• २०८२ असोज ११ शनिबार
  • Saturday, 27 September, 2025

एकातिर नेताहरुको पासपोर्ट रोक्काको हल्ला, अर्कातिर जंगी अड्डा सक्रिय

  • पूर्वप्रधानसेनापतिहरूसँग छलफल, पृतनापतिहरूसँग समीक्षा

काठमाडौं : प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो परिस्थितिबारे पूर्वप्रधानसेनापतिहरूसँग छलफल गरेका छन्। पछिल्लो समय देखिएको घटनाक्रम र समसामयिक परिस्थितिको सम्बन्धमा ५ पूर्वप्रधानसेनापतिहरूसँग प्रधानसेनापति सिग्देलले छलफल गरेका हुन्।

नेपाली सेनाको हेडक्वार्टरमा सेनाले पाँच जना पूर्वप्रधानसेनापतिहरू प्रज्वलशमशेर राणा, प्यारजङ्ग थापा, गौरवशमशेर राणा, पूर्णचन्द्र थापा र प्रभूराम शर्मासँग असोजको पहिलो हप्ता छलफल गरेको सेनाका प्रवक्ता एवं सहायका रथी राजाराम बस्‍नेतले जानकारी दिए । जङ्गी अड्डामा भएको छलफलमा अहिलेको परिस्थितिको विश्लेषण गर्दै यस्तो अवस्थामा नेपाली सेनाको भूमिकाका बारेमा सिग्देलले पूर्वप्रमुखहरूसँग राय लिएको उनको भनाई छ ।

यसअघि तत्कालीन केपी ओली नेतृत्वको सरकारले गरेको सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले भदौ २३ र २४ गते गरेको प्रदर्शनमा जनधनको क्षति भएपछि नेपाली सेनाले सुरक्षा कमाण्ड हातमा लिएको थियो । नेपाली सेनाकै समन्वयमा सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।

यसैगरी बिहीबार नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरू पनि जंगी अड्डामा जुटेका छन्। पृतनापतिहरूसँग पनि भर्चुअल रुपमा पृतनापति समन्वयात्मक बैठक सञ्चालन भएको छ ।

उक्त बैठकमा विभागीय प्रमुख लगायत पृतनापतिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर