आजदेखि छठ पर्व सुरू, मिथिलासहित देशभर तयारी तिब्र
काठमाडाैं। कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरू हुँद गरेको छठ पर्व सुरु भएकाे छ । छठका अवसरमा काठमाडाैंसहित ठूला सहर र मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ।
चार दिनसम्म मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन्।
आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन्।
सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ।
पर्वको तयारीका लागि स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन्।
विशेषगरी युवा छठघाट निर्माण तथा सजावटमा सक्रिय देखिएका छन्।
बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरेर सजाउने काम पनि भइरहेको छ।
सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन्।
धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन्।
छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण बाँसका सामग्री र माटाका भाँडाको माग बढेको हो।
घरघरमा छठको प्रसाद तयार गर्ने चटारो पनि बढेको छ । ठकुवा र भुसुवासहितका प्रसाद बनाउन गृहिणी व्यस्त छन्।
चामल र गहुँको पिठो घरमै ढिकी र जाँतोमा कुट्ने तथा पिँध्ने परम्परा अझै कायम छ।
शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यस पर्वमा परिवारका सदस्यको सहयोगमा प्रसाद तयार गरिन्छ।
सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वले मङ्गल र कल्याण गर्ने जनविश्वास रहिआएको छ।







प्रतिकृया दिनुहोस