एनपीएलः सुदूरपश्चिम तेस्रो पटक फाइनलमा, लुम्बिनीसँग हुने भयो उपाधि भिडन्त
काठमाडौं । दीपेन्द्रसिंह ऐरी नेतृत्वकाे सुदूरपश्चिम राेयल्स लगातार तेस्राे पटक एनपीएलकाे फाइनलमा पुग्न सफल भएकाे छ । थारिन्दु रथ्नायकेले संयमित ब्याटिङ गरेपछि सुदूरपश्चिम रोयल्स शुक्रबार चितवन राइनोजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको हाे । सुदूरपश्चिमले क्वालिफायर २ मा चितवनलाई ३ विकेटले पराजित गर्यो ।
रथ्नायकेले अविजित ५३ रन बनाएपछि सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ सय ३४ रनको लक्ष्य १९.५ ओभरमा १ सय ३६ रन बनाउँदै पूरा गरेको थियो । अन्तिम दुई बलमा विजयका लागि २ रन आवश्यक भएको समयमा रत्नायकेले विजयी चौका प्रहार गरेका थिए ।
सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनल प्रवेश गरेको हो । टोलीले शनिबार हुने उपाधि भिडन्तमा लुम्बिनी लायन्सको सामना गर्नेछ । लुम्बिनीले मंगलबार भएको क्वालिफायर १ मा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा रहेको छ । टोली पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनीसँग फाइनलमा पराजित भएको थियो ।
जर्ज मुन्सेले सुदूरपश्चिमलाई पुनः निराश बनाए । उनी ८ रन बनाई रिजन ढकालको बलमा आउट भए । प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अग्रस्थानमा रहेका रिजनको यो १७औं विकेट हो । अर्का ओपनर विनोद भण्डारीले १३ बल खेली १ चौका र २ छक्कासहित २३ रन बनाए ।
आश्चर्यजनक रूपमा तेस्रो नम्बरमा पठाइएका स्कट कुगेलेइन २ रनमै आउट भए । ईशान पाण्डे १०, कप्तान दीपेन्द्रसिंह ऐरी १५ र आरिफ शेख १० रनमा आउट भए । फाबियन एलेन ५ रनमा रनआउट भए । चितवनबाट रञ्जित कुमारले ३ ओभरमा २५ रन खर्चेर २ तथा रिजन, कमलसिंह ऐरी, उसामा मिर र सलाहुद्दिन खानले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३३ रन बनाएको थियो । चितवनले निकै खराब सुरुआत गरेको थियो । अघिल्लो दिन काठमान्डु गोर्खाजविरुद्ध १ सय २० रन प्रहार गर्दै एनपीएलकै उच्च स्कोर बनाएका कामिल मिशारा ४ रनमै आउट भए । स्कट कुगेलेइनको बलमा उनको ब्याटको किनारामा लागेर गएको बल विकेटकिपर विनोद भण्डारीले क्याच गरेका थिए ।
अर्का ओपनर देव खनालले पनि ६ रनमात्र बनाउन सके । डेविड मलानले ५१ बलमा ७१ रन बनाउँदै प्रतियोगितामा दोस्रो अर्धशतक बनाए । उनले आफ्नो इनिङ्समा कुल ९ चौका र २ छक्का प्रहार गरे । रिजन इनिङ्सको अन्तिम बलमा ३ रनमा रनआउट भए ।
तर कप्तान रवि बोपारा १ रनमै आउट भए । विवेक यादव ३, कुशल मल्ल १ र उसामा मिर २ रनमै आउट भए । सलाहुद्दिनले १६ बलमा १८ रन बनाउने क्रममा १ छक्का प्रहार गरे । कमलले ७ बल खेली १० रन बनाए । कुगेलेइनले ४ ओभरमा २७ रन खर्चेर ३ र रत्नायकेले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा १ मेडन राख्दै २०, ईशानले ३ ओभरमा १७ र हेमन्त धामीले ४ ओभरमा ३२ रन खर्चेर १–१ विकेट लिए ।



(1)2026-11-19-05-04-40.jpeg)



प्रतिकृया दिनुहोस