• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

कीर्तिमानी इतिहास रच्ने संगीता : ‘जन्मनेबित्तिकै बाबुले छोडे, दूध बेचेर आमाले हुर्काइन्’

‘१० धुर जमिन छ, बस्ने घर छैन’

कञ्चनपुर । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) तर्फ नेपालले ऐतिहासिक कीर्तिमान राख्यो । सीता जन्मभूमि जनकपुरमा भइरहेको साग प्रतियोगितातर्फ कुस्तीमा कञ्चनपुर भीमदत्त नगरपालिका–३ नौलाखेत शान्तिटोलकी संगीता धामीले स्वर्णपदक प्राप्त गरिन् । 

५५ किलो तौल समूहमा संगीताले कुस्तीतर्फ इतिहास नै रचिन् । १९ वर्षीया संगीताले फाइनलमा बंगलादेशकी सर्केर रिमलाई हराउँदै स्वर्ण जितिन् । अभावै अभावमा जीवन व्यतीत गरिरहेकी संगीताका चार बहिनी छन् । संगीताकी आमा धनादेवी धामीका चार सन्तानमध्ये उनी साइँली हुन् । संगीता जन्मिँदै उनका बाबुले छोरी जन्मिएको भन्दै अर्को विवाह गरेपछि संगीताको परिवार झन बिचल्लीमा परेको थियो । १० धुर जमिन रहे पनि रकम नहुँदा उनको परिवारले घर बनाउन सकेको छैन् । अहिले पनि उनको परिवार अर्काको घरमा बसिरहेकाे छ। 

उनका ठूलाबाबु कल्यानसिंह धामीले आफ्नो घरमा बसालेका छन् । नेपाल प्रहरीमा कार्यरत बाबु नन्दसिंह धामीले अर्को विवाह गरेपछि उतैतिरकी श्रीमती र छोराछोरीको रेखदेख गरेपछि संगीताको परिवार झन् पीडै पीडामा गुज्रिएको छ । 

 संगिताकी आमा धनादेवी धामी

संगीताकी आमा धनादेवीले चारै छोरीलाई दुखसुख गरेर पढाएको बताईन् । ‘श्रीमानले अर्को विवाह गरेर हामीलाई छोडिदियो, उनले दुखेसो पोख्दै भनिन, ‘अभावै अभावको जिन्दगी बिताईरहेकी छु ।’ अहिले छोरीले ल्याएको स्वर्णले हामीलाई दुःखबाट मुक्ति दिलाएको भन्दै उनले खुसी व्यक्त गरिन् । छिमेकीसंग ऋण काटेर धनादेवीले दुई भैंसी पालेका छन् । दुवै भैंसीको दुध बेचेर घरखर्च र छोरीहरुको पढाईखर्च चलाईरहेको उनले बताईन् । ‘दुध बेचेर कहिले मजदुरी गरेर छोरीहरुको पढाई खर्च जोहो गरेकी छु,’ धनादेवीले भनिन, ‘एउटी महिलालाई चार छोरी सहित श्रीमानले छाडेपछि कस्तो होला तपाईं आफैं बुझ्नुहोस ।’ दुई छोरीको विवाहपछि धनादेवीको काँधमा अझै दुई छोरी थिए । 

दार्चुला औतालेख घर भएका धामी परिवार केही बर्षअघि मात्रै तराई झरेपछि उनलाई श्रीमानले समेत छाडेपछि उनको परिवार झन विचल्लीमा परेका थियो । धनादेवीले एउटी असल आमाको भूमिका निर्वाह गर्दा आज सिङ्गो राष्ट्रको शिर ठाडो पारिदिएको छ । आफ्नै सन्तानलाई बाबुले छाडेपनि आमाले जुन स्नेह, प्रेम र संघर्ष गरेर हुर्काए, त्यसको फल त्यो साग प्रतियोगिताको उपलब्धी भएको देखिन्छ । भनिन्छ, एउटा बाबु खराब भएपनि असल आमा हुँदा घरका सन्तान सही मार्गमा हिँड्छन्, भनेको भनाई पनि यो संगिताको आमाको संघर्षले हुन्छ ।

‘श्रीमानले म र मेरा सन्तानलाई छाडेर गएपनि उनीहरुको लालनपालनको जिम्मा मेरै टाउकोमा आयो,’ उनले भनिन, ‘छोरीकै मेहनत र गुरुहरुको असल प्रशिक्षणले छोरीले सफलता प्राप्त गरिन् ।’ बिहान कलेज गएर दिनमा गेम खेल्न जाने गरेको बताउदै धनाले छोरीको निरन्तर मेहनत भएको बताईन् । 
बाबु सरकारी जागिरे भएपनि अभावै अभावको जिन्दगी बिताईरहेकी संगिताले बाबुको उपेक्षा र आमाको स्नेहका कारण आज यस ठाँउसम्म आईपुगेको बताएकी छिन् । संगिताले स्वर्ग पदक ल्याएपछि उनको घरपरिवार छरछिमेक हर्षित भएका छन् । गरिबकी छोरीले राष्ट्रलाई चिनाएको भन्दै स्थानीयले संगितालाई बधाई दिईरहेका छन् ।

महेन्द्रनगरको सामुदायिक विद्यालय भुकुटी माध्यामिक विद्यालयमाबाट एसईई उर्तिण गरेकी संगिता अहिले महेन्द्रनगरको सनराईज विद्यालयमा स्नातक तहमा अध्ययनरत छिन् । धना असल आमा भन्दै उनलाई अहिले समाजले बधाई दिईरहेका छन् । संगिताको गाउँघरमा खुसियाली छाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर