भरतपुरलाई उज्यालो सहरको मोडलको रूपमा विकास गर्न जरुरी : मन्त्री पुन
चितवन । सिँचाइ, जलस्रोत तथा उर्जामन्त्री वर्षमान पुनले भरतपुरलाई उज्यालो सहरको मोडलको रूपमा विकास गर्न जरुरी भएको बताएका छन् । बुधबार चितवनको भरतपुर महानगरपालिकाले गरेको कार्यक्रममा बाेल्दै उनले भरतपुरलाई नयाँ मोडलको सहर बनाउनका लागि मन्त्रालयले चितवनमा पुनविद्युतीकरण गर्नका लागि २८ करोड रुपैयाँ छुट्ट्याइएको बताए ।
‘भरतपुरलाई उज्यालो सहर बनाउनका लागि स्मार्ट स्ट्रिटलाइटको लागि बजेट छुट्याइएको छ,’ उनले भने, ‘भरतपुरलाई उज्यालो सहरको मोडलको रूपमा विकास गर्न जरुरी छ ।’ चितवनमा विद्युत् वितरण केन्द्र विस्तार गरी मोडल जिल्लाको रूपमा विकास गर्न जरुरी रहेको उनले बताए ।
त्यस्तै, मन्त्री पुनले देशभर अतिक्रमण भएकाे जमिनको खोजी गरेर राज्यले फिर्ता ल्याउने तयारी रहेको बताए । ‘धेरै ठाउँमा जमिन अतिक्रमण भएको छ, सरकारले त्याे फिर्ता ल्याइनेछ,’ उनले भने ।
प्रधानमन्त्रीको पानी जहाजको सपना पूरा गर्न नारायणी नदीमा जहाज आउन सक्ने सम्भावना रहेकाले महानगरले सोहीअनुसार योजना निर्माण गर्न सुझाव दिएका छन् । साथै मन्त्री पुनले भरतपुरको विकासका लागि पूर्ण सहयोग गर्नै प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस