• २०८१ बैशाख २३ आइतबार
  • Sunday, 5 May, 2024

दुई दिन गुप्तबास बसेर प्रचण्डले तयार पारे स्थायी समिति बैठकका लागि १७ पृष्ठको प्रतिवेदन

तीनमहिने कार्यक्रम, माघ पहिलो साता केन्द्रीय समिति बैठक

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार र शुक्रबार सार्वजनिक कार्यक्रममा निस्किएनन् । उनी दिनभर खुमल्टारस्थित निवासमा पनि थिएनन् । पार्टी कार्यकर्ता तथा अन्य भेट गर्नेहरूको घुइँचो छल्न प्रचण्ड २ दिन खुमलटार आसपासकै अर्को एउटा घरमा गुप्तबास बसे । बिहान–बेलुका घर आएको तर दिनभर प्रचण्ड प्रतिवेदन लेखनमा व्यस्त भएको उनको सचिवालयले समाचार दैनिकलाई जानकारी दियो । शनिबार साँझ प्रचण्ड आफूले तयार पारेको १७ पृष्ठ लामो हस्तलिखित प्रतिवेदन बोकेर अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गर्न बालुवाटार पुगे ।

प्रचण्डले तयार पारेको सोही प्रतिवेदन आइतबार बिहान ९ बजे बस्ने नेकपाको सचिवालयमा छलफल गरेर दिनको ३ बजे बस्ने स्थायी समितिमा पेस हुनेछ । 

प्रचण्डले प्रतिवेदनमा पार्टीलाई अघि बढाउने कार्ययोजना, तीनमहिने कार्यक्रम, निर्वाचनको समीक्षा र पार्टी एकताका विषय समेटेका छन् । नेकपा स्रोत समाचार दैनिकसँग कुरा गर्दै भन्छ, `अध्यक्षको प्रतिवेदनमा राष्ट्रिय/अन्तर्राष्ट्रिय अवस्थाको विश्लेषणदेखि पार्टीलाई गतिशील बनाउने, संगठन विभागलाई सक्रिय बनाएर पार्टी सदस्यता वितरण गर्दा परीक्षा प्रणाली अपनाउनेलगायतका विषय समेटिएका छन् । 

आगामी तीन महिनाभित्र पार्टीका कार्यक्रम सातै प्रदेशमा गर्ने, एकता हुन बाँकी सबै निकायमा एकताको काम सक्ने, सरकार तथा संसदमा नेकपाको भूमिकाको समीक्षाजस्ता विषय पनि अध्यक्ष प्रचण्डको प्रतिवेदनमा समेटिएका छन् । अध्यक्ष प्रचण्डले सकेसम्म छिटो पार्टी पोलिटब्युरो गठन गर्नेदेखि आगामी माघको पहिलो साता पार्टी केन्द्रीय समितिको बैठक बोलाउने लगायतका विषयलाई अघि सारेका छन् । 

पार्टीको कार्यकारी भूमिकामा अध्यक्ष प्रचण्ड आएपछि उनले पार्टीका संगठनात्मक गतिविधि बढाएका छन् । नेकपा स्राेत भन्छ, `अध्यक्षको प्रतिवेदन सचिवालय तथा स्थायी समितिबाट पारित भएपछि नेकपामा नयाँ तरंग सृजना हुनेछ ।´

प्रचण्ड यसअघि पनि कुनै महत्त्वपूर्ण निर्णय लिनुभन्दा अघि प्रायः यसैगरी गुप्तवास बस्ने गर्दछन् । भेटघाट र पार्टीका अरू कामको प्रेसरभन्दा बाहिर रहेर केही समय सोचेर मात्र महत्त्वपूर्ण निर्णयमा पुग्ने उनको पुरानो शैली हो । उनी कहिले सिन्धुपाल्चोकको सुकुटे, लप्सेफेदी त कहिले ललितपुरको थेचो पुगेर आफूलाइ रिफ्रेश बनाएर निर्णयमा पुग्ने गर्दछन् ।

नेकपा सचिवाल बैठक शुक्रबारलाई तय भएको थियो । आन्तरिक तयारी नपुगेको कारण शनिबार पनि बैठक बस्न सकेन । आइतबार बिहान ९ बजे सचिवालय बैठक बस्दै छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर