर त्यही अनुरूप अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

‘त्यसका लागि कुनचाहिँ धाराले दिएन भन्ने होइन, अहिलेका लागि एउटा नियम लेखेर अगाडि बढ्नुपर्छ। नियमावली पारित गरेर त्यसैमा टेकेर अगाडि जानुपर्छ,’ उनले भने, ‘त्यो आमूल परिवर्तनको आश थियो। त्यसको आशा गरेको छ, सम्पूर्ण युवाले, नेपालीले। जनताहरूले पनि। प्रत्यक्ष रूपमा चुनिने कार्यकारी प्रमुख भइसकेपछि चाहिँ उसले पाँच वर्षसम्म यो देशलाई सञ्चालन गर्न पाउँछ। स्थायित्व हुन्छ। स्थायी सरकार हुन्छ। मलाई लाग्छ, फागुनमा चुनाव हुँदैन। भइ नै हाल्यो भने फागुनमा तिनै पुराना दलहरू आउँछन्। उनीहरूले टालाटुली बटुली गरेर एक जना मानिसलाई पुर्‍याउँछ। उसले सम्झौतामा सरकार चलाउँछ। चित्त बुझ्दैन कुनचाहिँलाई अनि समर्थन फिर्ता लिन्छ। फेरि सरकार लड्छ। अर्को बन्छ। त्यसो हुँदैहुँदै समस्या ज्युँका त्युँ हुन्छ। त्यसो गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी, राष्ट्रपतिले चलाउन पाउनुपर्छ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भन्दा पनि राष्ट्रपतिको चुनाव गर्ने गरी जानुपर्छ। त्यो जानुपर्ने अहिलेको आवश्यकता हो,’ उनले भने।

यो आन्दोलनमा खेल्ने, यसमा निहित स्वार्थ राख्नेहरू पनि हुनसक्ने आफूलाई लागेको मेयर साम्पाङले बताए। 

‘त्यस्तोमा मजस्तो नमिल्ने, अप्ठ्यारो खालको मान्छेलाई.. कुरा त उठाइरहन्छन् तर हामीजस्ता मान्छेलाई समावेश गर्दैनन् पनि। किन भने हामीले त्यो कुरा उठाउँछौं। त्यो काम गर्नुपर्छ भन्नेतर्फ लाग्छौं। विदेशीको कठपुतली पनि होइनौं हामी। विदेशीको चलखेल हुने, विदेशीको रणमैदान बनाउने, उसको खेल्ने, खाने ठाउँ पनि हाम्रो देश बन्नुहुँदैन भन्ने कुरामा मेरो बटम लाइन हो। क्याबिनेटमामा जानुपर्छ भन्नेहरू, थुप्रै कुराहरू सुनाइरहेका छन्। क्याबिनेटमा जाँदाखेरी पनि त.. कहीँ कतै जानुपर्ने भन्ने कुराहरू पनि.. यो तरिकाले सम्भव हुँदैन। नेपालीले आफ्नो नेपालमाथिको निर्णयको अधिकार, आफ्नो सार्वभौमसत्ताको अधिकार गुमाउनुहुँदैन। कुनै पनि हालतमा। त्यो कायम राख्दै अगाडि जानुपर्छ,’ उनले भने।

उनले अब नयाँ दल खुल्ने सम्भावना व्यक्त गरे। ती दललाई जनादेश दिइनुपर्ने उनको धारणा छ।

‘ती दललाई जनताले पनि म्यान्डेट दिनुपर्छ। म पनि खोल्छु  एउटा दल। त्यो दलमा सबै आबद्ध बन्नुहोला पनि भन्न चाहन्छु,’ उनले भने।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर